कांग्रेसमा सहमति जुट्यो , माघ १३ गते केन्द्रीय समिति बैठक बस्ने

काठमाडौं : नेपाली कांग्रेसभित्रको डेढ महिनादेखि चल्दै आएको आन्तरिक किचलो टुंगिएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शुक्रवार करिब पाँच घन्टा बसेको शीर्ष नेताहरुको बैठकमा पार्टीमा देखिएको समस्या समाधान गरेर अघि बढ्ने सहमति भएको हो । असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेलसहित कार्यदलका सदस्यहरु समेतको उपस्थितिमा भएको सहमति अनुसार, कांग्रेसले सहमतिका विषयलाई वैधानिकता दिन माघ १३ गते अपरान्ह १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

जसमा असन्तुष्ट पक्षका सदस्यहरु समेत उपस्थित हुने जनाइएको छ। यसअघि पुस ११ गते संस्थापन पक्षमात्र सहभागी भएको केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेको पार्टीको महाधिवेशनको मितिमै एक दिन थप गरेर महाधिवेशन गर्ने सहमति जुटेको छ । महाधिवेशन २०७७ फागुन ७–१० मा गर्ने सहमति भएको छ ।

बैठकले नेविसंघको पदाधिकारी चयन आइतवार गर्ने निर्णयसमेत गरेको छ । केन्द्रीय कार्यसमितिको बैठक माघ १३ गते बस्ने निर्णय बैठकले गरेको छ । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण प्रसाद सिटौला, उपसभापति निधि, नेता प्रकाशमान सिंह लगायतको उपस्थिति रहेको थियो ।