नेपालमा धार्मिक पर्यटनको सम्भावना

नेपालमा धार्मिक पर्यटनको सम्भावना

कृष्णहरि बास्कोटा

आगामी सन् २०२० लाई भव्य रूपमा नेपाल भ्रमण वर्षका रूपमा मनाउने तयारी भइरहेको छ । प्रस्तुत सन्दर्भमा नेपालको ‘सबल पक्ष’ भनेको धार्मिक पर्यटनमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्नु नै हो । विशेष गरी नेपाल हिन्दू धर्मावलम्बी र बौद्ध धर्मालम्बीहरूको आकर्षण एवं आस्थाको केन्द्रका रूपमा विश्वमै सुपरिचित छ । नेपाल ऋषिहरूको तपोभूमिका रूपमा पवित्र र स्वच्छ मानिन्छ । यो मुलुक पूर्वीय सभ्यता र संस्कृतिको जननी पनि हो । सनातन धर्म र हजारौं वर्षको इतिहास बोकेको यस मुलुकका धार्मिक सहिष्णुता अनुकरणीय रहेको छ । जसअनुसार हिन्दू, बौद्ध, मुस्लिम, क्रिस्चियनलगायतका सबै धर्ममा आस्था राख्नेले आआफ्नो रीतिरिवाज निर्बाध ढंगले गर्न पाएका छन् । सयौं वर्षअघि कर्कपेट्रिक नेपाल भ्रमणमा आउँदा यहाँ जति घर छन्, त्यति मन्दिर छन् र जति मानिस छन्, त्यति संख्यामा देवीदेवता छन् भनी टिप्पणी गरेबाटै यो मुलुक धार्मिक पर्यटनका लागि उर्वर भएको स्वतः सिद्ध हुन्छ ।

ऐतिहासिक तथ्य, तथ्यांकले नेपाल एउटा प्राचीन मुलुक भएको प्रमाणित हुन्छ । यसर्थ, नेपालको विश्व इतिहासमा छुट्टै पहिचान र विशिष्ट स्थान रही आएको छ । नेपालको राष्ट्रियता, अखण्डता, स्वाभिमान, सार्वभौमसत्ता, पहिचान, आपसी भाइचारा, धार्मिक सहिष्णुता र राष्ट्रप्रेमलाई सनातन बुद्ध धर्म र संस्कृतिले बलियोसँग एकताको सूत्रमा बाँधेको छ । जसका कारण नेपाल धार्मिक पर्यटनका दृष्टिकोणले विश्वमा सगरमाथा जत्तिकै उच्च र भगवान गौतम बुद्धझैं शान्त र स्थिर अवस्थामा छ । समयको परिवर्तनसँगै कैयौं कुरामा फेरबदल पनि आएको छ । हिन्दूको आस्थाको एक मात्र केन्द्रबिन्दु पशुपति र बौद्धहरूको आँखाको नानीको रूपमा रहेको लुम्बिनीका अतिरिक्त अन्य कैयौं धार्मिक स्थलहरू हाल चर्चाको शिखरमा छन् । भारतको रामेश्वर, बद्री, द्वारका र जगन्नाथलाई चारधाम मानिन्छ । तर, यीभन्दा उत्कृष्ट धामहरूको नेपालमा कुनै कमी छैन । साबिकमा भारतको उज्जैन, नासिक, प्रयाग र हरिद्वारमा लाग्ने गरेको कुम्भ मेला हाल नेपालको चतराधाममा पनि उत्तिकै धुमधामसँग लाग्ने गरेको छ । एकपटकको मेला भर्न करिब डेढ करोड मानिस पुग्ने गरेका छन् । कैयौं नेपाली भारतको केदारनाथ दर्शन गर्न पुग्छन् तर त्यसको शिर भाग भक्तपुरमा रहेको डोलेश्वर महादेव हो भन्ने जानकारी क्रमशः बढ्दै गएको छ । यस्ता सूचनालाई व्यापक रूपमा प्रचारप्रसार गरी भारतलगायतका धार्मिक पर्यटकको संख्या बृद्धि गर्न आवश्यक पूर्वाधार र रणनीति तर्जुमा गर्नु समयको माग हो ।

पूर्वमा रहेका पाथीभरा, बराह क्षेत्र र चतराधामलगायतको कार्ययोजना बनाई धार्मिक पर्यटकको सुविधाका लागि प्याकेज घोषणा गर्न ढिला गर्नु हुँदैन । यसैगरी, छिन्नमस्ता, बाराको गढीमाई र जानकीधामको भ्रमण गर्ने सुवर्ण अवसर आम नेपाली र विदेशीलाई प्रदान गर्न हामी अग्रसर हुनैपर्छ । काठमाडौं उपत्यकाभित्र पशुपति, गुहेश्वरी, चाँगुनारायणलगायतका चार नारायण, बगलामुखीलगायतका शक्तिपीठहरूको भ्रमण केबल धार्मिक दृष्टिकोणले मात्रै होइन, शैक्षिक भ्रमणका दृष्टिकोणले पनि उत्कृष्ट रहने पक्का छ । काठमाडौंमा मुस्लिम धर्मावलम्बीको ठूलो मस्जिद छ । गुरु नानकको मन्दिर छ । यसैगरी, बौद्ध, स्वयम्भूलगायतका अनगिन्ती गुम्बा रहेका छन् । क्रिस्चियन धर्मावलम्बीहरूको पनि चर्च रहेका छन् । यसैगरी, खोटांगको हलेसी महादेव र दोलखाको भीमसेन नेपालभित्र मात्रै होइन, भारतलगायतमा पनि प्रख्यात छ । यी स्थानमा पर्यटक प्रवद्र्धन गर्न विशेष केन्द्रहरू खडा गर्न जरुरी छ । गोरखाको मनकामना र गोरखनाथको भ्रमण तथा लिगलिगकोट दरबार/डाँडालगायतको मनोरम दृष्टिले जो कोहीले ‘चित्त’ खुसी पार्ने कुरामा ‘पूर्ण ग्यारेन्टी’ गर्न सकिन्छ ।

नेपालको मध्यभागतिर गोसाइकुण्ड, देवीघाट, देउघाट र त्रिवेणीको संगममा एकैपटक पुग्न पाउनु जीवनकै सौभाग्य हुनेछ । त्रिशूली, कालीगण्डकीलगायतका विशाल नदीहरूको संगमले बनेको नारायणी नदीमा जलयातायातको सम्भावना धेरै पहिलेदेखि पहिचान हुँदै आएको छ । यसै सन्दर्भमा प्यूठानको स्वर्गद्वारी र मुस्ताङको मुक्तिनाथ पुग्दा जोकोहीले ‘स्वर्ग’ मै पुगेको अनुभूति गर्नेछन् । प्युठानको भ्रमणमा कैयौं खलंगाहरू देख्न सकिन्छ भने मुक्तिनाथ पुग्दा लोमाङथाङ पुगेर एउटा छुट्टै र विशेष इतिहास बोकेको उच्च हिमाली सहरको मनमोहक दृश्य आफ्नो हृदयमा कैद गर्न सकिनेछ । गुल्मीको रिडी र रेसुंगाको भ्रमण र दर्शनले मानिसको मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । जीवनमा एकपटक दामोदर कुण्डमा डुबुल्की मार्ने कसको रहर नहोला । यसैगरी, रारामा पुगेर ‘बोटिङ्ग’ गर्दाको मज्जा कल्पना गर्दा पनि मन विभोर पाइन्छ । साथै, सेफोक्सुन्डो र कुभिन्डे ताल देख्दा मानिसले बल्ल नेपालको सौन्दर्य गाथा गाउन थाल्छ । यी क्षेत्र जति पर्यटकीय दृष्टिकोणले महŒवपूर्ण छन्, सोही हिसाबले धार्मिक रूपमा पनि अति महŒवपूर्ण छ भन्ने कुरा हेक्का गर्नैपर्छ ।

पाल्पाको भैरवनाथ र ऋषिकेश धार्मिक पवित्रस्थल हुन् । यी स्थानमा रहेका देवताहरू साक्षात छन् । यसै बखत पाल्पाको रानी महल पुग्ने र रामपुरको फाँट हेर्ने हो भने मानिसले अर्को कुनै मुलुकको भ्रमणमा जानै नपर्ने सम्म सोच्न सक्छ । यसैगरी, पोखरा पर्यटकीय दृष्टिकोणले अति प्रख्यात स्थान हो । साथै, तहाँ रहेको ताल बाराहीलगायतका धार्मिक पर्यटकीय स्थलको भ्रमणले मानिसमा सुख र शान्तिको सन्देश दिने कुरामा ढुक्क हुन सकिन्छ । नेपालमा रहेका मालिकार्जुन, सुर्खेतको काँक्रेविहार र अछामको वैद्यनाथको चर्चा मात्रै गर्दा पनि पुण्य प्राप्ति हुने विश्वास गरिन्छ । शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, क्रीडास्थल कपिलवस्तु, देवदह, रामग्राम र तिलौराकोटको भ्रमणले आममानिसको चेतनाकोस्तर माथि उठ्ने विश्वास गरिन्छ । यस्ता पवित्रस्थलहरूको एकीकृत विकास गर्न र अन्तर्राष्ट्रिय शान्ति सहर स्थापना गर्न कुनै कसर बाँकी राख्नुहुँदैन । यस क्रममा भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई जति सक्दो छिटो सञ्चालनमा ल्याउनुपर्छ ।

तराई–मधेसमा धार्मिक पर्यटकीय स्थललाई नियाल्दा विराट क्षेत्र, विदेह क्षेत्र, सहलेस क्षेत्र, सिम्रौन क्षेत्र, लुम्बिनी क्षेत्र तथा कर्णाली–चिसापानी क्षेत्र अत्याधिक महŒवपूर्ण छन् । यिनको धार्मिक र पर्यटकीय क्षेत्रको विकासका लागि उत्खनन गर्ने, प्राचीन वस्तुको संरक्षण गर्ने, संग्रहालय निर्माण गर्ने, प्राचीनता झल्किने गरी आधुनिक मन्दिर निर्माण गर्ने, पर्यटकका लागि सुविधा सम्पन्न होटल निर्माण गर्ने काममा सरकार र निजी क्षेत्रको साझेदारी आवश्यक छ । नेपालमा रहेको खप्तड, मनास्लु र रुरु रेसुंगा क्षेत्र पनि पर्यटकीय दृष्टिकोणले अति महŒवपूर्ण छ । यस्तै लाङटाङ गौरीशंकर, पर्साको जीराभवानी, खोटाङको बराहपोखरीलगायतका पवित्र भूमिको पर्यटकीय प्रवद्र्धनमा गुरुयोजना निर्माण हुनुपर्छ । नेपाल हिमालको काखमा रहेको पवित्र भूमि त हुँदै हो । त्यसमा पनि वेद, रामायण, महाभारतमा वर्णित थुप्रै पवित्र धार्मिक स्थानहरू भएको ‘धार्मिक रूपमा धनी’ मुलुक पनि हो । यस मुलुकलाई बौद्धिक र आध्यात्मिक चिन्तनको थलोका रूपमा विकास गर्नुपर्छ । यस्का लागि जडिबुटीको उत्पादन, औषधि उद्योग, ध्यान र योगको पूर्वाधार स्थलको रूपमा विकास गर्न आन्तरिक र बाह्य लगानी भिœयाउनुपर्छ ।

धार्मिक पर्यटन विकासका दृष्टिकोणले नेपाल बुझ्नेका लागि श्रीखण्ड र नबुझ्नेका लागि खुर्पाको बिँडसरहको भूमि हो भन्दा सायदै गल्ती होला । नेपालमा जगत् गुरु हुनुहुन्छ ।

नेपालमा शंकराचार्यहरूको पनि कमी छैन । यसैगरी वाचन शिरोमणि, विद्वान् र विदुषीको पनि कमी छैन । कमी छ भने उहाँहरूको उपयोग समुचित ढंगले हुन सकिरहेको छैन । आमनेपाली, जो केही हदमा आन्तरिक र बाह्य पर्यटनका लागि खर्च गर्न सक्षम छन्, उनीहरूलाई ‘नजिकका तीर्थ हेला’ को व्यवहार नगर्न सन्देश प्रवाह गर्दै नेपालका धार्मिक स्थलमा उनीहरूलाई आमन्त्रण गर्नुपर्छ । नेपाल हिमालयको शिर भागमा छ । भारतका प्रायः सबै नदीको उद्गमस्थल नेपाल नै हो । यसैगरी, मुस्लिम धर्मावलम्बीको जेरुसेलम वा मक्का मदिनाझैं हिन्दूहरूको पवित्र थलो नेपाल हो । साथै, क्रिस्चियन धर्मावलम्बीको पवित्र भूमि भ्याटिकन सिटी भएझैं विश्वका बौद्ध धर्मावलम्बीको पवित्र भूमि नेपालको लुम्बिनी हो । धेरैलाई थाहा नहुन सक्छ, गायत्री मन्त्रको आविष्कार पनि नेपालमा नै भएको हो ।

नेपालका गलेश्वर महादेव, उग्रतारा, दक्षिणकाली, बौद्धनाथ र पलाञ्चोक भगवती यस्ता पवित्र स्थल हुन्, जसको वर्णन सामान्य भाषामा गर्न सकिन्न । काठमाडौंका महांकाल, संकटा, नरदेवी, इन्द्रायणी, बगलामुखी, कृष्ण मन्दिर र भैरवले सधंै यस ठाउँलाई सुरक्षित र पवित्र तुल्याई राखेको विश्वास गरिन्छ । काठमाडौंभित्र रहेका काठमाडौं, ललितपुर र भक्तपुर दरबार स्क्वायरभित्र पनि महŒवपूर्ण तीर्थस्थल रहेका छन् । यिनको समेत समुचित प्रचारप्रसार गर्न सकिएको छैन । बूढानीलकण्ठ, ज्वालादेवी, विन्दवासिनी र मौलाकालीजस्ता पवित्र तीर्थस्थलमा प्रत्येक दिन, प्रत्येक बार र प्रत्येक महिना एउटा एउटा मेला लाग्ने वा विशेष पूजा हुने व्यवस्था गर्नुपर्छ । साथै, पवित्र नदीका किनारामा साँझको भव्य आरती हुनुपर्छ । हाल पशुपतिमा, जानकी धाममा, नारायणी नदीको किनारामा यस्तो रात्रिको आरती आरम्भ भएको छ । यसको विस्तार गरिनुपर्छ ।

जगतगुरु बालसन्तले चतराधामको कुम्भ मेला भर्न आउँन सार्वजनिक आह्वान गर्दा भन्नुभएको थियो, ‘कुद्दैकुद्दै अरू मुलुकका आउँछन् पुण्य कमाउन, नेपाली हो यसपटक चाहिँ हुन छैन कोही छुट्न ।’ यही भावनाका साथै सबै नेपाली नेपालभित्र रहेका सबै पवित्र धार्मिकस्थलमा वर्षमा वा तीन वा पाँच वर्षमा एकपटक अनिवार्य रूपमा पुग्ने बानीको विकास मात्रै गर्न सके पनि हाम्रो तीर्थस्थलको महŒव बेस्सरी बढेर जाने थियो । मृगले कस्तुरीको वासना आफ्नै जिउबाट आएको चाल नपाएझैं नेपालीले आफ्ना पवित्र धार्मिकस्थल बारेमा जानकारी लिन नसकेमा बाह्य धार्मिक पर्यटक आउने सम्भावना न्यून भएर जान्छ । एकसिंगे गैंडाले आप्mनोे खागको महŒव नबुझेझैं हामीले त्रिपुरासुन्दरीको महŒव बुझेनौं भने हामीले अपेक्षा गरेको नेपाल भ्रमण वर्षको लाभ लिन सक्दैनौं । यसर्थ, बुढासुब्बा, भुटनदेवी, गुप्तेश्वर महादेवलगायतका पवित्र तीर्थस्थलहरूको सचिव वर्णनसहितको अडियो र भिजुअल सामग्री तयार गरी नेपालभित्र र विश्व बजारमा व्यापक प्रचारप्रसार गर्नुपर्छ । यसरी नेपाल भ्रमण वर्षलाई पूर्ण रूपमा सफल तुल्याउन धार्मिक पर्यटन एउटा महŒवपूर्ण पक्ष हो भनी सरकार र निजी क्षेत्रले समयमै बुझी यसतर्फ मन, वचन र कर्मले सत्प्रयास गर्न सार्वजनिक आह्वान गर्दछु ।