२९ जेठ २०७७ मा प्रधानमन्त्री निवास बालुवाटार घेर्न पुगेका प्रदर्शनकारीलाई नेपाल प्रहरीले भाटभटेनीबाट अघि बढ्न दिएन । घम्साघम्सी भएपछि प्रहरीले प्रदर्शनकारीलाई लखेट्यो । भागदौडको क्रममा भीड नियन्त्रण गर्न भनेर प्रहरीले गैह्रीधारामा ‘टियर ग्याँस’ हान्यो ।
सरकारले कोरोना प्रकोप विरुद्ध प्रभावकारी काम गर्न नसकेको, गुणस्तरहीन क्वारेन्टाइन बनाएको, पीसीआर टेष्टको दायरा नबढाएको भनेर असन्तुष्ट युवाहरू स्वस्फूर्त सडकमा निस्किएका थिए । उनीहरूलाई तितरवितर पार्न प्रहरीले ११ सेल ‘टियर ग्याँस’ हानेको थियो ।
प्रहरी प्रवक्ता नीरजबहादुर शाहीले भीड नियन्त्रणका लागि प्रहरीले पानीको प्रयोग गर्न थालेको बताए । तर २९ जेठको प्रदर्शनमा किन टियर ग्याँस प्रयोग गरिएको भन्ने प्रश्नमा शाहीले भने, “शुरूमा हामीले टियर ग्याँसको प्रयोग गरेका थिएनौं । भीड नियन्त्रण गर्नै नसक्ने अवस्थामा पुगेपछि टियर ग्याँस प्रयोग गरिएको हो ।”
अमेरिकामा हालै मात्र अश्वेत नागरिक जर्ज फ्लोइड हत्या विरुद्ध भड्किएको प्रदर्शनलाई नियन्त्रण गर्न पनि टियर ग्याँसको प्रयोग गरिएको थियो । टियर ग्याँस प्रयोगको विरोध गर्दै १९ जेठ २०७७ मा अमेरिकी पूर्व राष्ट्रपति विल क्लिन्टनका श्रम सचिव तथा अर्थविद् रोबर्ट रिचले ‘तपाईंहरूलाई थाहा होला, टियर ग्याँस युद्धकालमा नै प्रतिबन्धित रासायनिक हतियार हो’ भनेका छन् । नागरिक अधिकारका लागि सडकमा आएकाहरुमाथि टियर ग्याँस प्रयोग गरेकोले अमेरिकी सरकारको आलोचना भएको छ ।
अमेरिकी पत्रिका युएसए टुडेको समाचार अनुसार रोबर्ट रिचले सामाजिक संजालमा शेयर गरेको उक्त धारणामा टिप्पणी गर्दै एक व्यक्तिले ट्विट गरेका छन्, “नागरिकहरु फोक्सोमा संक्रमण गर्ने कोरोनाभाइरसविरुद्ध लडिरहेका बेला फेरि त्यही फोक्सोलाई नै थप क्षति गर्ने रासायनिक हतियारको प्रयोग भैरहेको छ ।”
समाचारका अनुसार उनको भनाइपछि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले कोरोना महामारीको बेला यस्तो ग्याँस प्रयोग गर्नु नागरिकको स्वास्थ्यमाथि खेलबाड भएको बताएका छन् । यसबारे युएसए टुडे ले ‘फ्याक्ट चेक’ समेत गरी टियर ग्याँसले मानव स्वास्थ्यमा खासगरी व्यक्तिको फोक्सो, आँखा छाला तथा घाँटी र मुखको भित्री भागमा समेत विभिन्न असर पर्ने निक्र्यौल गरेको छ ।
पत्रिकाले डाक्टर रोबर्ट ग्लैटरलाई उद्धृत गर्दै अश्रुग्याँस ‘ग्याँस’ मात्र नभई खास किसिमको पाउडरलाई तताएर घोलकमा मिसएर बनाइने एक प्रकारको झोल हो जुन हावामा मिसिएपछि ग्याँस बन्दछ र यसले मानव स्वास्थ्यमा असहज हुने मात्र हैन आँखा, घाँटी, फोक्सो, छालामा समेत गहिरो चोट पुर्याउने बताएका छन् । टियर ग्याँसले आँखाको मांसपेशीलाई गम्भीर असर पार्ने उनको दाबी छ ।
टियर ग्याँसले श्वासप्रश्वासमा समस्या गराउने र अक्सिजन लिन नसक्दा अचेत भई मृत्युसमेत हुनसक्ने भनी पत्रिकाले लेखेको छ । नेशनल क्यापिटल पोइजन सेन्टरका मेडिकल निर्देशक डा। केली जोनस आर्बरले युएसए टुडेलाई बताए अनुसार, ‘टियर ग्याँसको खोका छुँदा पोलेर घाउ समेत हुन सक्छ’ भन्ने समाचार छापिएको छ ।
संयुक्त राष्ट्र संघको १९२५ को जेनेभा प्रोटोकलले टियर ग्याँसलाई रासायनिक हतियारको सूचिमा राखेको र पहिलो विश्वयुद्धपछि यसको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । तीन बर्षपछि अर्थात् १९२८ मा संयुक्त राष्ट्र संघको सम्मेलनले उक्त प्रोटोकल अनुमोदन गरेको कुरा संयुक्त राष्ट्र संघको वेबसाइटलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ ।
भीड नियन्त्रणका लागि सुरक्षा फौजहरूले टियर ग्याँस प्रयोग गर्ने चलन संसारभरि छ । तर, मानव स्वास्थ्यका हिसाबले टियर ग्याँस प्रयोग गर्नेरनगर्ने भन्नेबारे बहस पनि जारी छ । जनस्वास्थ्य र मानवअधिकारको वकालत गर्नेहरू त यसको प्रयोगमा रोक लगाइनुपर्ने तर्क गर्छन् । जनस्वास्थ्यविज्ञ शरद वन्त भन्छन्, “ठूलो भीड वा समूहमा झन् ठूलो क्षति पुर्याउन सक्ने भएकाले टियर ग्याँसको विकल्प खोज्नैपर्छ ।”
टियर ग्याँस प्रयोग गर्ने निश्चित समयावधि हुन्छ । त्यो अवधिमा प्रयोग नभए म्याद सिद्धिन्छ । तर, प्रहरीमा लामो समय काम गरेका अधिकृतहरू म्याद गुज्रिएका टियर ग्याँस पनि प्रयोग हुँदै आएको हाकाहाकी सुनाउँछन् । स्टोर हेर्ने व्यक्तिले कतिपय ठाउँमा म्याद गुज्रिएकै टियर ग्याँस पनि पठाइदिने गरेको उनीहरूको अनुभव छ ।
नेपालमा भीड नियन्त्रण गर्ने प्रमुख निकाय हो– नेपाल प्रहरी । नेपाल प्रहरीले भीड नियन्त्रणका लागि सबभन्दा पहिले लाठी चार्ज गर्छ । त्यसबाट नियन्त्रण नभए टियर ग्याँस प्रयोग गर्छ । टियर ग्याँस प्रयोग गर्दा सामान्यतया हावाको बहाव जता छ, प्रदर्शनकारी त्यतै भएको मौका हेरेर प्रयोग गरिन्छ । कानूनतः टियर ग्याँस पनि प्रभावकारी नभएमा पानीको फोहोरा हान्ने र अन्त्यमा घुँडामुनि गोली हान्ने विधि पछ्याउँछ, नेपाल प्रहरीले ।
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरण अनुसार, नेपाल प्रहरीले ६ प्रकारका टियर ग्याँस प्रयोग गर्दै आएको छ । यी प्रकार मूलतः प्रयोग गर्ने तौरतरिका र सेल हान्न प्रयोग हुने उपकरणमा आधारित छन् । जस्तो कि, ३८ एमएम, ग्याँस ग्रिनेड स्मोक, सिम्पल ग्याँस ग्रिनेड, ड्युअल फायर सेल, लङ्ग रेञ्ज र भेइकल इलेक्ट्रोनिक ग्याँस सेल । टियर ग्याँसमा हुने रसायन (केमिकल) को बनोटका आधारमा हेर्ने हो भने चाहिं प्रहरीले दुई प्रकारका टियर ग्याँस प्रयोग गर्छ– सीएस र सीएन ।
अमेरिकाको नेशनल लाइब्रेरी अफ मेडिसिनको ‘नेशनल सेन्टर फर बायोकेमिस्ट्री इन्फर्मेसन’ का अनुसार, सीएस ग्याँस यस्तो ‘एरोसेल’ हो जो हावाको सम्पर्कमा आउनासाथ स्वतः बाफ बन्ने गर्छ । यसलाई आमरूपमा गैरघातक हतियारका रूपमा लिइन्छ । सीएन ग्याँस चाहिं अलि धेरै विषाक्त ग्याँस मानिन्छ । धेरै मुलुकले सन् १९५९ पछि नै सीएन ग्याँसलाई सीएस ग्याँसबाट प्रतिस्थापन गर्न थालेका हुन् ।
‘जर्नल अफ इन्भायरोमेन्टल एनालिटिकल केमिस्ट्री’ का अनुसार त्यही क्रममा सन् १९९३ को ‘केमिकल वीपन्स् कन्भेन्सन’ ले सीएन टियर ग्याँसको प्रयोगमा रोक लगाउनुपर्ने निष्कर्ष निकालेको थियो । त्यसको एक वर्षपछि, सन् १९९४ देखि १९९७ सम्ममा अङ्गोला, इजिप्ट, उत्तरकोरिया, सोमालिया बाहेक प्रायः धेरै देशले यो कन्भेन्सनमा हस्ताक्षर गरे । तर, पनि यसको प्रयोग विश्वव्यापी रूपमा रोकिएको छैन । नेपाल प्रहरीले पनि अहिलेसम्म सीएन ग्याँस समेत प्रयोग गरिरहेको छ ।
टियर ग्याँसको नकारात्मक असर बारे विभिन्न अध्ययनहरूका निचोड सार्वजनिक रूपमा उपलब्ध छन् । अध्ययनहरूले देखाएका छन्– ‘टियर ग्याँस एक रासायनिक हतियार हो जसले आँखा र श्वास–प्रश्वासमा अवरोध गर्छ, छाला जलाउँछ र अन्धोपन पनि निम्त्याउन सक्छ ।’
ब्रसेल्सको हिलारिस पब्लिसर्सद्वारा प्रकाशित ‘जर्नल अफ इन्भायरोमेन्टल एनालिटिकल केमेस्ट्री’ (भोल्युम–२, अंक ३, सन् २०१५० का अनुसार, विश्वव्यापी रूपमा प्रयोग हुने टियर ग्याँस मानव स्वास्थ्यका हिसाबले निकै हानिकारक छन् ।
सो जर्नलका अनुसार, टियर ग्याँस प्रयोग भएको १० देखि १५ मिनेटसम्म आँखा हेर्नै समस्या हुन्छ । श्वास फेर्न गाह्रो हुन्छ । कतिपयलाई वान्ता हुने, नाक, कान र घाँटीको समस्या निम्त्याउनेदेखि आँखाको ज्योति गुम्ने पनि हुनसक्छ । यसबाट शरीर बिग्रने मात्र होइन, ज्यान जान पनि सक्छ ।
त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र विभागका प्राध्यापक रामेश्वर अधिकारी टियर ग्याँस एक प्रकारको रासायनिक हतियार भएकोले स्वास्थ्यका दृष्टिले खतरनाक हुने बताउँछन् । “यसले हाम्रो आँखा, फोक्सोमा गएका नसाहरूमा आक्रमण गरेर छोटो समयका लागि निष्क्रिय गराइदिने गर्छ, शरीर कमजोर रहेछ भने मृत्यु पनि गराउन सक्छ” प्राध्यापक अधिकारीले भने, “टियर ग्याँसले शरीरमा भएका सेल, तिनका गतिविधिलाई समेत मारिदिने हुँदा यो निकै खतरनाक हुन्छ ।”
मानव स्वास्थ्यका लागि घातक रसायन हुने भएकैले विश्वव्यापी रूपमै यसको प्रयोगमा रोक लगाउनुपर्ने आवाज उठ्दै आएको छ । अन्यत्र जस्तै नेपालमा पनि यसबारे आवाज उठ्न थालेको लामो समय भइसकेको छ ।
टियर ग्याँसको प्रयोग रोक्नुपर्ने माग सहित अधिवक्ता धनञ्जय खनालले २०६३ सालमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । २५ जेठ २०६३ मा सर्वोच्चले रिटमाथि सुनुवाइ गर्दै सम्बन्धित विषयविज्ञको अध्यक्षतामा स्वास्थ्य र गृह मन्त्रालय तथा प्रहरी प्रतिनिधि समेत सम्मिलित एक विशेषज्ञ टोली गठन गर्न र टियर ग्याँस स्वास्थ्यको लागि कति हानिकारक छ भन्ने अध्ययन गर्न निर्देशन दिएको थियो ।
सर्वोच्चको निर्देशनात्मक आदेशमा भनिएको थियो– ‘यो ग्याँसको विकल्प अरू के छ रु स्थानीय प्र्रशासनले अन्य उपायबाट शान्तिसुरक्षा कायम गर्न खोज्दा कत्तिको प्रभावकारी हुनसक्छ रु यी विषयमा अध्ययन गरी एक वर्षभित्र प्रतिवेदन दिनू र त्यसैका आधारमा आवश्यक व्यवस्था गर्नू ।’ तर, सर्वोच्चको यो आदेश कार्यान्वयन भएन ।
टियर ग्याँस यसै पनि मानव स्वास्थ्यका लागि जोखिमपूर्ण छ । त्यसमाथि म्याद सिद्धिएको टियर ग्याँस झन् कति घातक होला ? टियर ग्याँसमा निहित रसायनको ‘कम्पोजिसन’ के हुन्छ भन्ने कुरा यसमा महत्वपूर्ण हुन्छ । मानव स्वास्थ्यलाई जोगाउन बनाइएको औषधि त मिति गुज्रिएपछि घातक हुन्छ भने टियर ग्याँस झन् के होला ? प्राध्यापक अधिकारी भन्छन्, “सामान्य सिद्धान्त अनुसार कुनै पनि रसायन लामो समय राख्दा त्यो अर्कै चीज बन्न जान्छ ।”
यो कत्तिको घातक हुन्छ त ? “प्लाष्टिक वा रबरभित्र राखिने हुँदा त्यहाँभित्र त्यो ‘रियाक्टिभ’ भएको हुन्न, अर्को कुनै पदार्थको संसर्गमा आएपछि नै ‘रियाक्टिभ’ हुने हो” प्राध्यापक अधिकारीले भने, “हानिकारक विष भएकाले त्यसको विषालु गुण यथावत् हुन्छ । म्याद सकिएपछि यो अर्कै विष बन्छ कि बन्दैन भन्नेबारे त प्रष्ट छैन, तर टियर ग्याँसको प्रभावकारिता भने धेरै राखेपछि स्वतः घट्छ ।”
प्रजु पन्त खोज पत्रकारिता केन्द्र