८ वर्ष पहिलेको १२ सेप्टेम्बर पहिलो साता कम्बोडिया जाने अवसर मिल्यो । राजधानी नोनपेनको कार्यक्रम तालिका निकै व्यस्त थियो । तर जति नै व्यस्त भए पनि कम्बोडियामा 'मानव वधशाला' नहेर्नु असम्भव थियो । पोलपोट शासनकालमा (सन् १९७५-१९७९) मारिएका लाखौँ नागरिकबारे पहिले पनि सुनिएकै हो । विश्वका कुख्यात जेनोसाइडहरू । त्यसैले मन कार्यक्रममा मात्र अडिएन । समय मिलाएर हामी केही नेपाली नोनपेन नजिकैको 'चोइङ इक' मानव वधशाला जाने कार्यक्रम बन्यो । नोनपेनमै काम गर्ने एकजना नेपाली आईटी इन्जिनियरले यात्राको व्यवस्थापन गर्ने जिम्मेवारी लिए ।
सन् १९९२ सेप्टेम्बरको एक साँझ मैले काठमाडौंमा पहिलोपटक पोलपोटका विषयमा सुनेको हुँ । विश्व कम्युनिस्ट आन्दोलनको इतिहास जान्ने एकजना कम्युनिस्ट गुरुको प्रशिक्षण थियो । हामी केही विद्यार्थी प्रशिक्षणमा थियौँ । जहाँ चेयरमेन माओको सांस्कृतिक क्रान्ति, काका हो चि मिन्हको भियतनाम प्रतिरोध, कोरियाली नायक किम इल सुङको जुछे विचारधारासँगै पोलपोटको 'लाल खमेर' सम्बन्धमा परिचर्चा भयो ।
त्यो दिन गुरुले क्रान्तिनायकका रोमाञ्चक कथा सुनाए । जस्तो : असाध्यै अनिकालमा माओ पुराना छालाका जुत्ता उमालेर सुप पिउँथे । भियतनाम युद्धमा काका हो चि मिन्हले एक्लै हजार अमेरिकीलाई ढालेका थिए । पालपोट त झन् त्रिकालदर्शी थिए । उनी गाउँमा बस्थे र सहरका बुर्जुवाहरूको सातो लिन्थे ।
क्रान्तिको कुरा गर्दा गुरु निकै प्रफुल्ल हुन्थे । उनी जति प्रफुल्ल हुन्थे, त्यति गमक्क पर्थे । आँखा चिम्म गर्थे । आँखीभुइँ तन्काउँथे र हातले कपाल मिलाउन थाल्थे । लाग्थ्यो, कुनै पुजारी आफ्नो आराध्यदेवको महिमा गाइरहेको छ । त्यही प्रशिक्षणमा एक युवकले पोलपोटको लालआतंकबारे प्रश्न गयो । उसले भन्यो, 'मान्छेहरू पोलपोटलाई हत्यारा भन्छन् ।' केटोले साधारण प्रश्न गरेको थियो । तर हाम्रा गुरु झडंग भइहाले । हान्ने राँगोले जस्तो रातोरातो आँखा पार्दै उनले प्रश्नकर्तालाई बेसी नै गाली गरे । 'साला बुर्जुवा' उनले यस्तै केही भने । प्रश्नकर्ता केटोको सातो गयो । गुरु रिसाउनु स्वाभाविक थियो किनभने पोलपोट उनका नायक थिए । ऊर्जा थियो । लाल ऊर्जा ।
'राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ' भन्ने पाठ सिक्दै गरेका हामी केटौलेहरूलाई जे बताइयो त्यही ठिक । हामीलाई क्रान्ति के हो थाहा थिएन । तर यति चैं थाहा थियो कि 'क्रान्तिको विरोध गर्नु जघन्य अपराध हो ।'
पोलपोटबारे सुनेको २० वर्षपछि म पोलपोटकै देशमा थिएँ । तर पोलपोटको इतिहास मैले पढेजस्तो सुनौलो थिएन । सबै उल्टोपाल्टो । जस्तो नोनपेनको सडकमा पोलपोटको नामलाई श्रद्धा गर्ने एकजना कतै भेटिँदैनथ्यो । उनी न मैले पढेजस्ता क्रान्तिकारी थिए, न त नायक नै ।
मान्छेहरू भन्थे, 'उनले निर्दोष मान्छेको हत्या गरेका छन् ।' मारिनेहरू गरिब थिए । रोगी पनि थिए । बालबालिका र आमा पनि थिए । कोही कोही त किसान थिए जो खेतमा काम गर्दागर्दै मारिए । मारिनेमा कवि, कथाकार र कलाकार पनि थिए । कस्तो बिब्ल्याँटो कुरा ?
मान्छेहरूले सुनाए, 'सहरका सुकिलामुकिला बुर्जुवाहरूलाई श्रममा लगाउने नीतिअनुसार ९० प्रतिशत नोनपेनका नागरिकलाई गाउँतिर धपाइयो ।' सहर खाली गरिए । कस्तो उदेक कि कलम बोक्नेहरू फरुवा बोक्न बाध्य बनाइए । कविहरूले हलो जोत्नुपथ्र्यो । प्रेमपत्र लेखेबापत प्रेमीहरू गाउँबाट लखेटिन्थे । पार्टी कार्यकर्ताहरू सर्वहारा सत्ताको जग बसाउन यत्रतत्र हतियार चलाउँदै थिए । जसले हत्यालाई प्रोत्साहन गर्दथ्यो । यत्रतत्र हत्या । नरसंहार । परिणाम यस्तो भयो कि फूलबारीहरू मानव वधशालामा फेरिएका थिए । खेलमैदान बन्द भए । स्कुल बन्द भए । सबैतिर मृत्युउत्सव चल्यो ।
हामीले नोनपेनको सडकमा हिँड्ने कुनै युवकलाई सोध्यौं, 'पोलपोटलाई कसरी जान्दछौ ?' उसले सीधा भन्यो, 'पोलपोट एक आततायी, निरंकुश र मानवताविरोधी मान्छे हो ।' पोलपोटको कुरा गर्दा मान्छेहरू दुस्वप्नबाट भख्खर ब्युँझिएझैं हुन्थे । कम्बोडियामा पोलपोट एक हत्यारा थिए । उनी इतिहासकै सबैभन्दा तुच्छ र घृणायोग्य पात्र थिए । कस्तो अनौठो कुरा ! यता हामीले जे प्रशिक्षण लियौं, उता ठ्याक्क उल्टो ।
योजना बनेको तेस्रो दिन हामी 'जेनोसाइड' हेर्न हिँड्यौं । नोनपेनका फराकिला सडक छिचोल्दै ३० मिनेटको यात्रापछि ‘चोइङ इक’ मानव वधशाला पुगियो । हाम्रो स्थानीय साथी भन्दै थियो, 'नागरिक हत्याका लागि यस्ता सयौं किलिङ फिल्ड छन् कम्बोडियामा । जसमध्ये चोइङ इक चर्चित मानव वधशाला हो ।' जान्नेहरू भन्थे कि त्यो सब हेरिरहँदा विचित्रको अवस्थामा प्रवेश गर्छ मान्छे । जस्तो कोही मौन हुन्छन् । कोही रुन्छन् । कोही कसैलाई सरापेजस्तो गर्छन् । कोही भगवान्को नाम लिन्छन् । मानव सभ्यताको कालो इतिहासले मान्छेलाई पूरापूर स्तब्ध र भावुक बनाउँछ । प्रतिव्यक्ति पाँच अमेरिकी डलर तिरेर 'वधशाला'को गेटभित्र प्रवेश गर्दा पानी परिरहेको थियो ।
गेटमै एउटा ब्रोसर, फिल्डको नक्सा र आवश्यकताअनुसार विभिन्न भाषामा सुन्न सकिने ‘गाइड मेसिन’ पाइन्छ । त्यही बोकेर हामी अगाडि बढ्यौं । बिहान ९ बजेको समय । सयौं मान्छे अगाडि बढ्दै थिए । भित्र प्रवेश गर्नासाथ चोकमा उभिएर मैले सुन्ने यन्त्रमा एक थिचें । आकाशबाट देवदूतले बोलेजस्तो गम्भीर स्वर कानमा ठोकियो । ऊ भन्दै थियो, 'मानव वधशालामा तपाईंलाई स्वागत छ । म एक भाग्यमानी कम्बोडियन हुँ । किनभने म बाचेँ । तर मेरा सबै आफन्त मारिए । म कसरी बाँचे ? मलाई नै थाहा छैन । आज म तपाईंलाई इतिहासको त्यो कथा सुनाउँछु जसमा मेरा लाखौं बन्धु मारिएका थिए ।' हैट्, कति भयंकर सुरुवात !
मलाई लाग्यो, लाखौं आफन्त मारिएको कथा सुनाउने तागत कसरी आयो होला यो मान्छेमा ? उसले सुनाएको कथा सय वा दुई सय वर्षअगाडिको थिएन । यो त मेरै उमेरको कथा थियो । त्यो बेला मारिने साना नानीहरू कम्बोडियाको सडकमा खेल्दा म पनि नेपालको कुनै गाउँमा उसरी नै खेल्दै थिएँ । उता ऊ मारियो, यता म बाँचेँ । त्यसैले आज म उसको इतिहास सुन्दै छु । यस्तो इतिहास जसलाई सुन्न पनि तागत चाहिन्छ । बिहानै बे्रकफास्ट टेबलमा किलिङ फिल्ड घुम्न जाने कुरा गर्दा रोमबाट आएकी एक भद्र महिला एनालिजा भन्दै थिइन्, 'म त्यहाँ जान सक्दिनँ केशव । किनभने त्यो सब हेर्ने तागत मसँग छैन ।'
हामी वधशालाको प्रवेशद्वारबाट २० कदम अगाडि बढेर दाहिनेतिर लाग्यौँ । म आफू उभिएको ठाउँमा जुन नम्बर लेखिएको छ सुन्ने यन्त्रमा त्यही नम्बर दबाउँथेँ । अनि सुरु हुन्थ्यो कथावाचन ।वनमा झरी परेजस्तो आवाजमा कसैले मेरो कानभित्र इतिहासको त्रासद कथा सुनाउँथ्यो । ऊ भन्दै जान्थ्यो, म अगाडि बढ्दै जान्थेँ । उसले सुनायो, 'तिमी अहिले जुन ठाउँमा उभिएका छौ, त्यहाँ ट्रकबाट जिउँदा मान्छे झारिन्थे । हरेक दिन र हप्तौं त्यसो गरिन्थ्यो । उनीहरूका हात बाँधिएका हुन्थे । उनीहरू भोका र प्यासी हुन्थे । उनीहरू किन यहाँ ल्याइए रु उनीहरूको कसुर के हो ? कसैलाई थाहा हुँदैनथ्यो । उनीहरूलाई बन्चरो, खुर्पा, झम्फल वा घनले हानिन्थ्यो । दिनभरि मार्दा पनि काम सकिँदैनथ्यो र बाँकीलाई अर्को दिन मार्न राखिन्थ्यो ।'
हे प्रभु ! के त्यस्तो भएको होला र ? हाम्रो गाइडले भन्यो, 'हो हो विश्वास गर, यो सत्य हो ।' आवाज आइरह्यो, 'अहिले तिमी उभिएको ठाउँ सामूहिक चिहान हो । दुई सय मान्छेलाई यहाँ गाडिएको भेटियो । देशभरि यस्ता चिहान सयौं छन् । आमाको छातीमा टाँसिएर दूध चुस्दै गरेका साना नानीहरूको कंकाल समेत भेटिएको थियो ।' ओहो कति निर्मम हत्या ! यो सब सुनिरहँदा मनमा धेरै कुरा आए । मेरो देश, मेरा मान्छे, मेरो इतिहास ।
साना नानीहरूको हत्याको कथा सुनिरहँदा मलाई मेरा छोराछोरीहरूको सम्झना आयो । म एकैछिन डराएँ । मेरो कानमा ठोकिने आवाज कहिले तीव्र हुन्थ्यो । कहिले सिरसिर बतास चलेजस्तो सुसाउँथ्यो । उसको आवाजको लयमा म अगाडि बढ्दै गएँ । अलिकति अगाडि सयौं मान्छे काटिएको ठाउँ आइपुग्यो । अर्धमृत मान्छेमाथि डिडिटी पाउडर छर्किने ठाउँ । त्यो भन्दा केही अगाडि अजंगको रूख देखियो । राति रूखको आडैमा जेनेरेटर चलाइन्थ्यो रे । चर्को स्वरमा खमेरुज क्रान्तिका गीत घन्काइन्थ्यो र हत्या सुरु हुन्थ्यो । निर्दोष नागरिकको पीडा जेनेरेटरको हल्ला र माइकको चर्को स्वरसँगै बिलाउँथ्यो । यो सब सुनिरहँदा मलाई इतिहासमाथि नै घृणा जाग्यो । बान्ता होला जस्तो भयो । काम छुट्ला जस्तो भयो । मनको देब्रेतिरबाट आँधी आयो । नरकंकाल नजिकैबाट हिँड्दा मान्छे कसरी शान्त रहन सक्छ र ?
'मानव वधशाला' को आधा फन्को लगाउँदासम्म मैले कम्बोडियाली इतिहासका दर्जनौं पीडा देखेँ र सुनेँ । गहिरा सामूहिक चिहान, खप्पर, हड्डी र हत्याको जिउँदो साक्षी भएर ठिंग उभिएका रुखहरू । लगभग आधा बाटो छिचोलेपछि ठिक सामुन्ने एउटा अग्लो र मोटो रुख आउँछ । रुखको फेदमा हजारौ रंगचंगी धागाहरू बाँधिएका देखिन्छन् । त्यहाँ आइपुग्दा आवाजले कानमा साउती मारेझैं भन्छ, 'यो केटाकेटीहरू मार्ने ठाउँ हो । यहाँ ३ देखि ५ वर्षसम्मका केटाकेटीहरू रूखमा बजारेर मार्ने गरिन्थ्यो । टहटह जुन लागेको रात, आमाको दूध चुस्दै गरेका नानीहरूलाई यही रूखको फेदमा बजारिन्थ्यो ।'
नजिकै उन्खननमा भेटिएका मृत बच्चाका कपडा थुपारिएको छ । यो सब हेर्दा मन बेचैन हुन्छ । मृतकका नाममा प्रार्थना गर्न र श्रद्धाले रंगीन धागो चढाउन मन लाग्छ । त्यहाँ हेर्नुपर्ने अझै धेरै कुरा छन् । अथवा भनौँ हेर्नै नपर्ने कुरा धेरै छन् । तर इतिहास नहेर्ने छुट कसरी पो पाइन्थ्यो र ? जस्तो : त्यहाँ ठूलो म्युजियम छ, जहाँ पुगेर इतिहासका साक्षीहरूसँग भेट्न सकिन्छ । त्यहाँ फोटो प्रदर्शनी छ, जहाँ फोटाहरू रुँदै इतिहासको गीत गाउँछन् । त्यहाँ हत्यामा प्रयोग भएका हतियार, मृतकका कपडा, मानव कंकाल, साक्षीका बयानसहितका डकुमेन्ट्री छन् ।
र, अन्त्यमा छ मुख्य स्तम्भ । स्तम्भ नौतले मानव खप्परको अग्लो हिमाल हो । हजारौं मानव खप्पर राखिएको यो स्तम्भ मानव वधशालाको अन्तिम अवलोकन स्थल हो । त्यो हेरिसकेपछि मन भरिएर आउँछ ।
अब न त केही खान मन लाग्छ न त केही हेर्न नै । त्यसपछि 'मानव वधशाला' को यात्रा सकिन्छ । तीन घन्टाको यात्रा । त्यसो त तीन घन्टा निकै छोटो समय हो । तर 'मानव वधशाला'को प्रभाव जिन्दगीभरका लागि हुनसक्छ । एउटा अविस्मरणीय, उथलपुथलपूर्ण र बोझिलो प्रभाव । यो इतिहासको यस्तो घाउ हो, जसमा अझै खाटा बसेको छैन ।
हामी त्यहाँबाट निस्कियौं, चुपचाप र शान्त भावमा । एक मित्रले सोधे, कस्तो लाग्यो ? मसँग उनलाई दिने जवाफ थिएन । म निःशब्द थिएँ । तर मनभित्र आँधी थियो । मानौँ, म अग्निकुण्डबाट निस्कँदै छु । आगो दनदनी बल्दैछ । जसले मेरा पुराना पाठशाला, किताब र ज्ञानलाई जलाउँदैछ । बस् म मात्र बाँच्नेछु । मलाई लाग्यो, यो संसारमा म एक्लो हुँदैछु ।
मैले पढेको राजनीतिक इतिहास, मेरो आस्थाको संसार र मेरा गुरुहरूको ज्ञान सबै सबै डढेर खरानी भइसके । मनमा प्रश्न उठ्यो, कम्बोडियामा मारिएका तीस लाख मान्छेको हत्याको मूल्य के होला ? मैले मेरो भगवान्सँग अनुरोध गरेँ, 'प्रभु, यो इतिहास कहिल्यै नदोहोरियोस् ।'