बीपीको अभिनन्दन गर्दा हाकिमहरुको धम्की

बीपीको अभिनन्दन गर्दा हाकिमहरुको धम्की

सुधारिएको पञ्चायत र बहुदलीय प्रणालीका बीचको छनोटलाई लिएर भएको राष्ट्रिय जनमतसङ्ग्रहको परिणामले नेपाली काङ्ग्रेसका नेता बीपीको बहुदल पक्षको जीत हुन्छ भन्ने आत्मविश्वासको खिल्ली उडाएको मात्र होइन, लौहपुरुष गणेशमान सिंहले एक वर्ष पहिले व्यक्त गर्नुभएको बहुदल पक्षलाई जित्न नदिन पञ्चहरूले नाङ्गो धाँधली गर्नेछन् भन्ने आशंकाको समेत पुष्टि गरिदिएको थियो । राष्ट्रियताको रक्षाका एजेन्डामा आफ्नो गर्धन जोडिएको ठानिएका राजाले पिठ्युँमा छुरा रोपिदिएपछि निराश हुनुभएका नेता बीपीको स्वास्थ्य पनि दिनानुदिन बिग्रिरहेको थियो । जनमत संग्रह गराउने अन्तरिम सरकारमा बहुदल पक्षको प्रतिनिधित्व पनि हुनुपर्दछ भन्ने शर्त राख्न गणेशमान सिंहले गरेको जोडको बेवास्ता गर्नु एउटा ठूलो भूल थियो भन्ने कुरा मनमनै स्वीकार गर्नुभएका बीपीको मानसिक हताशाको प्रभाव उहाँको स्वास्थ्यमा परेको देखिन्थ्यो । तीन पटकसम्म प्राणघातक रोग क्यान्सरको उपचार गराइसक्नु भएका बीपी शारीरिक रूपले अत्यन्त कमजोर हुनुभएको थियो । पछिल्लो पटक अमेरिकामा भएको घाँटीको शल्यक्रियापछि उहाँको स्वर पनि अत्यन्त मलिन, बुझ्न गाह्रो हुने खालको, अस्फुट जस्तो भएको थियो ।

जनमतसङ्ग्रहको प्रतिकूल परिणामबाट आ–आफ्ना किसिमले बहुदलको पक्षमा काम गरेका, संगठन र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर हामी कवि–लेखक र अन्य पेशाकर्मीहरू पनि त्यत्तिकै निराश बन्न पुगेका थियौँ । हाम्रो निराशा त्यतिबेला सघन आक्रोशमा परिणत भएको थियो, जतिबेला हामीमध्ये केहीलाई बहुदलतिर लागेको आरोपमा लाञ्छित, अपमानित र दण्डित समेत् गरिएको थियो । त्यसमाथि नेपाली कम्युनिष्टहरूको एउटा समूहले जनमत संग्रहको बहिष्कार र अर्काथरीले खुल्लम्खुल्ला निर्दलका पक्षमा मत खसालेर हामी राजनीतिक स्वतन्त्रताका पक्षधरहरूको आत्मामा गहिरो चोट पुर्याएका थिए । आलो घाउमा नून-खोर्सानी दलेजस्तो त्यो व्यवहारलाई हामीले बडो सकसका साथ सहेका थियौँ ।

त्यस्तो निराशाजनक समयमा हुनलागेको साहित्यिक पत्रकार संघको चुनाव हामी प्रजातन्त्रवादी लेखक र साहित्यिक पत्रकारहरूका लागि आफ्नो स्वत्वको निभ्न लागेको दियोमा थोरै तेल थप्ने सुनौलो अवसरका रूपमा आएको थियो । वि.सं. २०३८ को मध्यतिर भएको त्यो चुनावमा प्रख्यात आख्यानकार ध्रुवचन्द्र गौतमले अध्यक्षको प्रत्याशी बन्ने इच्छा जाहेर गर्नुभयो । ध्रुवचन्द्र हामीहरूका बीच राम्रो सम्बन्ध कायम राखेका वरिष्ठ लेखक त हुनुहुन्थ्यो तर उहाँको राजनीतिक हिमचिम कम्युनिष्टहरूसँग बढी थियो । त्यसैले उहाँको उम्मेदवारी हामीहरूका लागि स्वीकार्य हुन सकेन । गौतमले सबैको सहमतिमा निर्विरोध हुने प्रयत्न गर्नुभयो, जुन सफल हुन नसकेपछि उहाँ चुनावी स्पर्धाबाट नै हट्नु भयो । उहाँको दावी नभएपछि त्यस पटकको साहित्यिक पत्रकार संघको चुनाव प्रष्ट सैद्धान्तिक खेमाका आधारमा हुने भयो ।

दुबै पक्षबाट मोर्चाबन्दी भयो । पञ्चहरूको समर्थनसमेत् पाएको वामपन्थी समूहबाट साहित्यिक पत्रकार संघको अध्यक्ष पदको उम्मेदवार हुनुभयो, तेज खरेल र प्रजातान्त्रिक समूहबाट अच्युतरमण अधिकारी । हामी प्रजातन्त्रवादीहरूको सौभाग्यकै कुरो हुनुपर्दछ– जनमतसङ्ग्रहमा निर्दललाई जिताएबापत लगातार दोस्रो पटक प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाको सरकारले कवि लेखकहरूको संस्था साहित्यिक पत्रकार संघको चुनावप्रति हस्तक्षेपकारी तहसम्मको अभिरुचि देखाएन । निर्वाचन परिणाम अच्युतरमणको पक्षमा निस्कियो । हामी प्रजातन्त्रवादी लेखक कविहरूले साहित्यिक पत्रकार संघको चुनावमा हासिल भएको सफलतालाई जनमत सङ्ग्रहमा हार्दाको चोटमाथि लागेको शीतल मल्हमका रूपमा लियौँ ।

साहित्यिक पत्रकार संघको तत्कालीन विधानअनुसार अध्यक्षको पदमात्र निर्वाचनद्वारा पूर्ति हुने गर्दथ्यो, कार्यसमितिका अन्य पदाधिकारीहरू अध्यक्षद्वारा मनोनित हुन्थे । अध्यक्ष अधिकारीले उपाध्यक्षमा हरि अधिकारीलाई, महासचिवमा विश्वविमोहन श्रेष्ठलाई, सचिवमा केदार न्यौपानेलाई, कोषाध्यक्षमा हेमन्त श्रेष्ठलाई र सदस्यहरूमा ध्रुव सापकोटा, माथवरसिंह बस्नेत, एकमणि नेपाल र अन्य एकजनालाई मनोनीत गर्नुभयो । अच्युतरमण अधिकारीले नेतृत्व गरेको साहित्यिक पत्रकार संघको त्यो टिम संघको इतिहासकै त्यतिबेला सम्मको सबैभन्दा सशक्त टिम थियो ।

संघको पहिलो बैठकबाट नै राष्ट्रिय स्तरमै चर्चा परिचर्चा निम्त्याउने खालको कुनै एउटा ठोस कार्यक्रमको घोषणा गर्न सक्नुपर्दछ भन्ने हामीहरूमध्ये केही साथीहरूको विचार थियो । हृदयतः म पनि त्यही चाहन्थेँ । तर त्यस्तो कार्यक्रम के हुन सक्दछ ? यस विषयमा भने कुनै सुस्पष्ट अवधारणा निकाल्न सकिएको थिएन । तर, पद्मकन्या क्याम्पसको एउटा खाली कक्षाकोठामा भएको संघको पहिलो बैठकको अघिल्लो दिन नै त्यो अन्योलको अन्त्य भयो र साहित्यिक पत्रकार संघले सम्पन्न गरेको एक ऐतिहासिक समारोहको प्रस्तावनाको प्रारूप बन्न पुग्यो । त्यो ऐतिहासिक महत्वको कार्यक्रम थियो–लाखौँ प्रजातन्त्रवादी नेपालीका प्रिय नेता एवं अन्यतम् आख्यानकार विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको २०३८ साल माघ १६ गते, वसन्तपञ्चमीको दिन काठमाडौँमा भएको सार्वजनिक अभिनन्दन समारोह ।

म त्यति बेला काठमाण्डौ, चाबहिलमा बस्दथेँ । संघका सदस्य र मेरा मित्र माथवरसिंह बस्नेतजी बीपी बाबुको निवास मित्रपार्कमा आउँदा एक-दुई दिन बिराएर मकहाँ पनि आउनुहुन्थ्यो । त्यसै सिलसिलामा एक बिहान मकहाँ आएका बेला माथवरजीले अचानक भन्नुभयो– ‘बीपीको हालत त्यति राम्रो छैन । जनमतसङ्ग्रहमा भएको हारले उहाँलाई झनै कमजोर बनाइदिएको जस्तो छ । उहाँले देशका लागि त्यत्रो ठूलो संघर्ष गर्नुभयो । तर अहिले उहाँ एकदम परित्यक्त, नितान्त एक्लो जस्तो, कसैले पनि नसम्झिएको, पूर्ण असफल नेताका रूपमा असाध्य क्यान्सरका रूपमा दिन प्रतिदिन नजिक हुँदै गरेको मृत्युसँग लड्दै हुनुहुन्छ । त्यस्तो पौरखी नेताका लागि यो भन्दा दुःखको कुरा अर्को के हुन सक्छ ?’

ठीक त्यही क्षणमा बिजुलीको तीखो करेन्ट जस्तै मेरो चेतनामा साहित्यिक पत्रकार संघबाट बीपीको सार्वजनिक अभिनन्दन गर्ने विचार उत्पन्न भयो । मैले तुरुन्तै माथवरजीलाई भनेँ– ‘साहित्यिक पत्रकार संघको आयोजनामा बीपीको सार्वजनिक अभिनन्दन गरौँ । उहाँको नागरिक अभिनन्दन मात्र भन्दा प्रशासनबाट आपत्ति हुन्छ भने कथाकार एवं उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक पत्रकार संघले गर्न लागेको ‘साहित्यिक अभिनन्दन’ भनौं ।’

नेपाली काङ्ग्रेसका पूर्णकालीन कार्यकर्ता माथवरसिंह बस्नेतका लाथि बीपीको अभिनन्दन गर्ने प्रस्तावभन्दा प्रिय प्रस्ताव अर्को के हुनसक्दथ्यो र ? उहाँले तुरुन्तै सहमति जाहेर गर्नुभयो । संघको पूर्ण बैठकमा अभिनन्दनको प्रस्ताव लानुअघि मैले मेरा अभिन्न मित्रद्धय र संघका पदाधिकारीहरू केदार न्यौपाने र ध्रुव सापकोटासँग परामर्श गरेँ । ती दुवै प्रतिबद्ध प्रजातान्त्रवादी मित्रहरूले मेरो प्रस्तावमाथि तुरुन्तै सहमति जनाए ।

साहित्यिक पत्रकार संघको पहिलो बैठकमा मूर्धन्य आख्यान लेखक विश्वेश्वरप्रसाद कोइरालाको सार्वजनिक अभिनन्दन गर्ने प्रस्ताव पेश हुँदा उक्त प्रस्तावले खासै विरोधको सामना गर्नु परेन । संघका केही सदस्यको मन्द विरोधको स्वर बहुसंख्यक सदस्यहरूको उत्साहको अगाडि त्यसै दबेर गयो । प्रस्ताव पारित भएपछि सम्पूर्ण कार्यक्रमको संयोजकको जिम्मेवारी पनि प्रस्तावक भएकोले पनि होला, मेरो काँधमा नै राखिदिए साथीहरूले । अर्थ संकलन र अरु बन्दोबस्तका लागि पनि उपसमितिहरू बने । महान् प्रजातन्त्रवादी नेता र विशिष्ट चिन्तक लेखक बीपी कोइरालालाई उहाँको जीवनको अन्तिम बिसौनीको निकट आएरै भए पनि सार्वजनिक मञ्चमा राखेर उहाँको वन्दना गर्ने त्यो अवसर हामीहरूका लागि अपार हर्ष र उत्साहको अवसर थियो । त्यस ऐतिहासिक आयोजनाको संयोजकका हैसियतले मेरालागि त त्यो जीवनकै सर्वाधिक महत्वपूर्ण घटना हुन पुगेको थियो ।

तर, हामीहरूको त्यो खुशी धेरै दिन टिक्न सकेन । संघको चुनावका बेलामा वास्ता नगरेको पञ्चायती प्रशासन संघको तत्वावधानमा बीपीको अभिनन्दन हुन लागेको देखेर चट्पटायो र यसलाई विफल पार्ने जुक्ति खोज्न थाल्यो । हामीले प्रशासन नउतर्सियोस् भनेर त्यस सार्वजनिक अभिनन्दनलाई साहित्यकार विश्वेश्वरप्रसादको साहित्यिक अभिनन्दनको नाम दिएका थियौँ । एउटा साहित्यिक संस्थाले कुनै साहित्यकारको अभिनन्दन गर्न खोज्दा ठाडो प्रशासनिक हस्तक्षेप गर्न त्यति सजिलो थिएन । यसै कुरालाई ध्यानमा राखेर प्रशासनले यसलाई असफल पार्ने अरू परोक्ष उपाय अपनाउन थाल्यो । सबैभन्दा पहिले त उसले संघका पदाधिकारीहरूमध्ये कसैलाई आफ्नो सुराकी बनाएर संघले गर्ने हरेक निर्णयहरू पारित भएको एक घण्टाभित्रै वागमती अञ्चलाधीशको टेबुलमा पुग्ने बन्दोबस्त मिलायो । दोस्रो उपायका रूपमा गृह प्रशासनले संघका पदाधिकारीहरू कहाँ कहाँ काम गर्दछन् पत्ता लगाएर ती ती ठाउँका हाकिमहरूमार्फत् धम्क्याउन शुरु गर्यो । साथसाथै पञ्चायती सत्ताले संघका निर्वाचित अध्यक्ष अच्युतरमण अधिकारीलाई गलाउने प्रयत्न पनि गर्यो । हृदयदेखि नै प्रजातन्त्रवादी अच्युतजी पूरै त गल्नु भएन तर एकपटक बीपीको एक्लै अभिनन्दन गर्दा प्रशासनको तारो भइन्छ भने पञ्चायतको कित्तामा गइसकेका युगकवि सिद्धिचरण श्रेष्ठलाई पनि गाँसेर संयुक्त अभिनन्दन गरौँ कि भन्ने प्रस्तावचाहिँ उहाँले ल्याउनुभयो । तर, संघका हामी बहुसंख्यक सदस्य बीपीका साथमा अरू कसैलाई जोड्ने विचारमा विल्कुलै थिएनौं । त्यसैले सभापतिको त्यो प्रस्ताव ठाडै अस्वीकृत भयो । साथीहरूको मूड देखेर हुनुपर्छ, उहाँले पनि अरू थप जोड गर्नुभएन, चूप लाग्नुभयो ।

साहित्यिक पत्रकार संघको कार्यसमितिका पदाधिकारीहरू माथवरसिंह बस्नेतलाई छोडेर सबै नै सरकारी र अर्धसरकारी निकायहरूका जिम्मेवार अधिकारीहरू थिए । म स्थानीय विकास मन्त्रालयअन्तर्गत रसुवा–नुवाकोट एकीकृत ग्रामीण विकास परियोजनाको एउटा जिम्मेवार पदमा कार्यरत थिएँ भने केदार न्यौपाने त्रिभुवन विश्वविद्यालयका शिक्षक र ध्रुव सापकोटा त्रिविविकै लेखा अधिकृत । श्रेष्ठद्वय तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका जिम्मेवार कर्मचारी र एकमणि नेपालजी गृह मन्त्रालयका । हामीहरूको वैयक्तिक विवरणको यो महत्वपूर्ण पक्ष थाहा भएपछि सरकारका मानिसहरूले हाम्रा हाकिमहरूलाई परिचालन गरे र बीपी अभिनन्दनको कार्यक्रमलाई तुहाउने प्रयत्न गर्न थाले ।

एक दिन साढे दश बजे नै मेरो अफिसमा स्थानीय विकास मन्त्रालयका सहसचिव तेजप्रसाद उपाध्यायले टेलिफोन गरेर मलाई तुरुन्तै भेट्न आउन भन्नुभयो । म हाजिर भएपछि हामी दुइबीच यसरी कुराकानी शुरू भयोः

‘तपाईहरू बीपीको अभिनन्दन गर्दै हुनुहुन्छ रे हो ?’

‘हो ।’

‘अनि तपाईंले अफिसको गाडी अभिनन्दन समारोहका लागि चन्दा उठाउने काममा लगाउनुभएको छ भन्ने रिपोर्ट आएको छ नि, त्यो पनि हो ?’

‘होइन । तर म चढ्ने गाडीमा बसेर गइरहेको बेलामा चन्दा दिने सम्भावना भएको कुनै साहित्यप्रेमी व्यक्तिसँग भेट भयो भने म माग्छु पनि, त्यत्ति मात्र हो ।’

‘तपाईं सरकारी कर्मचारी कि काङ्ग्रेस ?’

‘म सरकारी कर्मचारी, अनि साहित्यकार पनि । हामीले बीपीको अभिनन्दन उहाँ काङ्ग्रेसी नेता भएर गर्न लाग्या होइन, नेपाली भाषाको ठूला साहित्यकार भएर हो ।’

हामी दुईका बीच यस्तो टेढो शैलीमा वार्तालाप भएपछि अन्त्यमा उपाध्यायले मलाई सम्झाउँदै भन्नुभयो– ‘हेर्नोस्, बीपीलाई म पनि मान्छु । उहाँको अभिनन्दन हुनु राम्रो हो । तर तपाईं यसरी सक्रिय हुँदा तपाईंलाई मात्र होइन, मलाई पनि अप्ठ्यारो पर्छ । विचार गर्नुहोला ।’

तेजप्रसाद उपाध्यायकै शैलीमा त्रिविविका तत्कालीन उपकुलपति रामचन्द्रबहादुर सिंहले ध्रुव सापकोटा र केदार न्यौपानेलाई हकारेको, सम्झाएको अनि त्यतिबेला जिल्ला कार्यालय काठमाडौँमा कार्यरत एकमणि नेपाललाई प्रमुख जिल्ला अधिकारीले तर्साउन खोजेको पनि पछि उहाँहरूबाटै थाहा भएको थियो । तर, प्रशासनको कुनै पनि चालबाजीले हामीलाई बीपीको त्यस ऐतिहासिक अभिनन्दन गर्नबाट रोक्न सकेन । त्यो ऐतिहासिक काम अन्ततोगत्वा भएर नै छाड्यो । नेपालको सम्पूर्ण सचेत र कृतज्ञ नागरिक समूहद्वारा बीपी कोइराला नामक आधुनिक नेपालका निर्माताहरूमध्ये सबैभन्दा उद्भट मेधावी र गुणी व्यक्तिप्रति प्रकट गरिएको हार्दिक सम्मान थियो त्यो ।

हो, प्रशासनले अभिनन्दन समारोहस्थलका रूपमा हामीहरूले पहिले रोजेका दुईवटा ठाउँ– नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको हल र राष्ट्रिय सभागृह पाउँनबाट भने हामीलाई वञ्चित गर्यो । त्यसले गर्दा हामीले बाध्य भएर डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संघको, तुलनात्मक रूपले सानो हलमा कार्यक्रम सम्पन्न गर्नुपर्यो ।

त्यो अभिनन्दन समारोहका लागि चन्दा मागेका व्यक्तिहरूमध्ये उदारतापूर्वक सहयोग गर्नेमा साझा प्रकाशनका तत्कालीन अध्यक्ष क्षेत्रप्रताप अधिकारी र राजसभाका तत्कालीन सभापति भूपालमानसिंह कार्की पनि थिए । अटल राजभक्ति र प्रजातन्त्रप्रति चरम् वितृष्णाका लागि चिनिएका ती दुई महानुभावहरूले वीपीप्रति देखाएको सद्भावनाले हामीलाई सुखद आश्चर्यको झड्का दिएको थियो । अर्कोतिर बीपीसँग धेरै समय सहकार्य गरेका, कुनै समयका ४ ठूला कांग्रेस नेतामध्ये एक सूर्यप्रसाद उपाध्यायले भने केही सहयोग र सल्लाह सुझावको अपेक्षा गरेर उहाँको ढोकामा पुगेका हामीसँग जसरी रूखो व्यवहार गर्नु भएको थियो । त्यसलाई कसरी अर्थ्र्याउने भन्ने कुरालाई लिएर म अहिलेसम्म पनि अलमलमा छु । सूर्यबाबुले वीपीको अभिनन्दनको विचारलाई नै ठाडै अस्वीकार गर्दै हामी दुई– माथवरसिंह बस्नेत र मलाई उहाँको टङ्गाल भाटभटेनीनिरको घरको गेट बाहिरबाटै लघारिदिनु भएको थियो । नेपाली हस्तकलाका सामग्रीहरूको सफल कारोबार गरिरहनुभएका नेपाली काङ्ग्रेसका नेता सागरशमशेर राणाले वीपी अभिनन्दनको कार्यक्रमप्रति ठूलो उत्साह प्रदर्शन गर्दै मैले लेखेर तयार गरेको र संघको पूर्ण बैठकले अनुमोदन गरेको अभिनन्दन–पत्रको क्यालिग्राफी गराई चाँदीको कलात्मक बाकसमा राखी उपलब्ध गराएको कुरा उल्लेख नगरीकन भने यो सानो लेख पूरा हुन सक्दैन ।