आज के के खुलायो सरकारले ?

आज के के खुलायो सरकारले ?
फाइल फोटो ।

काठमाडौं । सरकारले चरणबद्ध रुपमा लकडाउन खुलाउने निर्णय गरेसँगै आजबाट २१ ओटा सेवाहरु खुलेका छन् । 

जसमा, स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिक पूर्ण रुपमा खुल्ने भएको छ । त्यस्तै, औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी, पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण, फोहोरमैला व्यवस्थापन, विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा खुलेका छन् । 

त्यसैगरी, बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा, सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य, कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य, उत्पादनशील उद्योग, निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय पनि आजबाट खुलेका छन् ।

विकास आयोजना (निजी क्षेत्रबाट समेत), निर्माण कार्य (निजीसमेत), नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण, रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा, क्वारेन्टिनका लागि तोकिएका होटल, बिजुलीका सामान बिक्री र मर्मत, विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप, पुस्तक पसल तथा स्टेसनरी पनि आजबाट खुलेका छन् । 

सबै प्रकारका ढुवानी सेवा, अत्यावश्यक सेवाका कार्यालय र अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी) आजबाट खुलेका हुन् ।

यी बाहेक अन्य सेवाहरु भने बन्द रहनेछन् । सरकारको यो पहिलो चरण २१ दिनसम्म लागु हुनेछ । यसैको आधारमा कोरोना भाइरसको प्रभाव मुल्यांकन गरिने र अनुकुल रहेमा मात्रै दोस्रो चरणमा जाने सरकारको निर्णय छ । 

दोस्रो चरण अन्तर्गत, सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था (सामान्यतया ७५ प्रतिशत कर्मचारी रहने गरी) खोलिने बताइएको छ ।

त्यस्तै, एक लहरमा एक जना यात्रु मात्र बस्ने गरी विद्युतीय रिक्सा, ट्याक्सी (चालकबाहेक थप दुई जना यात्रु रहने गरी) र रेस्टुरेन्ट तथा खाजाघर (व्यक्ति(व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दुरी कायम रहने गरी) खोलिनेछ । यो अवधि १५ दिनको रहने पनि सरकारको निर्णय छ । त्यसैको अध्ययन अनुसार तेस्रो चरणमा जाने या नजाने निर्णय गरिनेछ ।

तेस्रो चरणअन्तर्गत भने, सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय पूर्ण रुपा खुलाइनेछ । त्यस्तै, संक्रमणको जोखिम विश्लेषण गरी १०० भन्दा कम सक्रिय केस भएमा अन्तर जिल्ला आवागमन पनि खुलाइनेछ ।

सिट क्षमताको आधा व्यक्ति रहने गरी सबै प्रकारका सवारी साधन, आन्तरिक हवाई उडानको खुल्नेछन् ।

होटल, लज, रिसोर्ट, ट्राभल एजेन्सी, पदयात्रा, पर्वतारोहण, अन्तर्राष्ट्रिय हवाई उडानको बुकिङ, शिक्षण संस्था (परीक्षा प्रयोजनका लागि मात्र) र तालिम तथा ट्युसेन केन्द्रहरु तेस्रो चरणमा खुलाइने मन्त्रिपरिषदले निर्णय गरेको छ ।