काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको गणतन्त्र पक्षधर राजनीतिक दलहरूको बैठकले गत शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको मुख्य योजनाकार पूर्वराजा रहेको निष्कर्ष निकालेको छ।
प्रमुख नेताबीचको बैठकले संविधानविरोधी गतिविधि गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन उल्ट्याउने षड्यन्त्रमुलक गतिविधिको मुख्य योजनाकार पूर्वराजा राजा नै भएको निष्कर्ष निकालेको हो।
संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था उल्ट्याउने, नेपालको संविधानलाई नै समाप्त गर्ने कार्य भइरहेको र यस्ता षड्यन्त्रमूलक गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा भएमा सबैदलको एकमत रहेको गृहमन्त्री रमेश लेखकले बैठक पछि पत्रकारहरुलाई बताए ।
बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले संविधान, गणतन्त्रको रक्षाका लागि एकजुट भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन् । १५ चैतमा भएको राजावादीको हिंसात्मक प्रदर्शनको निष्पक्ष छानविन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने नेताहरूले सरकारलाई सुझाव दिएका छन् ।
तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा सार्वजनिक, निजी एवं व्यावसायिक घरमा तोडफोड, आगजनी, लुटपाट भएको थियो । घटनामा दुई जनाको मृत्यु हुनुका साथै सयौं जना घाइतेसमेत भएका थिए ।
बैठकमा सहभागी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले घटनाको निष्पक्ष छानविन गरी दोषीलाई सरकारले कारबाही गर्नुपर्ने सुझाव दिए । तीनकुनेको हिंसात्मक घटना पूर्वराजा ज्ञानेन्द्र शाहकै निर्देशन र योजनामा भएको बताउँदै उनले सरकारले उनीमाथि समेत छानविन गर्नुपर्ने बताए ।
गणतन्त्रवादी नेताहरू उदार भए पनि पूर्वराजा शाहले अहिलेसम्म आफूलाई राजाकै रूपमा प्रस्तुत गरेको उनले बताए । संविधानमार्फत नै राजसंस्थाको उन्मूलन गरिएको बताउँदै दलहरूकै उदरताका कारण शाह देशमा नै शान्तिपूर्ण रूपमा बस्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
‘आफूलाई राजा नै ठानेर त्यही रूपमा वक्तव्य दिने, सम्बोधन गर्ने कार्य सिधै ठगीधन्दा हो,’ भट्टराईले भने, ‘म पनि पूर्वप्रधानमन्त्री हुँ तर मैले पनि बहालवाला प्रधानमन्त्री भन्दै तपाईंहरूलाई ठग्दै लाभ लिँदै हिँडे भनें के हुन्छ ? मलाई कानुनले त कारबाही गर्छ, त्यसकारण उनलाई पनि कानुनी दायरामा ल्याएर कारबाही गरिनुपर्छ भन्ने सुझाव दिएको छुु ।’
प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत साजवादी)का अध्यक्ष माधवकुमार नेपाल भने सहभागी भएनन् । सर्वदलीय बैठक भनिए पनि संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित राष्ट्रिय प्रजातन्त्र पार्टी, आमजनता पार्टीलाई बोलाइएको थिएन । बैठकमा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष पम्फा भुसाल सहभागी भएका थिए ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता कृष्णप्रसाद सिटौला सहभागी थिए ।
यसैगरी, बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसीसहितका नेताहरूको सहभागिता रहेको थियो ।
सर्वदलीय बैठक बस्नुअघि प्रधानमन्त्री ओली र प्रमुख विपक्षी दलका नेता प्रचण्डबीच टेलिफोन संवाद भएको थियो ।