काठमाडाैं। हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरेलले इरानको राजधानी तेहरानमा गरेको एउटा आक्रमणमा मारिएको जनाएको छ। हमासले एउटा विज्ञप्ति जारी गर्दै इस्माइल हानियाको मृत्यु भएको पुष्टि गरेको हो। उनी ६२ वर्षका थिए।
हमासका अनुसार तेहरानमा इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो। इजरेलले उक्त घटनाको जिम्मेवारी लिइसकेको छैन।
इरानका राष्ट्रपति मसूद पेजेश्कियानले इजरेललाई पछुतो लाग्ने बनाउने र इरानले आफ्नो "भूमिको अखण्डता, प्रतिष्ठा र सम्मान" को प्रतिरक्षा गर्ने उद्घोष गरेका छन्।
समाचारसंस्था एएफपीले प्रकाशित गरेको विज्ञप्तिमा पेजेश्कियानले हानियालाई "साहसी नेता" भनेका छन्।
इरानका सर्वोच्च नेता आयातूल्लाह अली खामनेईले हानियाको हत्याको प्रतिशोध लिनु "तेहरानको कर्तव्य" भएको भन्दै इजरेले दण्ड पाउने काम गरेको बताएका छन्।
हानियाका एक अङ्गरक्षकको पनि उक्त घटनामा मृत्यु भएको इरानको रेभलूशनरी गार्ड कोरले जनाएको छ।
हानियाको मृत्युको खबर लेबननमा इजरेली आक्रमणमा हिज्बुल्लाहका एक वरिष्ठ सैन्य नेता मारिएको केही घण्टाभित्रै आएको हो।
रुस, टर्की, इरान र कतारले उक्त आक्रमणको निन्दा गरेका छन्।
संयुक्त राज्य अमेरिकाका रक्षामन्त्रीले हानियाको मृत्युबारे कुनै टिप्पणी नगरी मध्यपूर्वमा द्वन्द्व चर्किन्छ भन्ने आफूलाई नलागेको बताएका छन्।
हमास र इजरेलबीच मध्यस्थता गर्दै आएको कतारले एउटा विज्ञप्ति प्रकाशित गर्दै उक्त आक्रमणलाई "गम्भीर अपराध" भनेको छ। कतारको विदेश मन्त्रालयले उक्त घटनाबाट "अन्तर्राष्ट्रिय र मानवीय कानुनहरूको उल्लङ्घन" भएको जनाएको छ।
तर एक इजरेली मन्त्रीले सामाजिक सञ्जाल 'एक्स' मा लेख्दै हानियाको मृत्युका कारण विश्व राम्रो ठाउँ बन्ने जनाएका छन्।
"संसारबाट फोहोर हटाउने यो उपयुक्त तरिका हो," एमिचे एलियाहूले लेखेका छन्। उनले "अरू काल्पनिक शान्ति वा आत्मसमर्पण सम्झौता" र "यी शत्रुहरूमाथि अरू दया" गर्नु नहुने तर्क गरेका छन्। उनी अतिदक्षिणपन्थी पार्टीका नेता हुन्।
साउदी सञ्चारमाध्यम 'अल हदत'का अनुसार इस्माइल हानियाको ज्यान लिन एउटा 'निर्देशित क्षेप्यास्त्र' (गाइडेड मिसाइल) प्रहार भएको थियो।
अल हदतमा प्रकाशित समाचारका अनुसार स्थानीय समयानुसार बिहान २ बजे हानिया बसेको भवनमा उक्त क्षेप्यास्त्र बज्रिएको थियो।
इरानको रेभलूशनरी गार्ड कोरसँग आबद्ध 'फार्स न्यूज'का अनुसार हानिया तेहरानको उत्तरी भेगमा भूतपूर्व सैनिकहरू बस्ने एउटा भवनमा बसेका थिए।
फार्स न्यूजले पनि "आकाशबाट आएको क्षेप्यास्त्र"का कारण हानियाको मृत्यु भएको जनाएको छ।
यसअघि समाचारसंस्था एएफपीका अनुसार इरानको रेभलूशनरी गार्ड कोरले उक्त "घटना" कसरी भयो भन्ने स्पष्ट नभएको तर छानबिन भइरहेको जनाएको थियो।
हानियालाई लक्ष्य गरेर भएको घातक आक्रमणबारे इजरेलले आधिकारिक टिप्पणी गरिसकेको छैन।
यद्यपि गत वर्ष अक्टोबर ७ मा १,२०० जनाजतिको मृत्यु हुने गरी हमासले इजरेलमा अप्रत्याशित आक्रमण गरेपछि इजरेलले हमासलाई निमिट्यान्न पार्ने उद्घोष गरेको थियो।
त्यसयता इजरेलले गाजामा सैन्य कारबाही गर्दै आएको छ। त्यस क्रममा कम्तीमा ३९,४०० जनाको मृत्यु भएको र तीमध्ये अधिकांश महिला र बालबालिका भएको हमासद्वारा गाजामा सञ्चालित स्वास्थ्य मन्त्रालयको दाबी छ।
हानियाको मृत्यु "छलपूर्वक भएको यहुदी आक्रमण" मा परेर भएको गाजामा नियन्त्रण कायम गरेको प्यालेस्टिनी समूह हमासले जनाएको छ।
हमासको राजनीतिक विभागका सदस्य मुसा अबु मार्जुकले उक्त आक्रमणलाई "कायर कृत्य" को सङ्ज्ञा दिँदै त्यसको जबाफ दिइने बताएका छन्। हमासका अर्का नेता समी अबु जुहरीले हमास आफ्नो "पथमा चलिरहने" बताएका छन्।
"इजरेली अतिक्रमणकारीले हानियाको हत्या गर्नु ठूलो उक्साहट हो, जसको उद्देश्य हमासको चाहना र हाम्रा जनताको चाहना भत्काउनु र झुटा लक्ष्य प्राप्त गर्नु हो," समी अबु जुहरीले समाचारसंस्था रोएटर्ससँग भने।
प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले पनि हमास नेताको हत्याको निन्दा गरेका छन्। उनले त्यसलाई "कायर कृत्य र खतरनाक घटनाक्रम" भनेका छन्।
उनले प्यालेस्टिनीहरूलाई "इजरेली अतिक्रमण भए पनि एकजुट, धीर र कटिबद्ध" रहन आग्रह गरेका छन्। अब्बासको नेतृत्वमा रहेको प्यालेस्टिनी प्राधिकरणले वेस्ट ब्याङ्कमा शासन गर्छ।
तर त्यहाँ वस्तुतः इजरेलको नियन्त्रण छ।
तस्बिरको क्याप्शन,हानियाले मङ्गलवार इरानका राष्ट्रपति पेजेश्कियान र इरानका सर्वोच्च नेता आयातूल्लाह अली खामनेईसँग भेटेका थिए
इरानको विदेश मन्त्रालयका प्रवक्ताले हानियालाई "स्वाभिमानी योद्धा" को सङ्ज्ञा दिँदै उनको बलिदान "खेर नजाने" बताएका छन्।
इरानले उनको मृत्युबारे अनुसन्धान गरिरहेको बताउँदै नासेर कनानीले "इरान र प्यालेस्टिनीहरूबीचको गहिरो र अटुट सम्बन्ध" हानियाको मृत्युबाट अझ बलियो हुने जनाएका छन्।
तस्बिरको क्याप्शन,हानिया नवनिर्वाचित इरानी राष्ट्रपतिले पदभार ग्रहण गर्दा आयोजित विशेष समारोहमा मङ्गलवार सहभागी भएका थिए
हमासका अनुसार हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेश्कियानले पदभार ग्रहण गर्ने समारोहमा सहभागी हुन इरान गएका थिए।
उक्त समारोह मङ्गलवार भएको थियो।
उनले तेहरानस्थित संसद् भवनको पनि भ्रमण गरेका थिए। त्यहाँ उनले सांसदहरूसँग भेटघाट गरेका थिए।
उनको अर्को नाम अबु अल-अब्द हो। उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो।
उनी सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए। इजरेल-गाजा युद्धका क्रममा उनी कतारमा बस्दै आएका थिए।
सन् १९८९ मा इजरेलले उनलाई तीन वर्ष जेलमा राखेको थियो।
सन् १९९२ मा उनलाई हमासका धेरै नेताहरूसँगै इजरेल र लेबनन बीचको ‘नो-म्यान्स् ल्यान्ड’को रूपमा रहेको मार्ज अल-जुहुरमा निर्वासनमा पठाइयो।
आफ्नो निर्वासन पूरा गरेपछि उनी गाजा फर्किएका थिए।
सन् १९९७ मा उनी हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालयको प्रमुख नियुक्त भए। त्यसबाट उनको राजनीतिक हैसियत बढ्यो।
हमासले उनलाई सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्री नियुक्त गरेको थियो।
तर त्यसको एक वर्षपछि प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख महमूद अब्बासले उनलाई पदमुक्त गरेका थिए।
इज्ज अल-दिन अल-कसम ब्रिगेडले गाजा क्षेत्र कब्जा गरेपछि अब्बासको फतह आन्दोलनका प्रतिनिधिहरू निष्कासन भएसँगै उनले पनि पद गुमाएका थिए। त्यस क्रममा एक सातासम्म चलेको भिडन्तमा धेरै मानिस मारिएका थिए।
हानियाले आफ्नो बर्खास्तीलाई असंवैधानिक भन्दै अस्वीकार गरे। उनले आफ्नो सरकारले नियमित कामलाई निरन्तरता दिने र प्यालेस्टिनी जनताप्रतिको आफ्नो जिम्मेवारीलाई नछोड्ने बताएका थिए।
त्यसयता हानियाले फतहसँग मेलमिलापका लागि पटकपटक अपील पनि गरेका थिए।
सन् २०१७ मा हमासको राजनीतिक विभाग प्रमुखमा निर्वाचित भएका थिए।
उनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा आतङ्कवादी घोषणा गरेको थियो।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले मध्यपूर्वमा द्वन्द्व नचर्किने आफ्नो धारणा पुनः व्यक्त गरेका छन्।
"युद्ध अवश्यम्भावी छ जस्तो मलाई लाग्दैन। म त्यसमै कायम छु। मलाई कूटनीतिका लागि सधैँ स्थान र अवसर हुन्छ जस्तो मलाई लाग्छ," फिलिपिन्स भ्रमणमा रहेका अस्टिनले सञ्चारमाध्यमसँग भने।
तर जोर्जटाउन यूनिभर्सिटीमा मध्यपूर्वसम्बन्धी विषयका प्राध्यापक नदिर हाशिमीले हमास नेता इस्माइल हानियाका कारण सो क्षेत्र पूर्ण स्तरको युद्ध फैलिने सम्भावनाको सँघारमा अभूतपूर्व रूपमा पुगेको टिप्पणी गरेका छन्। बीबीसीसँग कुरा गर्दै उनले भने, "यो ठूलो घटना हो।"
हानियाको ज्यान लिने गरी भएको आक्रमणको प्रभाव लेबननमा पनि पर्ने उनको ठम्याइ छ। "...किनभने केही घण्टाअघि मात्रै इजरेलले हिज्बुल्लाहका एक वरिष्ठ नेताको दक्षिणी बेइरुतमा हत्या गर्ने प्रयास गरेको थियो। इरान र हिज्बुल्लाहले तनाव बढाउन नचाहेको ठानिएको थियो।"
तर हानियाको हत्याले त्यस्तो आकलनलाई उल्ट्याइदिएको उनको भनाइ छ।
"अब इरानले यो द्वन्द्वलाई चर्काउने सबै निहुँ पाएको छ," उनले भने।
यूकेका भूतपूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार लर्ड पीटर रिकिट्सका अनुसार हानियाको हत्या "सो क्षेत्रमा जहाँ पनि पुग्न सक्ने इजरेलको क्षमताको शक्तिशाली उदाहरण" हो।
यसबाट इजरेलले "गाजामा जारी सैन्य कारबाही घटाउने राजनीतिक अवसर" पाउने उनको धारणा छ। "किनभने अब उसले हानियाको नेतृत्वलाई ठूलो आघात पुर्याएको भन्न पाउँछ," उनले भने।
तर अब हमासले युद्धविरामको वार्तालाई टुङ्गोमा पुर्याउने सम्भावना कम भएको भन्दै उनले यो मध्यपूर्वका लागि "निकै खतरनाक समय" भएको औँल्याएका छन्।