लकडाउन हटाउन अलमल किन ?

लकडाउन हटाउन अलमल किन ?

संसारका कुनै पनि मुलुकले कोरोनाका बिरामी भेटिन नछाडेसम्म लकडाउन जारी राख्ने नीति लिएको छैन । बिना कुनै योजना र तयारी लकडाउनमाथि लकडाउन थप्नु समस्याको समाधान होइन, थिएन । त्यस्तो कार्यले सबै समस्यालाई एउटा मितिमा उत्कर्षमा पुर्याएर विस्फोटको अवस्था निम्ताउनेछ ।

अन्ततः भारत जुन हालतमा लकडाउन खोल्दै छ, हामी त्यही दिशान्मुख छौं । लकडाउनको ७६ औं दिन नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ र मृतकको संख्या १४ पुगेको छ । मुलुक लकडाउनले कोरोना कन्ट्रोल हुने स्थिति बाहिर पुगिसकेको अवस्था छ । यो बेहाल लकडाउनको सदुपयोग गर्न नसक्दा बनेकामा कुनै शंका छैन । अब कोभिड-१९ सॅग अभ्यस्त रहेर जिउनका लागि तयार रहनुको विकल्प छैन । 

एकातिर लकडाउन अति लामो र दिक्कलाग्दो बनिसकेको छ भने अर्कोतिर कोभिड-१९ भर्खरै मात्र संक्रमणको चरम बिन्दुमा प्रवेश गर्दैछ । कोरोनाको नियन्त्रण र रोकथाम प्रभावकारी रूपमा गर्नुपर्ने, देशको अर्थतन्त्र जसरी पनि चलायमान गराउनुपर्ने, निसास्सिएका जनतालाई समेत स्वतन्त्र जीविकाको राहत दिनुपर्ने, लकडाउन खुकुलो बनाउनुपर्ने र विदेशबाट फर्केका आफ्ना नागरिकलाई स्वदेश आउन दिनुपर्ने अनिवार्य बाध्यता एकसाथ आइलागेको छ ।
 
संसारका कुनै पनि मुलुकले कोरोनाका बिरामी भेटिन नछाडेसम्म लकडाउन जारी राख्ने नीति लिएको छैन । किनकि त्यस्तो नीतिले अर्थतन्त्रमा मात्र ठूलो धक्का लाग्ने हैन, कोरोनाको महामारीले फैलाएको आतङ्कबीच लकडाउनको कारण पैदा गरिदिने कृत्रिम अभाव, स्वास्थ्य समस्या र अस्पतालहरू कोरोनाको मात्र उपचारमा केन्द्रित हुँदा अन्य रोगको उपचारबाट वञ्चित भएर मर्ने वा मानसिक सन्तुलन गुमाउने आदि कारण हुने क्षति सयौं गुणा धेरै बनिदिन्छ ।

जब मुलुकभर दैनिक नयाँ कोरोना सङ्क्रमित भेटिने क्रम घट्न जान्छ र एउटा निश्चित रेखामुनि पुग्ने गर्छ, त्यो बिन्दुलाई लकडाउन हटाउने समय तोक्ने गरिन्छ । यसका लागि मुलुकभर चेकजाँच चुस्त दुरुस्त हुनुपर्छ । त्यो हामीसँग छैन । सो सम्भव नरहे लकडाउन हुँदा हुने फाइदाभन्दा लकडाउन हटाउँदा हुने धेरै फाइदाको बिन्दु खोजिन्छ । 

कुनै बिन्दु नै नहेरी लकडाउन खोल्ने निर्णय लिने विकल्पका लागि पनि पालिका र वडासम्म कोरोना चेकजाँच गर्ने सुबिधा, आफ्नै घरमा आफै आइसोलेसनमा बस्ने, स्थानीय समाजले नै आफ्नो समाजमा रोग फैलन नदिन आइसोलेसनमा बसेकाको निगरानी तथा पालनपोषणको व्यवस्थापन गर्ने तरिका पनि अवलम्बन गर्न सकिएको छैन । कोही मानोस्, नमानोस्, अबको सबैभन्दा उत्तम उपलब्ध विकल्प यही नै हो।

 आशलाग्दो के भने नेपाल-भारतको मृत्युदर त्यसै पनि अन्यत्रभन्दा कम नै छ । एक लाखलाई लाग्दा ५-७ हजार मात्र मृत्यु भएको छ । त्यो पनि अन्य रोग पहिलै भएकाहरू वा खान नपाएर लामो समय भोकै परेकाहरू । त्यसैले वैज्ञानिक रूपमा मुलुक पूर्ण रूपमै खुला हुने वातावरण तयार गरौँ ।

नेपालमा कोभिड-१९ को महामारी हुँदै गर्दा सर्वसाधारणमा रहेका जिज्ञासाको प्रभावकारी निवारण हुन सकेन । यद्यपि प्रश्नहरू सामान्य थिए । जस्तै, कोभिड-१९ नियन्त्रणमा किन कहिल्यै नगरिएको लकडाउन नै गर्नुपर्यो ? लकडाउन र नेपाल बन्द एकै हो कि फरक छ ? लकडाउन कहिले कुन अवस्थामा खुल्छ ?
  
कोरोनाको औषधी नै बनेको छैन भने किन अस्पताल जाने ? सोसल आइसोलेसन किन चाहियो ?  साबुन पानी वा तातोपानी वा खरानी पानीले किन हात धुने रु सेनिटाइजर हातमा दल्नाले कसरी कोभिड-१९ बाट बच्न सकिन्छ ?  कोभिड-१९ को ओखती नै छैन भने चेक गरेर कोभिड-१९ भए, नभएको थाहा नै भए पनि के फाइदा भयो ?
 
विदेशबाट आउनेलाई रोके कोभिड-१९ नियन्त्रण हुन्छ भने आफ्नै सहरबासीलाई बन्द गरी, कर्फ्यु लगाएर किन दुःख दिएको ?  घरमै आइसोलेसनमा बस्दा के फाइदा हुन्छ ? कोरोना लाग्यो भने हुने मुख्य उपचार के हो ?  त्यो कसरी घरमै गर्न सकिन्छ ?  कुन अवस्थामा अस्पताल जान जरुरी छ र किन ?  आदि इत्यादि ।

ती मुद्दाबारे आफै प्रस्ट बनिनसकेको बेला समेत हाम्रा एकाध विज्ञहरु सोधिएका हरेक प्रश्नको उत्तर दिनैपर्ने अव्यावहारिक मनोविज्ञानबाट ग्रसित रहेको हो कि जस्तो देखियो । हामी दैनिक जीविकामा अपनाउनुपर्ने कुराहरू केके हुन् भनी विभिन्न स्रोतबाट फलाक्छौ मात्र । तर किन त्यसो गर्ने भनी चित्तबुझ्दो कारण दिन सक्दैनौ । त्यो अवस्थामा विज्ञले हात धुनु भनेको छ, त्यही भएर हात धुने ? विज्ञले घरबाट ननिस्कने भनेको छ, त्यही भएर ननिस्कने ?  यस्तो पाराले समाज बदल्न खोज्दा नतिजा हात लागेन ।

समाजका केही सचेत नागरिकहरूले विज्ञहरुलाई हामीले यति ठूलो मूल्य चुकाएर यो बन्द जस्ता काम किन गर्नुपर्यो ?  हाम्रो सामाजिक परम्परालाई हामीले किन थाती राख्नुपर्यो अनि यो बन्द कहिलेसम्म जारी रहन्छ जस्ता कुराको चुरोमा नपुगी विज्ञहरूबाट आउने अन्टसन्ट उत्तर हरेक दिन बदलिन्छ । एक झुट छोप्न अर्को झुट बोलिन्छ । 

सही नियतले नै काम गरिरहेको किन नहोस्, सर्वसाधारण मानिसहरुको उनीहरूप्रति विश्वास टुट्छ । भनिएका कुरामा विश्वास नरहेपछि समाजले पालना गर्दैन नै । कानुन भनेको बहुसङ्ख्यक जनताको मान्यताको प्रतिबिम्ब हो । जब भनिएका कुरा बहुसङ्ख्यक जनतामा विश्वास रहन्न, तब त्यो कानुन कागजमा मात्र सीमित हुन्छ । दिइएका आदेशहरूले नैतिक र कार्यगत हैसियत गुमाउँछ ।

यस्ता गतिविधिहरूले सोसल मिडियामा रोगको शुरु समेत नबुझेकाले समेत सरकारलाई मनपरी गाली गर्ने, सबैको खिल्ली उडाउने लहर सुरु गराउँछ । र, 'ओरालो लागेको मृगलाई बाच्छाले समेत खेद्छ' भन्ने उक्तिले प्रतिनिधित्व गर्छ । सबभन्दा ठूलो त्रुटि उच्च ओहोदामा रहेका विज्ञ मानिएका वर्गको सुझबुझमै देखियो । त्यसले खोट भने राजनेता र कुरुक्षेत्रमा भिडेका वास्तविक स्वास्थ्यकर्मीको काँधमा थमाइदियो । 

नेपालमा मात्र हैन, सम्पूर्ण विश्व नै यति बेला कोरोना भाइरसको कारण समस्यामा छ । आर्थिक हिसाबले विश्वका सबैजसो देश ठप्पजस्तै बनेका छन् । सबैजसो देशका आर्थिक गतिविधि ओरालो लागेको छ । स्वास्थ्य क्षेत्र र खाद्य क्षेत्रबाहेक प्रायः सबै व्यापार धन्दा समस्यामा छन्। नेपाल पनि उक्त समस्याबाट मुक्त हुने अवस्था छैन, रहने पनि छैन।
 
मुलुक विगतमा लकडाउनमै गए पनि मुलुकबासीको खाद्यान्न, स्वास्थ्य सामग्री र अत्यावश्यक उद्योग व्यापार र  गतिविधिहरू कुनै पनि हालतमा बन्द गरिनु हुन्थेन । यसले बिस्तारै सर्वसाधारणलार्इ लकडाउनको अवज्ञा नगरी बच्न नै नसक्ने बिन्दुमा पुर्याइदियो । बिना कुनै योजना र तयारी लकडाउनमाथि लकडाउन थप्नु समस्याको समाधान होइन, थिएन । त्यस्तो कार्यले सबै समस्यालाई एउटा मितिमा उत्कर्षमा पुर्याएर विस्फोटको अवस्था निम्ताउनेछ ।
 
जनस्तरमा लकडाउन के हो र किन गरिएको हो भन्ने राम्रो चेतना आजसम्म पनि पुगेको छैन । नेपालमा पहिले पहिले हरेक दिनजसो बन्द, हडताल घोषणा हुने गर्थ्यो । नेपालका जनता बन्द आयोजकलाई छली छली आफ्नो दैनिकी पूरा गर्थे । एउटै इरादा हुन्थ्यो। आफू जहाँ गइरहेको छ, त्यहाँ जाँदा बन्द आह्वान गर्नेहरू नभेटिउन् । देखिए भने उनीहरूलाई केही गरी छल्न वा मनाउन सक्दा सबै ठिकठाक भइहाल्थ्यो ।

धेरैजसो जनताले लकडाउनलाई अझै पनि सरकारले थोपरिदिएको नेपाल बन्दको हैसियतमा लिएको स्पष्ट इन्डिकेटर देखिएका छन् । हुन पनि कोरोनाको बेला नेपालमा गरिएको लकडाउनको प्रकृति पहिले पहिले सरकारले लगाउने कर्फ्युसँग मिल्दोजुल्दो थियो र छ ।

खाद्य, स्वास्थ्य आवश्यकता तथा तिनको आपूर्तिका लागि अत्यावश्यक उद्योग व्यापार सबै रातारात बन्द गरिए । वैकल्पिक चिकित्सा र आयुर्वेदका प्रभावकारी उपायलाई राज्यको कर्मचारीतन्त्रले खेताला खोजेरै दबाउने प्रयास गर्यो । उनीहरू युट्युबबाट आयुर्वेदको पक्षपोषण गरिएका भिडियो हटाउन समेत लागे ।

लकडाउनको बेला कोभिड-१९ लागे, नलागेको जाँच्ने सामग्रीको व्यवस्था, सुरक्षा र उपचारमा पहिलो घेरामा रहने स्वास्थ्यकर्मीका लागि पीपीइ व्यवस्था, उच्च मानव चाप घटाउन सहर बस्ने कामदार र डेरावाललाई आफ्नो गाउँ सुरक्षित पुर्याउने व्यवस्था, सामाजिक दूरी कायम गर्दै अत्यावश्यक उद्योगधन्दाको वैज्ञानिक सञ्चालन गर्न गृहकार्य, विदेशबाट आउने नेपालीलाई सहज प्रवेश दिने तर सबैको स्वास्थ्य परीक्षण गरी कोरोना सङ्क्रमण नरहेको निश्चित नहुँदासम्म समाजमा हेलमेल हुन नदिने जस्ता कुनै पनि काम प्रभावकारी रूपमा सम्पन्न हुन सकेनन् । 

उल्टो सरकारका तर्फबाट गरिएको लकडाउनले सहरमा रहेकाहरूलाई सहरमै बन्दी बनाइदियो। लकडाउनको बेवास्ता गर्नेलाई गरिएको व्यवहार र थुनछेकमा सामाजिक दूरी कायम गरिएन । सामाजिक दूरी कायम नगरिएका कुटपिट, थुनछेक र कोरोनाको शङ्कामा परेकालाई राखिएको क्वारेनटाइनको दृश्य टीभी, भिडियो र सोसल मिडियामा घर बसीबसी हेरेका जनमानसमा लकडाउन भनेको सरकारले गरेको नेपाल बन्दजस्तै रहेछ भन्ने मानसिकता विकास भएको देखियो ।

दिनभर लकडाउनमा बस्ने अनि बेलुकी केही समय खुल्दा खाद्य तथा औषधि पसलमा जरुरी कुरो किन्न भिडभाड बढेर धकेलाधकेल हुन थाल्यो । परिणाम लकडाउन केटाकेटीको भाँडाकुटी  खेलजस्तो बन्न पुग्यो । कोरोना तपाईंलाई पनि हुन सक्छ र मलाई पनि । त्यसैले तपाईं मसँग र म तपाईंसँग सतर्क रहने बानी बसालौं । तपाईंको, मेरो र समग्र परिवारकै सुरक्षाका लागि । सामाजिक दूरी अनिवार्य कायम हुने गरी दैनिक व्यवहार पूरा गरौं भन्ने भावना समाजको भित्री तहसम्म स्थापना गर्न सकिएन । त्यो अवस्था अझै पनि कायम छ ।

 राजनीतिमा हाम्रो काम भोट हालिदिने हो, विकास सरकारको काम हो भन्ने हाम्रो मानसिकता कायमै छ। महामारीमा सरकारले लकडाउनमा घर बस भन्दा हामी बसिदिएकै हो, अब कोरोना भगाउने काम सरकारको हो भन्ने पारा देखिन्छ । कतिपयले त लकडाउनलाई विकसित मुलुकमा हुने कामबीचमाहुने होलिडेजस्तो रूपमा लिएर फिसिङ र सोसल ग्यादरिङ गरेरै आनन्द लिने समेत गरेको देखिन्छ । बुझेकै नागरिक कति अटेर बनिरहेछन् भन्ने सामान्य इन्डिकेटर यही हो ।

सरकारसँग कहिले लकडाउन खोल्ने भन्ने यकिन गर्ने दोस्रो तरिका त्यो पनि अनुमानको भरमा नाफाघाटा यकिन गरी निर्णय लिनुको विकल्प देखिँदैन । अब गर्नुपर्ने त्यही हो। बरू क्रिटिकल केयर चाहिए एयर लिफटिङ समेत गरी अस्पताल पुर्याउनेबारे गृहकार्य गर्नु पनि समग्र लागतकै हिसाबमा समेत किफायतीसिद्ध हुनेछ।

अब विकल्प भनेको मानिसको भिडभाडलाई नियन्त्रण गरेर उद्योग खोल्ने र आर्थिक गतिविधि जारी राख्ने नै हो । लकडाउन खुकुलो हुँदै गर्दा नागरिकले अनावश्यक भिडभाड पैदा गर्ने स्थिति आउन नदिन उनीहरूलाई नै परिचालन गर्नेबारे गृहकार्य गरी उपाय निकाल्नु हो । मुलुकभित्र कोरोनाको कारण धेरै समस्या उत्पन्न भएका छन् । अर्को पाँच वर्ष मुलुकको सम्पूर्ण जनजीविकालाई नै कोरोनाले प्रभावित पार्ने निश्चित छ । 

स्थानीय समाजलाई नै उक्त क्षेत्रमा कोरोना नियन्त्रणमा जिम्मेवार बनाउँदै नाकामा मात्र हैन, स्थानीय स्तरसम्म कोरोनाको विशेष जाँच गर्न सुविधा बिस्तार गर्न, हरेकको आफ्नै घरलाई कोरोनाको आइसोलेसन स्थल बनाउने उपाय हामीसँग बाँकी छ । समाजलाई नै कोभिड-१९ नियन्त्रणमा सरकारको निगरानीमा पूर्ण जिम्मेवारी सुम्पेर व्यवसाय बिस्तारै खुला गर्दै जाने काम जति छिटो गर्न सकिन्छ, त्यति छिटो नेपाल यो सङ्क्रमणबाट मुक्त हुने अवस्था देखिन्छ । 

स्टे सेफ,  स्टे ह्यापी ।

(लेखक घिमिरे क्यानडा निवासी खाद्य तथा औषधि विज्ञ हुन् ।)