विदेशी र नेपालीलाई हवाई भाडादर समान बनाइने : पर्यटनमन्त्री भट्टराई

विदेशी र नेपालीलाई हवाई भाडादर समान बनाइने : पर्यटनमन्त्री भट्टराई

पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी र नेपालीका लागि भाडादर समान बनाइने बताएका छन् ।

पोखरामा जारी लिट्रेचर फेस्टिवलमा भाग लिन पुगेका मन्त्री भट्टराईले एक अन्तर्क्रियामा बोल्दै यस्तो बताएका हुन् । उनले भाडादर समान गराउन आफू विमान सेवा कम्पनीहरुसँग छलफलमा रहेको जानकारी दिएका छन् ।

यसअघि मन्त्री भट्टराईले एक कार्यदल गठन गरेर हवाई भाडामा लिएको दोहोरोपनबारे अध्ययन गराएका थिए । कार्यदलको अध्ययनअनुसार नेपालीको तुलनामा विदेशी नागरिकले करीव दोब्बर मूल्य तिरेर नेपालमा हवाई यात्रा गर्नु परेको छ । यसले नेपाल महंगो गन्तब्यका रुपमा समेत स्थापित भइरहेको छ । विदेशीका लागि लिइने महंगो शूल्क हटाएर समान बनाउन सरकारद्वारा गठित कार्यदलले सुझाव दिएको छ ।

विदेशी कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थामा कार्यरत कूटनीतिक तथा विदेशी नागरिकले समेत असमान भाडादरमा चासो राख्ने गरेका छन् । नेपालले भ्रमण वर्ष मनाइरहेको सन्दर्भमा डलर फेयर घटाउने घोषणा गरी पर्यटकलाई प्याकेज दिन सकिनेबारे पर्यटन व्यवसायीले माग गर्दै आएका छन् । तर, वायुसेवा संचालक भने डलर फेयर हटाउन नहुने पक्षमा छन् । त्यसबाट मुनाफा घट्ने र सेवा संचालनमै कठिनाई हुने दावि कम्पनीहरुले गर्दै आएका छन् ।