हामीले विज्ञानको द्रुततर विकाससँगै परम्परागत धार्मिक मूल्य र मान्यताहरूलाई रूढिवादी भनेर जतिसुकै पन्छाउँदै आउन थालेको भए पनि आफ्ना छोराहरूको व्रतबन्ध भने निकै खर्च गरेर धुमधामसँग सम्पन्न गर्दै आएका छौँ । हामी धेरैजसो अभिभावक स्वयंले व्रतबन्धपश्चात् हालसम्म दिनहुँ नुहाउन, गायत्री मन्त्र जप्न, टुप्पी पाल्न र जनै लगाउन अग्रसर हुन सकेका छौँ कि छैनौँ ? तर भर्खरै व्रतबन्ध गरेका आफ्ना छोराहरूले दिनदिनै नुहाइदिए हुन्थ्यो, टुप्पी पालिदिए हुन्थ्यो, गायत्री मन्त्र जपिदिए हुन्थ्यो र जनै लगाउन नछाडिदिए हुन्थ्यो भन्ने चाहना राख्छौँ ।
किन दिनदिनै नुहाउने, किन टुप्पी पाल्ने, किन गायत्री मन्त्र जप्ने र किन जनै लगाउने ? भन्ने बारेमा भने हामी अभिभावकहरू नै बेखबर भइरहेका छौँ । तसर्थ हामीले आफ्नो व्यवहारमा ल्याउने सबैजसो संस्कारजस्तै जनै किन र कस्तो लगाउने ? भन्ने बारेमा पनि केही न केही शास्त्रीय र वैज्ञानिक कारण जान्न हामीहरू अग्रसर हुनु आवश्यक छ ।
हाम्रो दोस्रो जन्म भएकै छ त ?
हाम्रा १६ संस्कारहरूमध्ये व्रतबन्ध संस्कार बाह्रौँ संस्कार हो । यसलाई उपनयन वा यज्ञोपवीत संस्कार पनि भनिन्छ । यो संस्कार दोस्रो जन्मप्राप्तिका सन्दर्भमा महत्त्वपूर्ण मानिन्छ । ब्राह्मण, क्षत्रिय र वैश्यलाई यो संस्कार गर्ने अधिकार प्राप्त छ । ब्राह्मण आदिको गर्भदेखि क्रमशः ८, ११ र १२ वर्षमो व्रतबन्ध गर्नुपर्ने कुरा मनुस्मृति आदि ग्रन्थमा बताइएको छ ।
अथर्ववेद (११।७।३) मा उल्लेख भएअनुसार प्राचीन कालमा आचार्य (गुरु)ले ब्रह्मचारी वटुकलाई उपनयन संस्कार गराउँदै आफ्नो ज्ञानरूपी शरीरमा गर्भधारण गर्दथे र तीन रातसम्म त्यसलाई आफ्नै गर्भमा राख्थे ।
त्यसपछि वटुकले आफ्नै संस्काररूपी दोस्रो जन्म लिन्थ्यो र उसलाई अभिनन्दन गर्न देवताहरू पनि एकत्रित हुन्थे तर वर्तमानमा त्यस्तो महत्त्व क्षीण हुँदै गएको छ । व्रतबन्ध संस्कार गर्नुभन्दा पहिला ब्राह्मण आदिलाई कुनै पनि श्रौत तथा स्मार्त कर्म गर्ने अधिकार हुँदैन (मनुस्मृति २।१७१) किनभने व्रतबन्ध नगरीकन द्विजत्व प्राप्त हुँदैन तर वर्तमानमा व्रतबन्ध गरेपछि पनि ‘व्रत’ अर्थात् संस्कारगत नियमले ‘बन्ध’ अर्थात् बाँधिएका व्यक्तिहरू भेट्न अत्यन्त मुस्किल हुँदै गएको छ ।
व्रतबन्धका दिन दोस्रो जन्म लिएको आडम्बर प्रदर्शन गर्नेहरूको भीड बढ्दै गए पनि वास्तविक दोस्रो जन्मको मर्यादामा रहन नसकेका कारण वर्तमानमा व्रतबन्ध संस्कारले दोस्रो जन्म दिन सकेको छैन । तसर्थ आफ्नो दोस्रो जन्मको महत्त्वलाई बुझेर प्रत्येक वटुकले व्रतबन्धको महत्त्वलाईआत्मसात् गर्नु आवश्यक छ । नारीहरू भने विवाहपश्चात् व्रतको बन्धनमा बाँधिने भएकाले उनीहरूले विवाहलाई नै आफ्नो दोस्रो जन्म हुने संस्कारका रूपमा समेत ग्रहण गर्नुपर्छ ।
जनै के साँचो झुन्ड्याउनकै लागि हो त ?
व्रतको बन्धनमा बाँधिएका दिनदेखि जजसले काँधमा जनै भिरेका छन् तीमध्ये वर्तमानमा अधिकांशले त्रिकाल र द्विकाल त के एककाल सन्ध्या पनि गर्न छाडिसकेका छन् । पहिला पहिला द्विकाल वा एककाल सन्ध्या गर्नेहरूले जनैमा साँचो झुन्ड्याउँथे तर वर्तमानमा एककाल सन्ध्या नगर्नेहरूका लागि जनै साँचो झुन्ड्याउने साधन पनि बन्न सकेको छैन ।
घरपरिवारमा रहँदा अभिभावक र समाजको सामान्य डरले मात्र जनै काँधमा भिर्नेहरू वर्तमानमा बढ्ता देखिन्छन् तर घर छाडेर सहरबजारतिर डेरामा बस्ने र विदेश गएकाहरूमध्ये धेरैजसोका काँधमा आजकल जनै भेट्टाउन निकै मुस्किल हुँदै गएको छ । न जनै छ, न टुप्पी छ अनि न कन्धनी नै छ । कसरी ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र भनेर झ्वाट्ट हेर्दा चिन्न सकिएला ?
हिजो जनैमा साँचो झुन्डिए जस्तै आज थरमा ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रको पहिचान झुन्डिएको छ भनेर पनि विश्वास गर्न नसक्ने परिस्थितिमा जनैको पहिचान सङ्कटमा पर्नु स्वाभाविक छ । यस किसिमको सङ्कटापन्न परिस्थितिमा जनैको महत्त्व कसरी बताउने र यसको संरक्षण कसरी गर्ने ? भन्ने बारेमा हामी सबैको ध्यान जानु आवश्यक छ ।
के जनै हिन्दुत्वको पहिचान हो ?
हाम्रो समाजमा जनै लगाउनेहरू मात्र हिन्दु हुन् अरू हिन्दु होइनन् भन्ने भ्रम फैलाउने व्यक्तिहरूको पनि कमी छैन । यस्तो भ्रम फैलाउनमा केही मात्रामा कट्टर धर्मगुरुहरूको सङ्कीर्णताले पनि काम गरिरहेको होला तर धेरै मात्रामा विधर्मीहरूको कुचेष्टाले काम गरिरहेको देखिन्छ ।
जजसले जनै लगाएका छन् र व्रतबन्धको मर्यादित नियममा आफूलाई अग्रसर गराएका छन् अनि जजसले शास्त्रीय विधानअनुसार सन्न्यास ग्रहण गरेका छन् तिनीहरू दोस्रो जन्म प्राप्त गर्ने हिन्दु हुन् भने जो जो जनै लगाएर वा नलगाएर पनि व्रतबन्धको नियममा रहन सकेका छैनन् तिनीहरू पहिलो जन्मकै आधारमा हिन्दु मानिन्छन् । तसर्थ जनैलाई मात्र हिन्दुत्वको पहिचान हो भन्ने भ्रमबाट बच्नु हामी सबैको कर्तव्य हो ।
जनैलाई किन यज्ञोपवीत, यज्ञसूत्र र ब्रह्मसूत्र भनिन्छ ?
विधिवत् जनै लगाउने संस्कारलाई व्रतबन्ध मात्र होइन यज्ञोपवीत र उपनयन पनि भनिन्छ । यज्ञद्वारा संस्कार गरिएको वा यज्ञका निमित्त बनाइएको सूत्र वा धागालाई यज्ञोपवीत भनिएको हो भने जुन संस्करद्वारा वटुकलाई गुरुका नजिक लगिन्छ वा वेद आदि शास्त्र पढ्नका लागि पठाइन्छ त्यस्तो संस्कारलाई उपनयन भनिएको हो ।
संस्कृतको त्यही‘यज्ञोपवीत’ शब्द प्राकृतमा ‘जण्णअईअ’ भयो भने नेपालीमा ‘जनइ’ हुँदै ‘जनै’ शब्दको विकास भएको हो । जनैलाई संस्कृत वाङ्मयमा ब्रह्मसूत्र र यज्ञसूत्र पनि भनिएको पाइन्छ । ब्रह्मतत्त्व वा वेदज्ञानको सूचना दिने भएकाले ब्रह्मसूत्र भनिएको हो । साकार परमात्मालाई यज्ञ र निराकार परमात्मालाई ब्रह्म भनिने भएकाले दुवैलाई प्राप्त गराउने सूत्र भएका कारण जनैलाई यज्ञसूत्र र ब्रह्मसूत्र भनिएको हो ।
कस्तो जनै शुद्ध मानिन्छ ?
जनै बनाउन गाह्रो हुन्छ र निकै श्रम पनि लाग्छ । त्यसैले शुद्ध जनै महँगो हुनु अस्वाभाविक होइन तर त्यसैले तयारी खाजा र तयारी पोसाकमा रमाउने वर्तमान समयका धेरैजसो जनैधारीको ध्यान बजारका जनैमा गएको देखिन्छ । कुनै विज्ञापन नगरिएका जनैहरू मात्र होइन शास्त्रीय र शुद्ध भनेर विज्ञापन गरिएका जनैहरू पनि शुद्ध र पूरै शिखा पारिएका हुँदैनन् ।
तसर्थ कस्तो जनै शुद्ध मानिन्छ ? भन्ने बारेमा शास्त्रीय आधारहरूतर्फ हाम्रो ध्यान आकृष्ट हुनु जरुरी छ । ‘कात्यायन परिशिष्ट’ नामक ग्रन्थमा उललेख भएअनुसार जनै बनाउने कपासको धागो आफैले वा ब्राह्मणकन्याद्वारा वा सौभाग्यवती ब्राह्मणीबाट कातिएको हुनुपर्छ ।
वर्तमानमा यसरी कपासबाट जनै बनाउने धागो कात्ने प्रचलन छैन र यसका लागि बजारकै तयारी धागामा सबै निर्भर छन्, जसका कारण विशुद्ध जनैको अभाव मात्र होइन जनै लगाउनेहरूमा पनि स्वावलम्बी भावनामा ह्रास हुँदै परनिर्भरताको भावना बढ्दै गएको छ । यस परिस्थितिमा बजारकै धागो भए पनि त्यसबाट आफैले शुद्ध भावनाले जनै सङ्लिएर आफैले शिखा पारी शुद्ध जनै तयार गर्न जनैधारी आफै अग्रसर हुनु आवश्यक छ ।
कुन कुन अवस्थामा नयाँ जनै फेर्नुपर्छ?
आफैले लगाएको जनै छिन्यो भने अर्को नयाँ जनै नफेर्दासम्म बोल्नु हुँदैन भन्ने मौखिक परम्परा हाम्रो समाजमा आजसम्म पनि जीवन्त छ । आफूले जूठो बार्नुपर्ने व्यक्तिको मृत्यु भएमा, आफूले सूतक बार्नुपर्ने कुलमा कसैको जन्म भएमा, रजस्वला वा पन्छिएकी महिलासँग छोइएमा, लासलाई छोएमा वा नछोए पनि मलाम गएपछि, सूर्यग्रहण र चन्द्रग्रहण लागेर अन्त्य भएपछि स्नान गरेर नयाँ जनै फेर्नुपर्छ ।
त्यसैगरी दिसापिसाब गर्दा कानमा जनै राख्न बिर्सिएमा पनि नयाँ जनै फेर्नुपर्छ । नयाँ जनै धारण गर्दा वा फेर्दा निम्नलिखित मन्त्र पढिन्छ:
यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।।
जनै अत्यन्त पवित्र छ । यो सृष्टिको प्रारम्भमा ब्रह्माजीसँगै उत्पन्न भएको हो । यसले आयु, तेज र बल दिन्छ । तसर्थ जनै लगाउनुपर्छ भन्ने उद्घोष उक्त मन्त्रले व्यक्त गरेको छ । यसबाट जनैको इतिहास र महत्त्व केकस्तो रहेछ ? भन्ने बारेमा संक्षिप्त जानकारी प्राप्त गर्न सकिन्छ ।
दिसापिसाब गर्दा कानमा जनै किन राख्नुपर्छ ?
दिसापिसाब गर्दा कानमा जनै राख्नुपर्छ भन्ने कुरा त हामीले सुनेका छौँ तर किन राख्नुपर्दो रहेछ ? भन्ने बारेमा हामीले त्यति चासो राखेका छैनौँ । हाम्रो शिर ज्ञानको केन्द्र हो । त्यसैले शिर अत्यन्त पवित्र मानिन्छ । त्यसमा पनि हाम्रा दुवै कानको विशेष महत्त्व रहेको छ किनभने कानमा आदित्य, वसु, वायु, अग्नि र धर्मराजले निवास गर्दछन् ।
दिसापिसाब गर्दा हाम्रो शरीरका सबै अङ्ग अपवित्र मानिने र कान मात्र पवित्र ठानिएका कारण दिसापिसाब गर्दा कानमा जनै राख्न हामीलाई ऋषिमुनिहरूले निर्देशन दिएका हुन् । त्यति मात्र होइन जोरले दिसापिसाब गर्दा रोगहरूले आक्रमण गर्ने भएकाले कानबाट सोझै मल–मूत्रद्वारसम्म पुगेका स्नायुमा दबाब पर्न गई राम्रोसँग दिसापिसाब खुल्न सकोस् भनेर दाहिने कानमा जनै राख्ने गरिएको हो ।
“मूत्रे तु दक्षिणे कर्णे पुरीषे वामकर्णके” (आह्निककारिका) अर्थात् पिसाब फेर्दा दायाँ कानमा र दिसा गर्दा बायाँ कानमा जनै राख्नुपर्छ किनभने दाहिने कानको नाडी मूत्राशयसँग र बायाँ कानको नाडी मलद्वारसँग सम्बन्धित मानिन्छन् ।
जनैको लम्बाइ कत्रो हुनुपर्छ ?
जनै सङ्लिँदा पनि मन्त्रपूर्वक सङ्लिने शास्त्रीय विधान छ तर हाल आपैmले जनै बनाउने अधिकांश व्यक्तिहरूले समेत मन्त्रपूर्वक जनै सङ्लिएको पाइँदैन । सर्वप्रथम ‘भूः’ भन्दै दाहिने हातको चोरीऔँला र बूढीऔँलाका कापामा ९६ पटक धागो बेर्नुपर्दछ ।
त्यसगरी ‘भुवः’ भन्दै दोस्रोपटक र ‘स्व’ भन्दै तेस्रोपटक बेर्नुपर्छ । जोर जनै बनाउँदा ९६ को परिमाण दुईपटक मात्र गरे हुन्छ भने शरीरमा उत्तरीय वस्त्रको अभावमा जोर जनैमाथि थप एक बिजोर जनै थपेर तीनओटा बनाउने शास्त्रीय विधान रहेको हो ।
जसले जनै लगाउने हो त्यही व्यक्तिका हातको कापाको ९६ पटक बेरिएको लम्बाइको जनै लगाउनुपर्छ । हातमा बेरेर सङ्लिन गाह्रो हुने र त्यसलाई पुनः तेब्य्राउन झन् झन्झट हुने भएकाले ९६ कै परिमाण हुने गरी फल्याकमा तीनओटा काँटी ठोकेर जनै सङ्लिने प्रचलन नेपाली समाजमा अद्यावधि कायमै छ ।
यसरी ९६ पटक हातका कापामा बेरिएको जनैको परिमाण नै किन निर्धारण गरिएहोला ? भन्ने जिज्ञासा उत्पन्न हुनु अस्वाभाविक होइन । गायत्रीलाई वेदमाता मानिने, गायत्रीका २४ अक्षर हुने र चारै वेदमा व्याप्त गायत्री छन्दलाई २४ का दरले चारपटक गुणन गर्दा ९६ हुने भएकाले जनैमा ९६ परिमाण हुने व्यवस्था गरिएको हो । त्यसैगरी हाम्रो शरीर २५ तत्त्वले बनेको, त्यसमा सत्त्व, रज, तम ३ गुण, १५ तिथि, ७ बार, २७ नक्षत्र, ४ वेद, ३ काल र १२ महिना यी सबै मिलाउँदा ९६ हुने भएकाले पनि तिनकै प्रतिनिधित्वका रूपमा जनैमा ९६ परिमाण निर्धारण गरिएको हो ।
चारै वेदका मन्त्रहरू जम्माजम्मी एक लाख रहेका छन् । तीमध्ये ४००० ज्ञानकाण्ड वा सन्न्यास आश्रमसँग सम्बन्धित रहेका र ती बाहेकका कर्मकाण्डसँग सम्बन्धित ८०००० मन्त्र र उपासना काण्डसँग सम्बन्धित १६००० मन्त्रको योग ९६००० हजार हुने भएकाले त्यसकै प्रतीक स्वरूप जनैमा ९६ को सङ्ख्या कायम रहेको हो । यसरी बनाइएको जनै लगाउने व्यक्तिको कम्मरभन्दा तल जाने गरी लामो पनि बनाउनु हुँदैन र कम्मरभन्दा माथि नै रहने गरी छोटो पनि नबनाई कम्मरसम्म पुग्ने बनाउनुपर्छ ।
जनैमा तीन सुता किन तेब्य्राउने ?
जनै सङ्लिँदादेखि तेब्य्राउने, शिखा पार्ने र लगाउने बेलासम्म तीन सुतालाई विशेष महत्त्वदिनुमा ऋग्वेद, यजुर्वेद र सामवेद गरी तीन वेद; पृथ्वीलोक, अन्तरिक्षलोक र स्वर्गलोक गरेर तीन लोक; सत्त्व, रज र तम गरी तीन गुण; ब्रह्मा, विष्णु र महेश्वर गरी तीन देवता; गार्हपत्य, आहवनीय र दक्षिण तीन अग्नि तथा जनै लगाउने अधिकार पाएका ब्राह्मण, क्षत्रिय र वैश्य तीन जातिको प्रतिनिधित्व गरेर जनैमा तीन सुता र तेब्य्राउने प्रचलन चलेको हो ।
साथै ब्रह्मचर्यबाट ऋषि ऋण, यज्ञद्वारा देव ऋण र प्रजापालनद्वारा पितृ ऋण चुकाउनुपर्ने सन्देश दिनका लागि पनि जनैमा तीन सुता तेब्र्याउने गरिएको हो । जनैका नवतन्तुमा ९ देवता रहन्छन् । तिनमा रहने ॐकार, अग्नि, अनन्त, चन्द्रमा, पितृगण, प्रजापति, वायु, सूर्य र सर्वदेव देवताले क्रमशः ब्रह्मलाभ, तेजस्विता, धैर्य, शीतलता, स्नेह, प्रजापालन, शुचित्व, प्राणत्व र समदर्शी भावनाको गुण प्रदान गर्दछन् ।
जनै कतिओटा लगाउने ?
सामान्यतया हामी नेपालीहरूले एकजोर जनै लगाउने गरेका छौँ भने केही नैष्ठिक नेपाली विद्वानहरूले डेढजोर (तीनओटा) जनै लगाउने गरेको पाइन्छ ।
आश्वलायन गृह्यसूत्रमा उल्लेख भएअनुसार ब्रह्मचारी वा अविवाहित व्यक्तिले एउटा जनै र विवाहितले दुई वा धेरै जनै लगाउनुपर्छ । नेपालमा सबैजसो जनैधारीहरूले पारस्कर गृह्यसूत्रलाई मान्दछन् ।
त्यसैले एउटा मात्र जनै लगाउने अविवाहित व्यक्ति नेपालमा प्रायः भेटिँदैनन् । नेपालमा व्रतबन्ध भएदेखि नै दुईओटा वा एकजोर जनै लगाउने र भगवान्लाई अनि पितृहरूलाई चढाउँदा पनि एकजोर नै जनै चढाउने चलन छ । यदि काँधमा पछ्यौरा, गम्छा आदि उत्तरीय वस्त्रहरू राखिएको छैन भने तेस्रो जनै वा डेढजोर जनै लगाउनुपर्छ भन्ने शास्त्रीय विधान रहेको छ ।
के स्त्री र शूद्रले पनि जनै लगाउन सक्छन् ?
शास्त्रमा स्त्री र शूद्रको व्रतबन्ध गर्ने विषयमा कतै चर्चा गरिएको भेटिँदैन तर आर्य समाजका अनुयायीहरूले स्त्री र शूद्रको पनि व्रतबन्ध गराउँछन् । नेपालमा पूर्वकै विशिष्ट विद्वान् मानिएका स्व.छविलाल पोखरेलले धरान, विराटनगरतिरका धेरै कन्याहरूको व्रतबन्ध गरिदिनुभएको चर्चा मैले उहाँले नै प्राध्यापन गर्ने पिण्डेश्वर क्याम्पसमा पढ्ने बेलामा धेरैपटक सुनेको हुँ ।
वर्तमान नेपालका केही भागमा समेत आर्य समाजका अनुयायीहरूको अस्तित्व होला र तिनीहरूले कन्या र शूद्रको समेत व्रतबन्ध गराइरहेका होलान् । जसका कारण हिन्दु वैदिक सनातन धर्मका अनुयायीहरूमाथि स्त्री र शूद्रलाई व्रतबन्ध गर्न र वेद पढ्न नदिएको आरोप लाग्दै आउनु अस्वाभाविक होइन ।
“स्त्री–शूद्रद्विजबन्धूनां त्रयी न श्रुतिगोचरा” (श्रीमद्भागवतमहापुराण १।४।२५) अर्थात् स्त्री, शूद्र र पतित द्विजहरूलाई वेदत्रयी वा ऋग्वेद, सामवेद र यजुर्वेदको अधिकार छैन भनेर स्त्री र शूद्रलाई वेद पढ्नका लागि पूर्व अधिकारका रूपमा व्रतबन्ध नगर्ने सङ्केत गरिएको हो । मनुस्मृतिले ती ब्राह्मणादि तीन जातिको मात्र व्रतबन्ध गर्न निर्देश गरेकाले पनि स्त्री र शूद्रको व्रतबन्ध गर्ने कुरा अशास्त्रीय मानिएको हो ।
प्रत्येक महिना रजस्वला हुने र प्रसवकालमा समेत यज्ञोपवीत अपवित्र मानिने भएकाले स्त्रीलाई जनै लगाउने अधिकार दिन शास्त्रहरूले अनुपयुक्त ठानेका हुन् । वर्तमान समयमा शुद्धसँग वेद पढ्ने ब्राह्मण त भेटिन मुस्किल भएका अवस्थामा प्राचीन कालमै शुद्धसँग सस्वर वेदको उच्चारण गर्न असमर्थ ठानेर स्त्री र शूद्रलाई वेद पढ्ने व्यवस्था नगरिएको हो । त्यसैले वेद पढ्ने अधिकार पाउनका लागि गरिने व्रतबन्ध संस्कारका सन्दर्भमा स्त्री र शूद्रको व्रतबन्धको व्यवस्था गर्न ऋषिमुनिहरूले अनुपयुक्त ठहर्याएका हुन् ।
उपसंहार
जन्मँदा हामी ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र जुनसुकै जातका आमाबुवाका कोखबाट जन्मिए पनि वास्तवमा हामीहरू शूद्र नै ठहरिएका हुन्छौँ । व्रतबन्धबाट दोस्रो जन्म पाएपछि हामीहरू शास्त्रीय दृष्टिले ब्राह्मण, क्षत्रिय र वैश्य भनेर चिनिन्छौँ तर व्रतबन्धका कुनै पनि मर्यादाहरू पालना गर्न सकेनौँ भने लोकलज्जाकै भरमा हामीहरूले जनै लगाउनु र नलगाउनुको कुनै औचित्य हुँदैन ।
बजारिया जनैमा पवित्रता र शुद्धता हुन नसक्ने भएकाले यथासम्भव हामी आफैले जनै बनाउने प्रयास गर्नुपर्छ । परम्परागत मान्यतालाई हामीले पूर्णतः त्याग्नु पनि हुँदैन र शास्त्रीय एवं कुलपम्पराका मान्यताहरूको मूल मर्म नबुझीकन तिनलाई अँगाल्नु पनि युक्तिसङ्गत देखिँदैन । प्रतिस्पर्धी आधुनिक विज्ञानको सामना गर्दै शास्त्रीय परम्पराका मूल स्रोतलाई बुझेर जुनसुकै परम्परा अँगाल्दा अवश्य पनि हाम्रा परम्पराहरू अवैज्ञानिक र रूढिवादी ठहरिने छैनन् ।