डायरी

डिकेन्सको घर पुगेर फर्केको रात

डिकेन्सको घर पुगेर फर्केको रात

क्यान्टवरी विश्वविद्यालयमा कार्यक्रम सम्पन्न गरेर घर फर्कियौँ । दिनभरिको व्यस्तताले होला आज राति  कस्तो गहिरो निद्रामा परिएछ, बेहोस झैँ अजाख भएर लडियो । ब्यूँझँदा सबै उज्यालो भित्रै पोखिएको जस्तोमा एउटा शर्टले नपुग्ला जस्तो मौसममा आकाशले घुर्मैलो सिरक ओढिरहेको छ । सिगल उडेका देखिन्छन्, क्याउँक्याउँ आवाज सुनिन्छ ।

उठेर बसेँ- सारा सुनसान छ । बिस्तारै बतासले बोलेजस्तो सुन्छु । समुद्र कति टाढा होला रु उठेर  एक्लै त्यता लाग्न पाए हुने फेरि यो नौला ठाउँमा के कसो होला ? कार्यक्रमले गलेका विश्वासपरिवार आठबजेसम्म उठन नसकी लडिरहेका छन् । आशफोर्डस्थित नरउड गार्डेनको घर नं. ११ मा । 

आजका लागि चाल्र्स डिकेन्सको म्युजियम हेर्न जाने सल्लाह बनेको थियो । त्यसैले  छिटै  खाना सेवन गरी दुई गाडी यात्री दक्षिण पूर्वी बेलायतको आशफोर्ड टाउनबाट छुट्यौँ र उही पुरानो क्यान्टबरी जाने मार्गलाई पछ्यायौँ । त्यही क्यान्टबरी जहाँ अंग्रेजी साहित्यका पिता जेफ्रि चसरको म्युजियम छ । ठूलाठूला एकान्त जस्ता भूभाग नाघ्दै ब्रोडस्टीड भन्ने निकै परको शहरको किनारामा  बिसायौँ । यी दुईवटा बाहनमा शीला स्टेइनर, सन्ध्या लिम्बू, अनिता थेबे, बलिहाङ, विश्वासदीप तिगेला र गोविन्द भट्टराई अटाएका थियौँ । 

गन्तव्यमा पुगी ठूलो पार्किङमा गाडी बिसाएर हेर्दा सडक ओरालो ओरालो लाग्यो । छानमा चिम्नी र गेबल भएका पुराना घरहरु, भित्तादेखि  झुण्डिएका फूलका गमला तर सडक पूरै ढाकेर  हिँड्ने रमिते दर्शक यात्रुहरु कमिलासरी यति होइन । हिँड्दै हिँड्दै जाँदा त्यो बाटाको अन्त्य भयो र अचानक एउटा भीरका टुप्पामा पुगियो । त्यस डाँडाको  शिरैशिर आँखाले देखिएसम्म ठूलो सडक छ, दुवैतिर अनि सिधै तल छ एउटा समुद्री बगर (सी वीच) अनि त्यसको अन्त्यसँग जोडिएको समुद्र । विशाल छ नीलो छ अनन्तदेखि छाल उठेर आउँदै किनाराको बालुवामा पछारिँदै उतै फर्केर जाने जलराशि कति सुन्दर छ । भयावह पनि आकाश छुनेगरी सेता मुस्ला उठ्छन् फेरि घुम्री परेर तल झर्छन् । सारा बगर ढाकेर नाचिरहेका सीगलका बथान भाग्न खाजेझै उड्दै थोरै आकाश वृत्तमा  परिक्रमा गर्दै फेरि तल ओर्लिन्छन् । सेता घुर्मैला पखेटा देखिन्छ क्याउँ क्याउँ स्वर सुनिन्छ । ती सर्वत्र छन् । घरघरका धुरीमा बसेका यी सेता कुुखरा त्यतिकै छन् । 

सडकभरि मान्छे नै मान्छे त्यही समुद्रका छाल उठ्ने ठाउँ माथिको सडक परिपरि घुम्दै छन् । कोही अझ तल बगरमै झरेर बीचमा ठूलो माला बनाएका छन् । डाँडैडाँडा हँसिया खुर्पाजस्तो  सकडकको परिपरि मानिसको धारो- कोही हिँडिरहेका, कोही उभिएका रमिते, कतै सडक ढाकेर टाँगिएका नाच्नेका पंडाल, कुनै गाउनेका, बीचबीचमा चटकेका, फेरि  पिउने र खानेका कत्रो ठूलो उत्सव हो आज । साना नानीहरु कपडाका कोक्रामा राखेर गुडाउँदै, हुर्केकालाई भुँडीमा बाँधेर डो-याउँदै, आइसक्रिमका सोली चाट्दै चटाउँदैस कफीका बट्टामा  सोली गाडेर तीबाट सुक्र्याउँदै, हाँस्नेहरु, धुम्मिनेहरु, लठ्ठीसँग घस्रिनेहरु बैशाखीमा सर्नेहरु अनि माइबेनी मेला दर्शनमा कत्रो हुल छ आज । प्यान्ट शर्ट र ज्वारीकोटमा छु । शिरमा टोपी छ चितवनका केदार सरले गत वर्ष उपहार गरेको  । सबैसबै बिनाटोपीका  छन्, मलाई  यो कुन पहाडे आएछ भनेर हेप्ने हुन् कि ?

यस्तो कोमल सूर्य पोखिएको डाँडाको डिलमा समुद्रको बतासले फुकिरहेको ठाउँमा गर्मी लागेर हो कि ? मान्छे एकसरो वस्त्रमा छन्- युवती, बहिनी र आमाहरु ता आधिसरोमा छन् । कुनैका शिरमा लामा बाल्टी घोप्ट्याएका जस्तो कुनैका शिरमा थाल राखेजस्तो,  कुनै कराही टोपे, कुनै हाँडी टोपे, कुनै झुसे र लुर्के टोपीसँग देख्ता मलाई पनि थोरै ढुक्क भयो । यो बहुल जमातमा एक नेपाली टोपीको  पनि शान रहन्छ होला । 

उँधो हेर्दा फ्रान्ससँग जोडिएको समुद्रको नीलो तिरमिराउँदो  तुवाँलो जस्तो आवरणभित्र लुकेको देखिन्छ भने बाटा नजिकैका घर लहरमा जोडिएको एउटा घरका सामू पुगेर रोकियौँ । आजको गन्तव्य यहीँ थियो- चाल्र्स डिकेन्स हाउस् । आज जसको म्यूजियम हेर्न त्यहाँ पुग्यौँ तिनै चाल्स डिकेन्सबारे पनि  अलिकति  कुरा जोड्न चाहन्छु ।

चाल्र्स डिकेन्स उन्नाइसौँ शताब्दीका एक महान् अंग्रेजी उपन्यासकार हुन् । सन् १८१२ मा इङ्गल्याण्डको पोर्टस्माउथमा जन्मेका डिकेन्स आठ सन्तानमा माइला थिए । बाल्यकालमै त्यहाँबाट  पितामाता केन्टको च्याथम भन्ने ठाउँमा (हामी पुगेको समुद्री किनारमा) बसाईं सरेकाले यहीँ नै उनको बाल्यकाल बित्यो । 

उनका पिताजी गरीबीमा थिए र परिवार धान्न नसकेर ऋणमा डुबे, तिर्न नसकेर सन् १८२४ मा झ्यालखाँदमा परे जुन बेला डिकेन्स १२ वर्षका थिए । अब उनी स्कूलबाट निस्किए र परिवार पाल्न जुत्ता पालिश गर्न थाले । यस अनुभवले उनको बालमनमा अत्यन्तै गहिरो मनोवैज्ञानिक चोट लाग्यो । ती दिनमा बालक डिकेन्सले अभाव र गरीवीको अकल्पनीय कष्ट खप्नु परेकाले उनले पछि जे लेखे बेलायतका शोषित पीडित मजदूरवर्गको आवाज मात्र लेखे । 

पछि बुबा जेल मुक्त भए, छोरा पनि बल्ल स्कूल जान थाले । उनले शर्टह्याण्ड सिके र जागिर गर्दै पत्रकारिता सिके । बिस्तारै कथा छपाउन लागे,  आफ्नो नाम ‘बोज’ राखे र सन् १८३६ मा स्केचिज बाइबोज नामक कथा संकलन निकाले । त्यही वर्ष उनले क्याथरिन होगार्थ नामक कन्यासित विवाह गरे, उनी इभिनिङ क्रोनिक्लरका सम्पादककी पुत्री थिइन् । पछि १० जना सन्तान भएपछि तिनीहरुले सम्बन्धविच्छेद गरे ।

त्यसपछि उनी पिकविक पेपर्स नामक नामी पत्रिकामा  लागे, पछि त्यहाँका लेखलाई पुस्तकमा निकाले । अनि त्यस सफलताले गर्दा उनी उपन्यासतिर लागेस छिट्टै नै पूर्णकालिक अति सफल उपन्यासकारमा गनिए । उनको ओलिवर ट्विष्ट, निकोलास निकलबाई, प्रसिद्ध कृति हुन्- आज यी संसारभरिकै पाठ्यक्रममा छन्, नेपालमा पनि ।

उनलेस क्यानडा, इटाली स्विटजरल्याण्डको भ्रमण गरी फर्केर डम्बे एण्ड सन्, ड्याभिड  कपरफिल्ड, ब्लिक हाउस, लिटल डोरिट, अ टेल अव टु सिटिज र गे्रट एक्स्पेक्टेशन्ज लेखे । यी विश्वप्रशिद्ध आख्यान हुन् । ड्याभिड कपरफिल्ड जीवनीपरक कृति हो भने अ टेल अव् टु सिटिजमा  बेलायत र फ्रान्सको दुःख अनि बलिदानको महत्व छ । 

जीवनको उत्तराद्र्धमा डिकेन्सले पारिश्रमिक लिएर रचना वाचन गर्न थाले, एक वर्षमा ४०० पटक जति गरेस त्यो अति भयो, उनको स्वास्थ्य बिग्रियो, त्यसैबेला एलेन तर्नान (नायिका) सित पनि जोडिएका थिए, तर पार लागेन । एक दिन पाठ गर्दागर्दै उनी मूर्छा परे, ढले र फेरि उठेनन् । ग्याड्स हिल भन्ने ठाउँमा घर थियो, त्यहीँ  द मिष्ट्रि अव् एड्विन ड्रूड लेख्तै थिए त्यो अधूरै रह्यो । उनी आफ्नै घरमा सकिए र उनलाई वेष्टमिन्स्टर आबीको पोएट्स् कर्नर मा दफनाइयो ।

त्यहाँ लेखिएको छः उनी गरीबका समर्थक थिए— दुःख वेदना र पीडाग्रस्तका साथी थिए । उनको देहान्तले एक महानतम स्रष्टालाई बेलायतलगायत संसारले  गुमायो । 

यसरी चार्ल्र्स डिकेन्स सन् १८७० मा ५८ वर्षको उमेरमा बिदा भए । उनलाई आफ्नै र अरुको दुःखले छिट्टै लग्यो । उनले १६ उपन्यास केही  उपन्यासिका, कथा, आख्यानेतर लेखन, निबन्ध छोडेर गएका छन् । सबै गरी ५० भन्दा बढी कृति प्रकाशित छन् ।

मेरो प्रत्येक यात्रामा साहित्यकारको दर्शन नै ठूलो महत्वको कुरा हुन्छ । पहिलो बेलायत यात्रामा शेक्सपियरको र अन्य म्यूजियम हेरेँ दोस्रोमा जोन किट्स्, भर्जिनियाँ उल्फ र विशेषगरी महामना माक्र्सको समाधिस्थलको भ्रमण गरेँ । ती अविस्मरणीय कुरा रहेका छन् भने यसपालिको पहिलो  भ्रमण  रहेको छ चाल्र्स डिकेन्सको म्युजियम । 

डिकेन्स हाउसको सानो फलामे गेट खोलेर हामी बगैँचामा पस्यौँ, फूलबारी ढकमक्क थियो ।    हरियो दूबो, वारिपारि डेकोरेटिव बुटाले ढाकेको, टोप्रे ऐसेलु पाकेर कालै— कसैले खाँदैन कि क्या हो रु यसले भुँडी दुखाउँछ भन्थे तर आज बाटामा कति खाइयो ?

 विगत चालीस वर्षदेखि पढेका पढाएका डिकेन्सको घरमा आउन पाउँदा भएको खुशी थामिनसक्नु थियो । बाहिरबाट हेर्दा समुद्रतिर फर्केको अग्लो दुईतले घरको बरण्डा फलाममा पुराना बुट्टे ग्रिलले बनेको छ । माथि छानो बेलायती टायलको, सेतो भित्तो र ठूला सिंगा रुखजस्ता चिल्ला न चिल्ला खाँबा गाडेर काठैकाठले बनेको बरण्डा ठ्याक्कै इलाम, धनकुटा वा तानसेनबजारतिरको पुरानो घरजस्तो लाग्छ किनभने बरण्डाबाट लहरै झुण्डिएका गमलाभरि सदावहार फूल देख्ता मलाई त्यस्तै लाग्यो । 

विश्वास भाइले टिकट काटेर ल्याएपछि हामी भित्र प्रवेश गर्यौँ । भुँइतलामा चार कोठा थिए- तीनवटामा डिकेन्ससित सम्बद्ध सामग्री थिए, एउटा भर्याङ । प्रवेशको दाहिनेतिर बैठक कोठा छ— खाटजस्तो बेञ्ची जस्तो चारजना बस्न मिल्ने घुम्रिएको । वरिपरि पुरानाखाले चार कुर्सी छन्- कलात्मक, एउटा सिसाको बक्साभित्र केही पाण्डुलिपि, भित्तामा भरी सजाइएका चिठ्ठीपत्र, नक्सा, चित्र र केही उनैका प्रकाशनका प्रथम संस्करणका नमूना छन् । 

दाहिने कोठाभित्र डिकेन्सका महत्वपूर्ण सामग्री थिए । ठूलो बाक्सामा राखेर सिसाले छोपेका, भित्ते दराजमा उसबेलाका भान्साका सामान र नङ काट्ने, लुगा सिउने, लेख्ने, गरगहना अलङ्कार, यस्तै यस्तै कुराहरु उसबेलाका नमूनाहरु थिए । ती हे-यौँ, भित्तामा सजाएर सिसाले छोपेका उनका पाण्डुलिपिका पानाहरु उतापट्टि कलम कापी, उसबेलाका उनको जीवनसित जोडिएका हरेक आइटम- कस्तो दुर्लभ क्षण थियो ।  

यसरी चाल्स डिकेन्स म्युजियमको भ्रमण अध्ययन सकेर पाखा निस्कियौँ र सडक किनारमा पुगेर  समुद्रतिर दृष्टि लगायौँ । नीलो जलराशि उम्लिरहेको । अपराह्नको सूर्य टल्केर सारा समुद्र टलपल देखियो । तल्तिर हेर्यौं- त्यहाँको बीचमा खैरो बालुवाभरि मानिस पल्टेका, पर्तिर छालसँग खेलेका, वरपर बट्टा क्यान सिसा हातमा बोकेर दौडिरहेका । 
तल ठूलो हावादार विश्रामघर थियो । त्यसैले हामीलाई बोलायो र हामी सिँढी ओर्लेर तल बालुवानीमा झर्यौँ त्यहाँ नुहाइसकेर पल्टेकाहरु अनेक थिए । अलिकति वस्त्र धारण नगरेकाहरु पनि थिए । समुद्रको छेउमा शरम पनि हराउँदो रहेछ । 

पर्तिरको ठूलो विश्रामघर समुद्रबाट पलाएको जस्तो लाग्ने त्यसलाई ‘फोर्ड’ भनिन्छ । त्यो  समुद्रबाटै उठेको घर कसरी पानी थुनेर त्यत्रो संरचना निर्माण  गर्न सकेका होलान् ? समुद्रको भँगालो छेके जसरी पर्खाल माथि एउटा फुटबल मैदान जत्रो आँगन उठाएका छन् । त्यसमाथिका रङ्गीचङ्गी टेबल–कुर्सीमा  बसेर वरिपरि र माथि डिलतिर हे-यौँ । समुद्रले हान्दाहान्दा सेतो चुनढुङ्गा मात्र टल्किने भीरको फेदबाट हेर्दा माथिको डाँडाको बजार कस्तो विचित्रता बोकेको रमाइलो देखियो । मानिसहरु बगरभरि सलबल सलबल थिए- अनेक रङका छालमा डुब्दै निस्केर बालुवामा मडारिएका, पानीमा चोबिएका, घाममा सेकिएका  । त्यस्ता नाङ्गेहरु हाम्रो छेउमा नआऊ भन्न मन लागेको थियो तर बोली फुटेन र हामी फर्कियौँ डिकेन्स हाउसतिरै- त्यहीँ हाम्रा कार पार्किङ गर्दै थिए । 

अब त्यहाँदेखि बिदा भएर समुद्रको किनारै किनार चल्ने मार्गमाथि चढेर आशफोर्ड टाउनतिर फर्कियौँ । बाटाको आनन्द सानो थिएन । ठूलाठूला फारम खेती, काटिएका गहुँबारी, चरनमा निहुरेका टाटे गाईबस्तु र सेता भेडा । गर्दागर्दै फ्रान्सतिर जाने बाटा भएको डोभरवीच पुग्यौँ । ती शोर्न क्लिफका सेता भीरहरुको बयान अघिल्ला यात्रामा पनि गरेकै छु । भव्यता र सुन्दरता शिवाय त्यहाँ केही छैन । यहीँबाट समुद्रमुनि पसेर म फ्रान्स गएको थिएँ । बेलायत फर्केको थिएँ । फेरि त्यहीँबाट  हुँदैहुँदै फोकस्टन पुगेको थिएँ । जहाँ उसबेला विश्वासदीप भाइको सरकारी क्वाटर थियो- त्यो आज छैन । अन्तै सरेको छ निजी घर भएर आशफोर्ड भन्ने ठाउँमा । 

आज अबेला भइसकेको थियो । नेपाली राजदूतावासको निमन्त्रणा थियो । रात्रिभोज थियो । केही कार्यक्रम थियो तर आज समुद्री किनारले तानेर होला कसोकसो ढिला भइसकेको थियो । त्यसैले  भाइहरुले आशफोर्ड स्टेशन पुगेर नै कार पार्किङमा राखे र हामी लण्डन जाने ट्रेन चढेर त्यता लाग्यौँ । 

बाटाको दृष्य बयान गरिनसक्नु छ- हेर्दा मन आत्तिने चौरी छन्, त्यहाँ उनै गाई र भेडा छन् । सूर्यास्त हुने बेलासम्म चौरीमा निहुरेका कतिबेला यी गाउँतिर जालान् कुनै गोठाला बेगरका छन् । जुल्फी काटेर मिलाएका वृक्षहरु, झाडी, बुट्यान सबै अनुशासनमा छन् । गहुँ बाली उठेपछिका नरुवा, जोतिएका  सुनसान फाँटहरु । यो यामको लण्डनपथ परिपरि यस्तै । 

रेल यात्रा सुखकर छ । मनमा आतेस छ । ढिला भएको ग्लानि पनि । बल्ल चेरिङ क्रस स्टेशन उत्रियौँ, लण्डनको मुटु जस्तो ठाउँ अनि त्यहाँबाट ट्युवमा छि-यौँ र नटिङहिल गेट भन्ने स्टेशनमा उत्रियौँ । नेपाली दूतावासको गाडी प्रतीक्षामा थियो चढेर हामी दूतावास पुग्यौँ । त्यहाँ डा। दुवसुले हाम्रो स्वागत गर्नुभयो । पहिले मुरारीजीको पालामा पसेको भवन उही रहेछ, तर आज भिन्न लूक दिने नयाँ, भव्य र आकर्षक देखियो ।

त्यहाँ दूतावासका कर्मचारी तथा अन्य नेपाली सज्जन हाम्रै प्रतीक्षामा थिए । नेपालबाट आएका सज्जनहरुमा खगेन्द्र संग्रौला, प्रा नोबलकिशोर राई, तुलसी दिवस र मैले आतिथ्य ग्रहण ग-यौं । बेलायतमा रहेका नेपाली समाजको राम्रो प्रतिनिधित्व थियो । नेपाली साहित्य विकास परिषद् युकेदेखि यताका अनेक साहित्यिक  सांस्कृतिक  संस्थाको प्रतिनिधित्व  थियो । 

हामीले ता डिनर मात्र ठानेका थियौँ तर होइन, ठूलै साहित्यिक-सांस्कृतिक कार्यक्रम जुटाइदिएको रहेछ । राजदूतको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भयो । आफ्नै ठाउँका स्रष्टा विद्वान् डा दुर्गाबहादुर सुवेदी भए पनि उहाँको ‘दुवसु’ नाम नेपाली साहित्यमा सुपरिचित छ । बेलायती नेपाली समाजमा उहाँले  गरेको योगदानको जनमानसले उच्च मूल्याङ्कन गर्दोरहेछ । आफू एक स्रष्टा विशेषगरी संवेदनशील कवि भएकाले उहाँको स्वागत मन्तव्य एक परिस्कृत एवम् विनयशील वक्ताको जस्तो लाग्यो । त्यसमाथि बेलायतको राम्रो अनुभव भएका र कूटनीतिक दक्षताले युक्त डा सुवेदीको प्रस्तुति ज्यादै प्रभावकारी थियो । उहाँले आफ्नो बेलायत आगमन र संघर्ष, योगदान र त्यसको  कदरको चर्चा गर्दै अबको नेपाली साहित्यले एउटा राम्रो आकार लिएको र यसले बौद्धिक र प्राज्ञिक पक्षको पनि स्थापना गर्न थालेको चर्चा गर्नुभयो । जुन कुरा मैले पनि हृदयङ्गम गर्दै भन्दै बोल्दै लेख्तै आएको छु । कार्यक्रम सक्ता एघार बज्यो । अब छिटै रात्रि रेल बन्द हुन्छ भन्थे । हतारहतार डिनर लियौँ र आत्तिँदै स्टेशनमा पुग्यौँ, अन्तिम रेल छुट्नलाई घ्यारघ्यार  गर्दै थियो । 

घर (आशफोर्ड) पुग्दा रातको दुई बज्यो । तर मेरा आँखामा निद्रा ओर्लिएन । हेर्छु यता बेलायतमा ८०० वर्ष पुराना महाकवि चसरदेखि १९९५ का नोबल विजयी सीमस हेनीसम्मका संग्रहालय छन् । वर्डस्वर्थ, शेली, किट्स्- कतिका दुई तीनवटा  छन् । जहाँ बस्यो त्यही ठाउँलाई सरकारले फलानाको संग्रहालय भनेर त्यने घरको संरक्षण गर्दछ, लेखकका सरसामान सुरक्षित गरिदिन्छ, प्रदर्शित गर्दछ ।

चाल्र्स डिकेन्सको यो डिकेन्स हाउस मात्र होइनस लण्डन शहरभित्र अर्को पनि संग्रहालय छ- ४८ डटी स्ट्रीट भन्ने ठाउँमा । मेरो दोस्रो लण्डन यात्रामा मलाई लेखनाथ बरालले त्यो चाल्र्स डिकेन्स म्युजियममा घुमाएका थिए । चार्ल्स डिकेन्स ट्रष्टले सन् १९२५ देखि चलाएको यो म्युजियममा उनको ‘स्टडी’ छ, भुइँतलाको चिसामा कोइला बालेर पकाउने भान्सा छ, श्रीमतीको कोठा, डाइनिङ रुम, उनीहरुको पकाउने रुम, डिकेन्सको रातो कुशन चेयर अनि सुरक्षित पाण्डुलिपि । 

प्रत्येक परिवेशबाट लेखकले पात्र जन्माउँछन् । ब्रोडस्टीडस्थित चाल्र्स डिकेन्स हाउसको  परिवेशले उनका ड्याभिड कपरफिल्डका पात्र जन्मायो । आलिभर ट्विष्टका पात्र ग्याड्सहिलस्थित अर्को घरको परिवेशले जन्मायो । यसरी सभ्य समाजले स्रष्टा कलाकारको प्रत्येक क्रियाकलापलाई, वस्तु र विचारलाई कत्रो सम्मान दिएर जोगाइराख्दछस अनन्त कालसम्मका लागि । 

झन्डै आधा शताब्दीदेखि नेपाली साहित्यमा लागेको म जब आफ्नो भविष्य सम्झिन्छु, मलाई  अचानक निराशाले छोप्न थाल्छ । हिजो मात्रै मैले विलियम वर्डस्वर्थको म्युजियम पुगेको फोटो देखेर  दार्जीलिङका कवि मनप्रसाद  सुब्बाले  लेख्नुभो-भाइ, हाम्रोमा कहिले त्यस्तो  दिन आउला- महाकवि देवकोटा, लेखनाथ, सम, सुधपा कसैको  छैन... 

हो कसैको छैन । सबै सबै भिल्लका देशमा मणि भएका छन्, हराएका छन् । सरकारहरु ढोँगी छन्,  समाज अदूरदर्शी, स्रष्टाका सन्तानहरु सम्पत्तिप्रेमी— कसले बचाइदिने सभ्यताका धरोहरहरुलाई । बल्ल यसपालि महाकवि देवकोटाको घरलाई म्यूजियम बनाउने राजनीतिक घोषणा आएको तर  विश्वास छैन । यो पनि नेपालका डाँडाकाँडा कुद्ने रेलजस्तै होला । निद्राले आँखा पोलेर शरीर लठ्ठिएपछि, विहानका सीगल कराउन थालेपछि बल्ल म बेहोस भएर लडेँ ।