धरापमा गणतन्त्र, निसानामा नेता

धरापमा गणतन्त्र, निसानामा नेता

काठमाडौं। गणतन्त्र घोषणा हुँदा जन्मिएको बालक यतिबेला बालिग भइसकेका छन्। जतिबेला मुलुकमा गणतन्त्र स्थापना भयो, त्यो बेला गणतन्त्रवादीहरुले दिएको आश्वास व्यवहारमा लागू भएको भए नेपाल यतिबेल विकसित मुलुकमा परिणत भइसक्थ्यो। गणतन्त्र स्थापना हुँदा जन्मिएका र अहिले बालिग भइसकेका युवाहरु उज्यालो र सुन्दर भविष्यको खोजिमा विकसित मुलुकमा भौंतारिनु पर्दैनथ्यो।

मुलुकमा अग्रमागी व्यवस्थामा रुपमा प्रचार गरिएको गणतन्त्र आइसकेपछि मुलुकमै केही गर्न खोज्ने युवापुस्ता सबैभन्दा बढी निरास हुनुप¥यो। शिक्षितदेखि निरक्षरसम्म सबै युवाहरु रोजगारी खोज्न खाडी मुलुकदेखि विकसित मुलुकसम्म आफ्नो हैसियत अनुसार जानै पर्ने भयो। जनताले विदेशमा गएर रगत पसिना बगाएर पठाएको रेमिट्यान्सले मुलुक र कथित गणतन्त्रीवादी नेताहरुलाई पाल्नु पर्ने अहिलेको अवस्था र व्यवस्थादेखि जनता अब वाक्क भइसकेका छन्। 

उनीहरु सबै वर्तमान अवस्था र व्यवस्थाको विरुद्धमा उभिएका छन्। मुलुकमा गणतन्त्र स्थापना भएको यो दुई दशकमा सबैभन्दा बढी यिनै नेताहरुले मोज गर्न भ्याए। राज्यको ढुकुटीमा पँहुच बनाएका नेताहरुले देश र जनताको हितमा कहिल्यै सोचेनन्। उनीहरु  आफू, आफ्नो दल र आसेपासेको भलाइ भन्दा माथि उठ्दै सकेनन्।

तर कुनै पनि कुराले हद पार गरेपछि त्यसको विकल्प खोजिन्छ। अहिले जनताले यही गणतन्त्रको विकल्प खोज्न थालेका छन्। यही कारण आधुनिक नेपालको अढाइ शताब्दी लामो राजतन्त्रको अन्त्य गर्दै स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अढाइ दशक नपुग्दै खतराले घेरिएको छ।

राजतन्त्र समर्थक केही राजनैतिक दलहरु तथा राजतन्त्रवादी समूहहरुले केही कार्यक्रमहरु गर्दैमा गणतन्त्र स्थापनाका प्रमुख सहयात्री राजनैतिक दलहरु तर्सिएका छन्।

गणतन्त्र स्थापना भएपछि पनि आम नागरिकको स्थरमा कुनै सुधार भएको छैन जसले गर्दा नागरिकहरु राजनैतिक दलहरुप्रति आक्रोशित छन्। ‘केही नगर्ने’ राजनैतिक दलबाट आजित भएकाहरु उनीहरुको विकल्प खोज्न लालायित छन्।

दुई सय पचास वर्षको इतिहास बोकेको राजतन्त्र राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई फिर्ता दिन्छु भन्दै हाँसी हाँसी नारायणहिटीबाट बिदा भएका हुन्। राजगद्दी त्यागेर विदा हुँदासमेत म देशभित्रै बस्छु भनेका राजामात्रै नभइ राजपरिवारका अन्य सदस्यसमेत स्वदेशमा बसिरहेका छन्। तर गणतन्त्र स्थापना भएपछि सत्तामा पुगेका नेताहरुको सन्तान आज नेपालमा केही बस्नै चाहँदैनन्। 

मुलुकको यो अवस्था आउने वातावरण कसले बनायो ? यसको जवाफ जनताले खोज्न थालेका छन्। आफूलाई महाराजधिराज नै ठान्ने दलहरुका कारण आज मुलुकमा फेरि राजतन्त्रको अपरिहार्यता बढिरहेको छ। जनता सडकमा उत्रिएर ‘राजा आउ देश बचाउ’ भन्दा पनि राजा अझै पनि सबैलाई समेटेर अगाडि बढ्ने पक्षमा देखिएका छन्। 

अहिलेको गणतन्त्रप्रति आक्रोश र राजतन्त्रको पक्षमा देखिएको माहोललाई वर्तमान दलका नेताहरुले बुझेनन् भने उनीहरुका लागि त्यो निकै प्रस्तुत्पादक हुनेछ।  भ्रष्टाचारले सीमा नाघेको, जनतामा चरम असन्तुष्टि र आक्रोश भरिएका बेला दलका नेताको घैंटोमा घाम नलाग्ने हो भने अब नेपालका दलका नेताको अवस्था बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाको भन्दा पनि दर्दनाक हुनेछ। अहिले जनताको आक्रोशलाई साम्य पार्दै राजा दल दलहरु मिलेर सबै अटाउने र मुलुकलाई अगाडि बढाउने गरी सहमति खोज्नुको विकल्प छैन। 

राजा अझै पनि सहमतिकै पक्षमा रहेका छन्। तर दलका नेताले सहमति र सहकार्यको प्रस्तावलाई कमजोरी ठाने उनीहरु हेग जान तयार हुनुपर्छ। त्यो कुरा नेताहरुले बुझेको हुनुपर्छ।

अहिले गणतन्त्र पक्षधर शक्तिहरु निकै आत्तिएका पनि छन्।  राजतन्त्र समर्थकहरुको बढ्दो सक्रियता र उनीहरुको समूहप्रति बढ्दो समर्थनले गणतन्त्र पक्षधरहरुलाई झस्काएको छ।

शक्ति राष्ट्रको फ्याक्टर

भारतमा १ दशकदेखि भारतीय जनता पार्टी सत्तामा छ। यसअघि २ पटकसम्म ५–५ वर्षको कार्यकाल एकल बहुमतले चलाइसकेका प्रधानमन्त्री नरेन्द्र मोदी अहिले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका छन्।

संसदमा उनको पार्टीको एकल बहुमत नभए पनि ठूलो दल उनकै हो र सरकारको नेतृत्व उनैले गरिरहेका छन्। मोदी स्वयं, उनको पार्टी भाजपा र भाजपाको मातृ संगठन राष्ट्रिय स्वयंसेवक संघ सबै कट्टर हिन्दूवादी हुन्। त्यसैले उनीहरुको झुकाव हिन्दू राष्ट्र र राजतन्त्रका पक्षमा हुनु स्वभाविक हो।

भारतीय सत्ताको यो झुकावले नेपालका गणतन्त्र पक्षधरहरुलाई झस्काएको छ। प्रधानमन्त्री बनेपछि केपी शर्मा ओलीले पटक पटक भारत भ्रमण गर्ने प्रस्ताव पठाए पनि भारतले निम्तो दिएको छैन।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले अहिलेसम्म ३ पटक प्रधानमन्त्रीको भारत भ्रमण गराउने औपचारिक प्रयास गरिसकेकी छिन् तर सबै प्रयास विफल भएका छन्।

भारत आफूसँग चिढिएको बुझेका प्रधानमन्त्री आफ्नो पद खुस्किनेमा जसरी सशंकित छन् त्यसैगरी राजतन्त्र समर्थकहरुलाई नियन्त्रण गर्दा बल प्रयोग गरिएका भारत चिढिन सक्ने डरले कांग्रेस पनि सतर्क छ।

हुन त कांग्रेसले सधैं लोकतान्त्रिक गणतन्त्रको पक्षमा वकालत गर्दै आएको छ तर भारतलाई चिढ्याउने पक्षमा ऊ पनि छैन। कांग्रेसले पनि भारतलाई रिझाउन धार्मिक कूटनीति प्रयोग गरिरहेको छ।

त्यसैको उदाहरण कुम्भमेलामा महामन्त्री गगन थापाको स्नान र अहिले भर्खरै झाखण्डको मन्दिरमा परराष्ट्रमन्त्री तथा सभापति पत्नी आरजू राणा देउवाको धार्मिक भ्रमण भएको थियो।