काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बितेको साढे तीन दशकदेखि पार्टी नेतृत्वमा छन्। पहिलोपटक तत्कालीन नेकपा मशालको महामन्त्री हुँदा प्रचण्डको उमेर ३५ वर्ष थियो।
अहिले उनी ७० वर्षको पुगिसकेका छन्। २०७८ साल पुसमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएपछि प्रचण्डले आफ्ना लागि सम्भवतः अन्तिम अवसर रहेको बताएका थिए। यतिबेला माओवादीभित्र नेतृत्व हस्तारन्तरणको प्रश्न उठेको छ र त्यसलाई निस्तेज पार्न प्रचण्ड प्रयत्न जारी छ।
२०७९ मंसिरमा सम्पन्न संसदीय निर्वाचनमा तेस्रो दल बने पनि माओवादीले सत्ताको नेतृत्व गर्ने अवसर पायो। नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीलाई आलोपालो साथ लिदै प्रचण्डले डेढ वर्ष सत्ताको नेतृत्व गरे।
गत महिना कांग्रेस-एमाले सात बुँदे सहमतिपश्चात् प्रचण्डले सत्ताबाट बहिर्गमन हुनुपर्यो। त्यसयता प्रचण्डले पार्टी रूपान्तरणको धारणा राख्दै आएका छन्। माओवादी उपमहासचिव जनार्दन शर्माले पार्टी रूपान्तरणका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको भन्दै लिखित प्रस्ताव नै पेस गरेका छन्।
माओवादीको जारी बैठकमा उपमहासचिव शर्माले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा प्रस्ताव पेस गरेका छन्। जसमा अध्यक्ष प्रचण्डलाई संरक्षकको रूपमा रहन र नेतृत्व हस्तान्तरण गर्न सुझाइएको छ। अर्का उपमहासचिव वर्षमान पुनले पनि अध्यक्षको कार्यकाल तोक्न माग गरेका छन्। उनले तत्कालै नेतृत्व नछाडेसम्म प्रचण्ड कहिलेसम्म नेतृत्वमा रहने भन्ने विषय टुंगो लाग्नुपर्ने बताएका छन्। बैठकमा माओवादी नेतृ ओनसरी घर्तीले पनि प्रचण्डका पछिल्ला व्यवहारले आशंका बढाउँदै लगेको उल्लेख गरेका थिए।
माओवादीभित्र सबैले बोल्न नचाहे पनि नेतृत्व परिवर्तनको पक्षमा अभिमत बढ्दै गएको छ। यद्यपि, प्रचण्डका लागि यो नौलो विषय होइन । विगतमा आफ्नो नेतृत्वविरुद्ध उभिएका मोहन वैद्य, डा.बाबुराम भट्टराईदेखि नेत्रविक्रम चन्द समेतलाई प्रचण्डले पाखा लगाइसकेका छन्।
माओवादीमा प्रचण्डबारे उठेका प्रश्नहरू नयाँ होइनन्। खासगरी संसदीय सत्ता राजनीतिमा अलमलिएर जनवादी कार्यदिशाबाट विचलित भएको आरोप उनलाई लाग्दै आएको छ। यस्ता आरोपको सके प्रतिवाद गर्ने नसके आरोप लगाउनेलाई नै बहिर्गमनका लागि बाध्य बनाउने नीति प्रचण्डले अँगाल्दै आएका छन्।
अहिले पनि प्रचण्डले आफूमाथि उठेका प्रश्नहरूलाई निस्तेज पारिछाड्ने उनीनिकट नेताहरूको भनाइ छ । ‘अझै पनि माओवादीमा प्रचण्डको नेतृत्व अपरिहार्य छ । यदाकदा उहाँविरुद्ध लगाइएका आरोप वा हठात नेतृत्व बदल्ने प्रस्ताव आफैँ निस्तेज हुन्छन्’, प्रचण्डनिकट एक नेताले भने। ती नेताका अनुसार केन्द्रीय कमिटी बैठक सम्पन्न हुने बेलासम्म आत्मालोचना गरेर भए पनि प्रचण्डले आफूलाई सुरक्षित गर्ने छन्।
एकातिर सत्ता गुमेको छ, अर्कोतिर पार्टी नेतृत्व छाड्न दबाब छ । तर पनि अध्यक्ष प्रचण्ड आफूलाई कुनै टेन्सन नभएको बताउँछन्। हालै पत्रकारहरूको प्रश्नमा उनले आफूलाई कुनै टेन्सन नरहेको बताएका थिए। ‘हामीलाई कुनै टेन्सन छैन । टेन्सन पत्रकारलाई मात्रै हो । सबै कुरा मिलेर जान्छ’, प्रचण्डको भनाइ छ । उनले सबै कुुरा मिलेर जान्छु भन्नुका पछाडि माओवादीमा तत्काल नेतृत्व परिवर्तनको सम्भावना छैन भन्ने आशय लुकेको छ। लामो समयपछि बसेको पार्टीको बैठकमा उठेका आन्तरिक सवालहरू सम्बोधन गरेर जाने तयारी प्रचण्डको छ।
केन्द्रीय कमिटीमा प्रचण्डका पक्षमा भारी बहुमत भएकाले तत्काल उनलाई कुनै ‘टेन्सन’ नभएको हुनसक्छ । तर, माओवादी आन्दोलनमा निरन्तरको क्षयीकरण र नेतृत्वबारे निरन्तरको आरोपले माओवादी नेतृत्वका बीच ‘विश्वासको संकट’ पैदा गर्ने निश्चित छ। विगतमा पनि उपमहासचिवद्वय शर्मा र पुनसँगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि प्रचण्डको विकल्प खोज्नुपर्ने प्रस्ताव गरिसकेका थिए।
नेतृत्वलाई आरोपित गर्ने तर आफैँ नेतृत्वको निकट भएर स्वार्थ पूरा गर्ने प्रवृत्ति माओवादीमा नयाँ होइन । प्रचण्डलाई आलोपालो आरोपित गर्ने र प्रचण्डकै सरकारमा आलोपालो अवसर लिनेमा शर्मा र पुन अग्रपंक्तिमा छन्। यसर्थ यसपटक पनि नेतृत्व हस्तान्तरणको प्रश्नले प्रचण्डलाई छुने देखिँदैन। किनकि प्रश्नकर्ताका कमजोरीमा खेल्न र नेतृत्वमा जमिरहन प्रचण्डलाई बानी परिसकेको छ।