अस्ट्रेलियामा हुण्डीबाट ठगिदै नेपाली

अस्ट्रेलियामा हुण्डीबाट ठगिदै नेपाली

मेलबर्न । नेपालबाट प्लस टु सकेर कलिलै उमेरमा अवसर र सपना साकार बनाउने लक्ष्यका साथ २ वर्षअघि अस्ट्रेलियाको पुरानो शहर मेलबर्नको  एक निजी युनिभर्सिटिमा भर्ना भएका थिए दिनेश बिष्ट (नाम परिवर्तन) । 

नेपालबाट छ महिनाको अर्थात एउटा सेमेस्टर युनिभर्सिटि शुल्क तिरेर ब्याचलर पढ्न थाले, पढाई सँगसँगै अस्ट्रेलियन सरकारको कानुन बमोजिम अन्तरास्ट्रिय विद्यार्थीले पाउने २० घन्टे काम गर्दै सेमेस्टर फि, घर खर्च, र किस्तामा किनेको आइफ़ोन ११ म्याक्स प्रो को लागि केहि पैसा जोहो गर्न थाले । 

समयराम्रै सँगले बित्दै थियो । अचानक विश्व  कोरोनाको महामारी सुरु हुन् थाल्यो, अस्ट्रेलियामा पनि यसको असर बाक्लै हुन थाल्यो । न्यु साउथ वेल्स सिड्नी पछि सबै भन्दा बढी कोरोना संक्रमित भिक्टोरिया राज्य अर्थात् मेलबर्नमा देखिए त्यो सँगसँगै  राज्य सरकारले शैक्षिक पठन पाठन, मनोरञ्जन, खेलकुद, रेस्टुरेन्ट खोल्न सबैमा रेस्ट्रिक्सन लगायो योसँगै धेरै अन्तरास्ट्रिय विद्यार्थी र स्थानीय पनि बेरोजगार भए । यहि बेरोजगारीको मारमा नेपालबाट आएका दिनेश बिष्ट नपर्ने कुरै थिएन ।

उनले आफ्नो घरायसी खर्च र कलेज फि तिर्नको लागि घर परिवारसँग हार गुहार गर्नु बाहेक केहि बिकल्प थिएन । अब परदेशी छोरा खान र फि तिर्न पाइन भन्दा कुनचाहीं आमा बाउको मन रुन्न होला र । नेपालमा भएको लकढाउनलाई समेत वास्ता नगरी परिवारले उनलाई फेरी पनि ऋण काडेर पैसा पठाइदिने बन्दोबस्त मिलाए  । 

तर नेपालबाट अस्ट्रेलियामा पैसा युनिभर्सिटीको खातामा मात्र शिक्षा मन्त्रालयको अनुमतिमा पठाउन मिल्छ । त्यहि कारणले  दिनेशले रोजे हुण्डिको बाटो । सामाजिक संजाल फेसबुकमा उनि राम्रो रेटको हुण्डी खोज्न थाले । निकै समयको रस्सा कस्सि पछि उनले राम्रो रेट दिने एकजना नेपाली व्यापारी भेटे।  हुण्डी कारोबारीले भने अनुरुप उनका परिवारले नेपालमा ति हुण्डीका प्रतिनिधिलाई  पैसा दिए । तर निकै समय सम्म पनि अस्ट्रेलियामा रहेको दिनेशले पैसा नपाए पछि थाहा भयो कि उनीहरु त ठगिएछन  । 
 
यो कहानी त एउटा उदाहरण मात्र हो, अस्ट्रेलियामा हुण्डी कारोबारीबाट ठगीने नेपाली कति छन् कति । तर न्याय पाउनेको संख्या ज्यादै न्यून छ । अस्ट्रेलिया धेरै नेपालीहरुका लागि रहर, सपना, र अवसर को शहर बनेको छ। तर यहाँ नेपाली बाहुल्य बढेसँगै प्राय सबै राज्यहरुमा नेपालीले नेपालीलाई नै ‘टार्गेट’ बनाएर ठग्दै आएका छन्। धेरै अगाडी  सिड्नी शहरलाई मुख्य केन्द्रबिन्दु बनाउदै हुण्डी कारोबार गर्ने कारोबारीहरु आज आफ्नो संजाल बिस्तारै मेलबोर्न, क्यानबेरा, ब्रिज्बेन, पर्थ राज्यहरुमा फैलाउँदै आएको देखिन्छ।

केहि दिनदेखि अस्ट्रेलियाबाट संचालनमा आएका नेपाली फेसबुक ग्रुप र पेजहरुमा मेलबर्नबाट आफुहरु हुण्डीबाट ठगिएको छु भनेर गुहार लाउने नेपाली विद्यार्थीहरुको लर्को नै लागेको छ। कतिको समस्या सुल्झेको छ। तर, कतिपय भने आत्महत्या गर्नेसम्मको मानसिकतामा पुगिसकेका छन्।

अस्ट्रेलियाको ठूलो शहरको रुपमा चिनिन्छ मेलबर्न सिटी, जहाँ नेपाली समाजको बाक्लै उपस्थिति रहेको छ। नेपालीहरुको उपस्थिति जति बढ्दै छ नेपाली हुण्डी कारोबारीहरु पनि सक्रिय भइरहेका छन्। नेपालमा पैसा पठाउने र नेपालबाट चाहे अनुसारको पैसा राम्रो रेटमा झिकिदिन्छु भन्दै नेपाली विद्यार्थी र नेपाली समुदायलाई ठग्दै हिँड्ने क्रम बढेको देखिन्छ। 

यसअघि पनि रवि लामिछानेको टेलिभिजन कार्यक्रमबाट ट्राभलको नाममा अनैतिक धन्दा गर्ने दुईवटा ठूला हुण्डी काण्ड सार्बजनिक भएका थिए। तर, नेपालीलाई ठग्ने नेपाली ठगहरुलाई कुनै पनि कारबाही नभएको कारण उनीहरुलाई आत्मबल बढेको देखिन्छ। त्यसैले त यस्ता घटना बारम्बार घट्ने गरेका छन्।

पछिल्लो समय मेलबर्नको केगीबर्नमा २००७ सालदेखि ट्राभल र क्राफ्टको व्यवसाय गर्दै आएका क्राफ्ट एभरेस्टका भरत बहादुर केसी नाम गरेका एक नेपाली व्यवसायीले नेपाली विद्यार्थीलाई लक्षित गर्दै हुण्डीको नाममा हजारौं अस्ट्रेलियन डलर ठगी गरिएको पाइएको छ। 

उनले आफूले संचालनमा ल्याएको ट्राभलबाट सामाजिक संजालमा उपयुक्त रेटमा नेपालमा पैसा पठाइदिने र चाहेको अनुसार नेपालबाट पैसा झीकिदिने भन्दै प्रचार गरेको देखिएको छ । यहि ठगीको शिकार भएका विद्यार्थीका साथीहरुले सामाजिक संजाल फेसबुकमा पीडित साथीलाई बचाउन र ठगिएको रकम फिर्ता गर्न दबाब दिइरहेका छन् ।

धेरै वर्षदेखि उनले यो ठगी धन्दा अस्ट्रेलियाका प्राय सबै राज्य जहाँ नेपालीहरुको उपस्थिति छ त्यहि गर्दै आएको पनि खुलेको छ। प्रमाण सहित स्थानीय प्रहरी, नेपाली दूतावासमा उजुरी दिँदा पनि खासै चासो नदेखाएको र केहि नेपाली संघ संस्थाहरु उनकै पक्षमा लागेको पीडितहरुको आरोप छ।

उनले कोहि नेपाली विद्यार्थी नेपालबाट आउने थाहा पाउन साथ उनीहरुलाई फसाउनका लागि एयरपोर्टसम्म गएर पिकअप गर्ने र त्यहि समय पासपोर्टको कपि र भिसा कपि लिएर आफू अनुकुल महँगोमा उनीहरुलाई फोन दिएर पनि विद्यार्थी ठग्ने गरेको पाईएको छ।

अहिले उनीबाट ठगिएका एक नेपाली विद्यार्थी यो कोरोनाको महामारीमा कलेजबाट फि तिरेर लिने सीओई (कन्फरमेसन अफ इण्ट्रोल्मेण्ट)को लागि नेपाली समुदायलाई गुहारिरहेका छन्। 

के भन्छ त नेपाली दुतावास ?
यो सम्बन्धि १र२ ओटा समाचार आउँन थाले पछि नेपाली दुस्तावास, क्यानबेराले आफु पन्छिन र राम्रो काम गरेको भान गराउन आँखामा छारो हाल्ने एउटा विज्ञप्ति निकालेको थियो । जुन बिज्ञप्तिमा दुतावासले वार्निङ्ग दिएको छ कि अब हुण्डी कारोबारीहरु होसियार भएर बस्नु अब यस्तो काम गरेको देखिएमा कानुन अनुसारको कारवाही गर्छौ । सायद यो विज्ञप्ति  देखे पछि हुण्डी कारोबारीहरु डराएका छन्।

एन आर एनको भूमिका ?
एन आर एनले मध्यस्थताको लागि मेलबर्नमा रहेका नेपालि समाजमा भएका बुद्दिजिबिको एउटा समूह बनाएर यो विषयमा छानबिन गरिरहेको छ । यहि घटनालाई नजिकबाट नियालिरहेका र मध्यस्थताको भूमिका खेलिरखेका प्रवासी नेपाली एकता मञ्चका केन्द्रीय सदस्य प्रकाश सेढाई भन्छन, ‘हामीले पीडकलाई ल्याएर तीन घण्टा सम्म छलफल गर्‍यौं। जसमा तत्कालै हुण्डी र रेमिट्यान्स गरेको ५० प्रतिशत रकम फिर्ता गर्ने, बाँकी ५० प्रतिशत हरेक महिना ३ हजार डलरको दरले किस्ता तिर्दै जाने सहमति भएको छ। हाम्रो प्रस्तावलाई उनले घर सल्लाह गरेर आफ्नो आफन्तसँग मागेर, सम्पत्ति बेचेर तिर्छु भनेका छन् । हामीले त्यसको लागि समय दिएका छौं।’
 
हुण्डी के हो ?
सरकारद्धारा अनुमति नलिई गैरकानुनी ढंगबाट एक ठाउँबाट अर्को ठाउँमा वा एक देशवाट अर्को देशमा अनाधिकृत प्रक्रियाद्धारा रकम पठाउने माध्यमलाई हुण्डी भनिन्छ । यसमा मोबाइल नम्बर, नोट नम्बर, कुनै निश्चित कोडलाई आधार मानेर रकमको रकमान्तर गर्ने गरिन्छ । यो रकमान्तरको काम गराएबापत हुण्डीको काम गराउने ब्यक्तिले केही कमिशन लिने गर्दछ । उदाहरणको लागि, कुनै मान्छे वा व्यापारीले नेपालको कुनै ठाउँबाट भारतको कुनै ठाउँमा रकम पठाउनुपर्यो भने सो ब्यक्तिले नेपालमा रहेको हुण्डीको काम गराउने ब्यक्तिलाई पैसा बुझाएर एउटा गोप्य कोड प्राप्त गर्ने गर्दछ। त्यो रकम पठाउने ब्यक्तिले सो कोड भारतमा रहेको रकम पाउने ब्यापारीलाई जानकारी गराईदिने गर्दछ । भारतमा रहेको हुण्डी व्यापारीले सो कोडको अधारमा त्यो रकम पाउने ब्यक्तिलाई पहिचान गरी रकमको भुक्तानी गर्ने गर्दछ । यो बीचमा दुवै हुण्डीको कारोबार गर्ने व्यापारीहरु बीच सो कोडको गोप्य रुपमा आदानप्रदान भइसकेको हुन्छ । हाल आएर हुन्डीको विकल्पको रुपमा सुन तस्करी र गैरकानुनी विप्रेषन पनि प्रयोगमा आइरहेको सुनिन्छ ।
 
हुण्डी बढ्नुको कारण ?
हुण्डीको प्रयोग गर्ने अवस्था आउन दिनमा सबैभन्दा प्रमुख जिम्मेवार नेपालको भन्सार कार्यालय रहेको देखिन्छ । कुनै पनि समानको बास्तविक मूल्याङ्कन अनुसार कर निर्धारण नगरी अर्थात न्युनविजिकरण गरी समान आयात गर्न छुट दिएको कारणले व्यापारीहरु भन्सार मूल्याङ्कनभित्र आउन नसकेको रकम हुण्डीमार्फत पठाउन बाध्य हुन्छ । नेपालमा तराईबासीहरुलाई उचित ज्ञानको कमीले गर्दा कुनै पनि समान किन्न भारतीय बजारमा जाने गर्दछन् । सो सामान आयातमा कुनै पनि भन्सारबाट रोकटोक नरहेकोले अथवा केही पैसा लिई आयात गर्न दिने भन्सार कर्मचारीका लापारवाहीका कारण हुण्डीको अवस्था सृजना हुनमा सहयोग पुगेको देखिन्छ।

देशमा सरकारी निकायहरुले आफ्नो जिम्मेवारी पुरा नगर्दा अथवा राजनीतिक दबाबका कारण व्यापार व्यवसायको बातावरण अनुकुल बन्न नदिएर अस्थिरता खडा गरी पैसा पलायन हुनमा प्रोत्साहन गर्ने ती कर्मचारी, नेता तथा व्यापारीहरु पनि हुण्डीलाई प्रोत्साहन गर्नमा जिम्मेवार देखिन्छन् ।

हुण्डीको प्रयोगलाई कसरी गर्ने नियन्त्रण ?
हुण्डी ठूलठुला सरकारी अधिकारी, व्यापारीक फर्महरु, राजनीतिक नेताहरु लगायतका सहयोगबाट संचालन हुने गरेको छ । त्यसैले, यो बन्द गराउनु निकै चुनौतिपूर्ण कार्य हो । तापनि तपशीलका केही वित्तीय साधन प्रयोग गरी नियन्त्रण गर्न सकिने देखिन्छ ।