काँग्रेसले वैदेशिक रोजगारीका समस्याबारे संसदमा आवाज उठाउने

काठमाण्डौ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्मा श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा व्याप्त अव्यवस्था, अनियमतिता र शोषण अन्त्य गर्न आवाज उठाउने जनाएको छ ।

पार्टीको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हेर्ने संयोजक डा डिला सङ्ग्रौलाले मंगलबार पत्रकार सम्मेलन गरी यही पुस ४ गतेदेखि शुरु हुने संसद्को हिउँदे अधिवेशनमा सो विषयमा आवाज उठाउने जानकारी गराएका हुन् ।

सरकारले युएई, मलेसिया, जापान र मरिसलगायतका श्रम गन्तव्य मुलुकसँग श्रम सम्झौता, सम्झदारी, सहमति गरे पनि सो विषयका प्रतिबद्धतालाई प्रभावकारी कार्यान्वयन गर्न नसकेको उहाँले आरोप लगाए। सांसद सङ्ग्रौलाले मलेसिया जाने कामदारसँग मेनपावर कम्पनीले सेवा शुल्क नलिने भने पनि कानूनी छिद्र प्रयोग गर्दै विचौलियामार्फत ठुलो रकम असुली रहेको उदाहरण दिए ।

यसैगरी जापानसँग श्रम सम्झौता गरिएकोमा भाषा परीक्षा र सीप परीक्षणका प्रक्रिया झन्झटिला भएको कारण सोचेअनुसार नेपाली कामदार जान नपाएको टिप्पणी गरे । सांसद सङ्ग्रौलाले वैदेशिक रोजगार विभागको सेवालाई अनलाइन प्रक्रियामा लगिरहेको बेला व्यवसायीले विभाग र मन्त्रालयमा अनावश्यक दबाब दिने कार्य मन्त्री परिवर्तनसँगै शुरु भएको आरोप लगाए । उनले वैदेशिक रोजगार, सामाजिक सुरक्षा तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको वर्तमान अवस्थाबारे तत्काल एउटा श्वेतपत्र जारी गर्न ध्यानाकर्षणसहित सरकारसँग माग गरेका छन् ।

काँग्रेस कृषक, मजदूर, श्रमिक वर्गको पक्षमा सधैँ दृढतापूर्वक उभिएको बताउँदै उहाँले सरकारका रचनात्मक कामको समर्थन र गलत कामको विरोध गर्ने प्रतिबद्धता व्यक्त गरे । (रा.स.स)