वेलकम टु बुचानान बस स्टेसन इन द हर्ट अफ ग्लास्गो । बडेमानको डिजिटल बोर्ड अगाडि लक्जरी दुईतले बस टक्क अडियो । बिहानै मध्यलन्डनदेखि गुडेको बसले म्यानचेस्टर, ब्ल्याकपुल हुँदै स्कटल्यान्डको पर्यटकीय सहर ग्लास्गो पुगेर १० घन्टे अविराम यात्रापछि बल्ल विश्राम पायो ।
विकार विसर्जनको सुविधा बसभित्रै रहेकाले बिनासित्ति बाटोमा रोकिनुपर्ने कारण पनि रहेन । खानेकुराको प्रबन्ध भने स्वयं गर्नुपथ्र्यो । सुविधाका बाबजुत एउटै सिटमा बसेर यति लामो सफर पक्कै पनि पट्यारलाग्दो हुन्छ नै । लामो यात्राले थाकेको ज्यान यसै पनि लखतरान थियो । इन्टरनेटबाट होटल बुकिङ गर्दा दूरीको भने हमेसा भरोसा गर्न सकिँदैन । सन्ध्याकालीन परिवेशमा ग्लास्गो मध्यसहरको परिक्रमा गर्दै लगेज घिसार्दै जाँदा बल्लतल्ल एक किलोमिटर पर होटल भेटियो । मनमौजी यात्राको परिणाम थियो यो ।
खानासानाको जोहोतिर नलागी लगेजलाई कोठाभित्र हुल्नासाथ दुई भाइ बाहिर निस्कियौँ ।
घर्किंदो समय थियो । बाटोमा अघि आउँदा देखिएको रंगीचंगी बारका भावहरुले तनमन यसै छचल्किएको थियो । सडक पेटीमा लरबरिँदै हिँडेका स्कटिस मापसेकर्ता घरीघरी हामीतिर ठोक्किन आइपुग्थे । कहीँ कतै पुलिसको उपस्थिति देखिएन । निर्धक्क मद्यपानको मज्जा लिइरहेका थिए ।
यहाँका मानिसहरु लन्डनको तुलनामा निकै सहयोगी लाग्यो । पहिलो र दोस्रो दोहोरो संवादको छाप नै मेरो मगजमा छपक्कै बस्यो । हामी यस्तो बारमा छिर्न चाहन्थ्यौँ, जहाँ तडकभडक कम होस् तर रैथानेपन ज्यादा झल्कियोस् । एक जना लट्ठिएका मापसेकर्ताले सकिनसकी निकै गम खाएर एउटा पुरानो र चर्चित बारको नाम सिफारिस गरे ।
साँच्चिकै धन्यवादका पात्र रहे उनी । हामीले चाहेजस्तै रहेछ, दी ग्रोभ बार । एक पटकमा एक मान्छे मात्र छिर्न मिल्ने ढोकाको माथ्लोपट्टि काठमा कुँदेर दी ग्रोभ मात्र लेखिएको थियो सानो अक्षरमा । बाहिरबाट हेर्दा पत्यार नलाग्ने तर भित्र छिरेपछिको भव्यताले आँखा र मनलाई एकैछिन पनि बिसाउन नदिने ।
ती अनजान मापसेकर्ताले भने अनुसारको फरक स्वादका मदिराको चाङ देखेर म चकित बन्न पुगेँ । बारभित्रका परिचारिकाको वर्णनले थप उत्सुकता थुपा¥यो । व्यस्त सहरभन्दा कोल्टोमा रहेको उक्त बार उल्लेख्य रुपमा स्थानीयको जमघट हुने थलो रहेछ । हामी तिनका लागि नौला ग्राहक बनेछौँ । मोटाघाटा गोराहरुको नजर हामी पातला गहुँरङीमाथि पर्नुले पनि बिलकुलै भिन्न अनुभूति भयो ।
लामो बारसँगै जोडिएको अग्ला मेचमा बसेकाले उनीहरुसँग कुरा गर्न सजिलो भयो । हामीले त्यही नै चाहेका थियौँ । किनकि भोलिको हाम्रो गन्तव्यको कुनै टुंगो थिएन । पुरुषभन्दा महिला परिचारिका फरासिला रहिछन् । फुर्सद मिल्नासाथ हाम्रोसामु कुरा गर्न आइपुगिहाल्थिन् । नेपाल जाने ठूलो धोको रहेछ । तर धेरै टाढा भएकाले हवाई खर्च महँगो पर्ने गुनासो पोखिन्, जुन कटुसत्य थियो ।
जम्बो दुई गिलास बियर पिई नसक्दै विस्तारसँग जानकारीमूलक शब्दहरुको आदानप्रदान भयो । उनैको सिफारिसमा उनी आफूसमेत नपुगेको नौलो ठाउँ आइले आइल्यान्ड भोलिको हाम्रो गन्तव्य बन्यो । एक ठाउँमा एक रातमात्र बास बस्ने हाम्रो उद्देश्यअनुरुप ग्लास्गोलाई एकाबिहानै बिदा गर्यौँ । पुनः बुचानान बस स्टेसनमा गएर समुद्री किनाराको अन्तिम बिन्दुमा रहेको क्याम्पबेल टाउनसम्मका लागि उस्तै बसमा रवाना भयौँ ।
क्षणभरमै ग्लास्गोका गल्लीजस्ता लाग्ने सडकहरु पार गर्दै बसले आफ्नो रफ्तार समायो । हरिया घाँसहरुलाई सूक्ष्म वर्षाले प्यास मेटाइदिइरहेको थियो । मानव बस्तीदेखि जति दूरी बढ्दै जान्थ्यो, उति प्रकृति प्रफुल्ल देखिन्थ्यो । दूरदराजका दृश्यहरुलाई भाइ अजय भिडियो क्यामेरामा कैद गर्दैथिए । म भने नयनभरि थुपार्नमै निमग्न थिएँ । मौसममा निश्चलता हुँदो हो त अझै कति परसम्मका दृश्य देखिने थियो । नागबेली सडकले एउटै समुद्रको किनार र दरारलाई अचम्म लाग्ने गरी घरी दायाँ त घरी बायाँ पार्थे । प्रकृतिको रसास्वादनमा भुलेर होला, तीन घन्टाको सफर निकै साँघुरो लाग्यो ।
पेनिनसुला आकारमा पसारिएको क्याम्पबेलको केनाक्रेग बन्दरगाह छेउमा बडेमानको नौका तयारी अवस्थामा रहेछ । टिकट काउन्टरमा पुग्नासाथ त्यहाँका स्टाफले टिकट र बोर्डिङ लिएर फटाफट जान सुझाए । सायद छुट्ने तरखरमा थियो । दुईतर्फी टिकटको प्रतिव्यक्ति १४ पाउन्डमा जहिले फर्किए पनि हुने रहेछ । सिमसिम झरीको पर्वाह नगरी लामो भर्याङ पार गरी नौकाभित्र प्रवेश गर्यौँ । कुनै भव्य महलभित्र छिरेको भान भयो । निकै ठूलो हलमा फराकिला सोफाहरु सजिएका थिए । ती यात्रुको विश्रामका लागि राखिएको रहेछ । दायाँबायाँ झ्यालतिर बसेर दृश्यपानका लागि आरामदायी कुर्सीहरु थिए । माथिल्लो तलामा खुल्ला छत थियो । लस्करै मेचहरु थिए । जहाँबाट निकैपरसम्मका सिनारियो नियाल्न सकिन्थ्यो । त्यतिखेर दूरबिनको अभाव निकै खड्कियो ।
मुनिको अर्को तलामा उस्तै आरामदायी विश्राम गर्ने स्थान अनि रेस्टुरेन्ट र बारहरु थिए । त्यसभन्दा तलतिरको दुई तलामा भने सामान र मोटरहरु मिलाएर राखिएका थिए । ती मोटर कारहरु अर्को टापुमा पुगेपछि पुनः गुडाएर लाने गर्दा रहेछन् । कार, भ्यान, लरी गरी झन्डै २५ भन्दा बढी सवारी साधनहरु राखेको देखेर अचम्म लाग्नु स्वाभाविकै थियो हाम्रा लागि । पहिलो पटक यति ठूलो नौकामा चढेका जो थियौँ ।
आफ्नै मन्द रफ्तारमा पानीको लामो छाल छाडेर कुदिरहेको कालम्याकको फिनलागन नौका कुनै सजीव वस्तुजस्तै लाग्थ्यो । जसले सयौँ यात्रु अनि साधनहरुलाई निर्बाध रुपमा बोकेर हिँडिरहेको थियो । करिब तीन घन्टाको सामुद्रिक यात्राका दौरान दूरदराजमा जे जति देखिए, ती बहुमूल्य मेमोरी थिए, जुन जीवन रहेसम्म मनमथिंगलबाट कहिल्यै डिलिट हुनेवाला थिएन । अझ, लामो ह्विस्कीको इतिहास बोकेको क्षेत्रमा यसरी घुम्दै गर्दा विशाल नौकाको छतमा बसेर पिउँदाको क्षण दुर्लभ बन्नेछ । त्यसको पनि भरपूर अनुभव भयो । अगाडि पछाडि र तल माथि गर्दागर्दै आइले टापुको अस्केग बन्दरगाह आइपुगिसकेछ । यो नै फिनलागनको अन्तिम गन्तव्य थियो ।
बिलकुलै नौलो भूभागमा प्रवेश गर्दाको महसुस म गर्न सक्थेँ तर व्यक्त गर्न सक्दिनथेँ । केहीछिनको पर्खाइपश्चात लोकल बसमा चढी हाम्रो फेरि अर्को प्रकारको अज्ञात गन्तव्यको यात्रा सुरु भयो । एकपछि अर्को सुन्दर प्रकृतिको पदार्पण । ससाना गाउँहरु । चारैतिर नयनले तुर्न नसकिने हरिया फाँट र खेतीहरु । बाहिर एकाध मात्र देखिने मानिसहरु । बसमा चढ्नेमा प्रायः स्कुले केटाकेटी अनि प्रौढ देखिए । चालकको नम्र बोली र यात्रुको हार्दिक भाषाले मेरो मगजलाई हायलकायल बनाइदियो । सबै जना कति धेरै अनुशासित थिए । लाग्यो, पृथ्वीमा यस्तो भूगोल पनि छ र ?
बसमा एक हुल स्कुले बच्चाहरु उक्लिए । साथमा एक जना मिस पनि थिइन् । हामीसँग केही मुठा नेपाली प्रिन्टका सिसाकलम थिए । उपयुक्त लागेर बाँड्ने जमर्को गरेको, धेरैले लिन अनकनाए । किन लिन मानेनन् ? यस विषयमा हामी आफैँ अनभिज्ञ थियौँ ।
बमोरको बजारमा पुग्दा सन्ध्या छाउने तरखरमा थियो । तर घडीले भने मात्र चार बजाउँदै थियो । यो आइलेको राजधानी रहेछ । मौसम ढुस्स परेर रिसाएजस्तो अनि रमरमी चिसो सिरेटो सन्किरहेकै थियो । सफा सडकमा मान्छेको चकमन्नताले मनमा अन्योल सिर्जना ग¥यो । यो कस्तो मृत राजधानी ?
सुदूर पश्चिमी स्कटल्यान्डको आइले द्वीप जुन स्कटल्यान्डकै पाँचौँ ठूलो हो । ४० किलोमिटरको उत्तर दक्षिण लम्बाइमा फैलिएको यसको जम्माजम्मी भूभाग ६ सय २० वर्ग किलोमिटर छ । राजधानी बमोरको जनसंख्या आठ सय चानचुन छ भने आइले द्वीपभरि ३२ सयको हाराहारी । अनि पो सडकमा मान्छे देख्न समेत दुर्लभ हुने रहेछ ।
यसलाई गाउँ भन्ने कि बजार ? प्रशस्त लिखित सन्दर्भ अनुसार यो पहिलो शताब्दीतिरको बस्ती रहेछ । योजनाबद्ध रुपमा बनेको बमोर प्रागैतिहासिक बन्दोबस्ती गाउँ हो । जहाँ आफ्नै खाले लामो धार्मिक उत्सवहरु हुने गर्छन् । यहाँको मुख्य आर्थिक गतिविधिमा कृषि पेसा र त्यसबाट उत्पादित जौ नै हो । जौबाट बनाउने यहाँको सिंगल माल्ट ह्विस्की विश्व विख्यात छ । सिजन अनुसार यो स्थान विभिन्न खाले चराहरुको हेरविचार गर्ने थलोका रुपमा समेत परिचित रहेछ ।
एकनासका दुई तले घरहरु देख्दा नेवारी बस्तीको झझल्को दिन्थ्यो । पसल, रेस्टुरेन्ट, लज, घर सबै तिनैभित्र पर्ने भएकाले पहिचान गर्न मुस्किल पर्थ्यो । सुनसान दोहोरो बजारको उत्तरपट्टि मुख्यमार्गमै माछा आकारमा ठडिएको पुरानो किलारो चर्च रहेछ । बजारको पूर्वतिर भने निकै पुरानो बमोर रक्सीभट्टी देखियो । जसको पहिचान राजधानीको नामसँग जोडिएको छ ।
हामीले बुकिङ गरेको लज टारबर्ट हाउस बीच बजारमै परेछ यसपटक । खोज्नलाई सास्ती खेप्नु परेन । सानो भए पनि ठाउँजस्तै अति सुन्दर कोठा थियो । सिजनमा भएको भए १ सय २० पर्ने कोठाभाडा अफसिजनमा भएर ६० पाउन्डमा दिएको भन्थे लजका मालिक गोरागोरीले ।
खानापिनाका लागि केही गल्ली चाहार्दा सोधपुछका लागि मानिस पनि नभेटिने । बडो मुस्किलले एकाध रेस्टुरेन्ट भेटिए । सानो ठाउँ, थोरै जनसंख्या अति शान्त परिवेश आइले द्वीपको पहिचान थियो । हामी जहाँ जान्थ्यौँ, स्थानीयहरु चाखपूर्वक नियाल्थे र हामीसँग परिचय गर्न तम्सिन्थे । नेपाल भन्नासाथ गहिरो सदभाव राख्थे र मर्नु अगाडि एकपटक पुग्नैपर्ने देश भन्थे । यो हाम्रा लागि अत्यन्तै सुखद सम्मान थियो । एक–दुई जना यस्ता वृद्ध पनि भेटिए, जसले सन् १९७० तिरको हिप्पीकालमा नेपाल भ्रमण गरेका रहेछन् । जतिखेर हामी जन्मेकै थिएनौँ, त्यतिखेरको काठमाडौँको कथा हामीलाई सुनाएर चकित पारिदिए ।
समय यस्तरी कुदिरहेछ कि हामीले उसलाई भेट्न हम्मेहम्मे परेको छ । सबेरैदेखि साँझसम्म तन, मन, धन सबैसबै फैलाउनु परेको छ । यही ठाउँमा फेरि अर्को पटक आउने भनेको सायद सपनामा मात्र हुन सक्छ । त्यसैले सक्दो समयको सदुपयोग गर्नुपर्नेछ । लखतरान ज्यानलाई रातको केही प्रहरमा आराम दिएर फेरि उज्यालो हुनासाथ कुद्ने हतारो हुन्छ ।
ब्रेकफास्टपश्चात सन् १७७९ मा स्थापित बमोर भट्टीको बाहिरी अवलोकन गरिसकेर दोबाटोमा गई बसको प्रतीक्षामा बस्यौँ । मोबाइलको एप्समा देखाए अनुसारको निर्धारित मिनेटमै बस आइपुगे । आजको अर्को रोमाञ्चक यात्राको सुरुवात भयो । अगाडि अनि दायाँबायाँ देखिने सरल दृश्यहरुको कलकलले मन आह्लादित बन्यो ।
बसमा पाँच–छ जना यात्रुमात्र थिए । वृद्ध चालक फरासिला रहेछन् । म्यानचेस्टरका बासिन्दा उनी यतै घरजम गरिबसेका रहेछन् । भन्दैथिए, ‘मलाई आइलेले मोहनी लगायो ।’ उनले हामीलाई आफू नजिकै बस्न लगाएर पथप्रदर्शक जसरी त्यस स्थानबारे जानकारी दिई नै रहे । एकनासे जंगलको बीच सडकमा बस रोकेर समेत गफ दिन छाडेनन् । हामी अलमलमा पर्यौँ ।
जंगलको मध्यभाग भएर पूर्वतिर जाने सहायक मार्ग देखाउँदै हामीलाई ऐतिहासिक डिस्टिलरी उद्योग जाने बाटो देखाइदिए । कुनै युगमा अंग्रेजहरुले संसारभर आफ्नो प्रभुत्व जमाएको त्यसै हैन रहेछ । अनकन्टारका वृद्धवृद्धाहरुले समेत नेपालबारे जानकारी राखेको देखियो । तर यतिबेला नेपालका मानिसहरुमा भने नैतिकता र इमानदारी क्षीण हुँदै गइरहेको देखिन्छ । उबेलाको जस्तो नेपाल अहिले कहाँ पो छ र ?
करिब तीन मिनेटको पैदलपछि सन् १८१५ मा स्थापित ल्याफरोइज सिंगल माल्ट ह्विस्की उद्योग सामुन्ने देखापर्यो । अग्ला छिर्कने वनले छेकेको भएर नजिकै पुग्दा समेत नदेखिएको रहेछ । प्रति व्यक्ति १० पाउन्ड तिरेर मात्र प्रवेश पाइँदो रहेछ । यस उद्योगभित्र छिरेपछि एक जना गाइडको व्यवस्था हुन्छ । उसैले अब सविस्तार वर्णन गर्छ यहाँको बारेमा ।
सुन्दर समुद्री दरारको चट्टानी खोपीमा अवस्थित यो उद्योगको उत्पादन विश्कै पुरानो र महँगोमध्येमा पर्छ । १० वर्षदेखि ४० वर्षसम्मका पुराना रक्सी यहाँ पाइन्छ भने यसको अल्कोहल मात्रा ४० देखि ५५ प्रतिशतसम्म हुने गर्छ । जति वर्ष पुरानो हुन्छ, त्यही अनुसार महँगो हुँदै जान्छ ।
यसको खास विशेषता भन्नु नै स्थानीय रुपमा उत्पादन गरेको शुद्ध जैविक जौलाई धेरै तहमा केलाएर रस निकाल्नु हो । परम्परागत तवरले बाह्य वातावरणमा कुनै असर नपर्ने गरी घोडाका गुइँठा र कोइलाबाट जौलाई लामो समयसम्म बन्द कोठामा अद्वितीय धुवाँमा बफाएर राखिन्छ । बेलायतका राजकुमार चार्ल्स पनि यस्तो प्रक्रियादेखि प्रसन्न भएको कुरा यहीँभित्रको संग्रहालयमा उल्लेख गरिएको छ ।
ल्याफरोइजको १५ वर्ष पुरानो रक्सी चार्ल्सको सबैभन्दा मनपर्ने पेय रहेछ । यो उनको बुबा वेल्सको पनि प्रिय पेय थियो रे । यस उद्योगमा प्रिन्स चार्ल्सले सन् १९९४ र २००८ गरी दुई पटक प्रत्यक्ष भ्रमण गरेका रहेछन् । सुन्दा सामान्य लागे पनि ल्याफरोइज ह्विस्की बनाउने प्रक्रिया निकै लामो रहेछ । स्वच्छन्द हावापानीको विशाल कम्पाउन्डमा फैलिएको मुख्य भवनभित्रको संग्रहालयले दुई सय वर्षअघिका उपकरणबारे यथेष्ट जानकारी दिन्छ । जसले एउटा छुट्टै इतिहास निर्माण गरेको छ । त्यहाँ पुग्दा सपिङ मलभित्र छिरेजस्तो पनि लाग्छ । स्थानीय भेडाका ऊनबाट बनेका मफलर, टोपी, झोला, स्वेटरजस्ता सामग्रीमा ल्याफरोइजका मालिकको हस्ताक्षरसहित किनेर लैजान पाइन्छ । जुन उपहार र चिनोका लागि उत्तम हुने रहेछ ।
विश्वको नम्बर एक आइले माल्ट ह्विस्की सयौँ वर्ष पुरानो गोदाममा हजारौँ काठको ब्यारेलहरुमा भण्डारण गरेर राखिएको छ । एउटै गोदाममा १० हजार ब्यारेल भएको जानकारी दिए ल्याफरोइजका गोरे गाइडले । यसको वार्षिक उत्पादन क्षमता २६ लाख लिटर रहेको छ । उद्योग नजिकै रहेको आइलेकै ठूलो बन्दरगाह पोर्ट अफ एलेनबाट यो दुर्लभ रक्सीलाई विश्वका ठूला बजारहरुमा पठाउने काम हुँदो रहेछ । जसले संसारभरिका रक्सी पारखीहरुको प्यास मेटाइदिएको छ ।
हामीलाई १५ वर्षे पुरानो माल १५ एमएल चाख्न दिएर जिब्रो जिस्काइदियो मात्र । तर पछि ५० एमएलको सानो एकएक सिसी उपहार पनि दिए ।
यस्तै ऐतिहासिक र चर्चित भट्टीहरुका कारण यहाँका बारीहरु बाँझा छैनन् । कृषकहरु बेफुर्सदिला छन् । आम्दानीको स्रोतमा बढोत्तरी भइरहेको छ । साथै पेयपर्यटनले महँगा पर्यटकहरुको गन्तव्य बनेको छ । अनकन्टार र सानो द्वीप भए पनि रक्सीकै कारण आइले विश्वविख्यात छ । यहाँको राज्य आर्थिक रुपमा सम्पन्न छ । मानिसहरु खुसी छन् । एकदमै अनुशासित छन् ।
आज नेपाल सुन्दर र अथाह सम्भावना हुँदाहुँदै पनि निकै पछाडि छाडिएको छ । हामी वार्षिक रुपमा विदेशबाट अर्बौंका यस्तै रक्सी भित्र्याउने गर्छौं, जसबाट आएको करोडौँ राजस्वमा मख्ख पर्छांै । आफ्नो जमिन बाँझो राखेर मानवशक्तिलाई अधिक विप्रेषणका लागि विदेशतिर धकेल्छौँ । आम्दानीका स्रोत अनेकन् भएजस्तै स्थानीय स्तरमा उत्पादन हुने वस्तुलाई ब्रान्डिङ गर्न सके नेपालले पनि धेरै कुरामा तरक्की गर्न सक्थ्यो कि !