अग्नि सापकोटा माघ १२ गते नै सर्वोच्चमा हाजिर हुनुपर्ने

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभाको सभामुख चयन हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतालाई १२ गते हाजिर हुन भनेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको पेशी तोक्दै सर्वोच्च अदालतले सापकोटासहित विपक्षी बनाइएका व्यक्ति तथा निकाय र रिट निवेदकलाई समेत तारेखका लागि हाजिर हुन भनेको हो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्दै द्वन्द्वकालीन घटनामा कर्तब्य ज्यानको मुद्दा खेपिरहेका व्यक्ति (सापकोटा)लाई सभामुख चयन नगर्नका लागि आदेश माग गरेका छन् । सापकोटालाई गिरफ्तार गरी न्यायलयमा उपस्थित गराउने आदेश जारी गर्न पनि त्रिपाठीले मागदाबी गरेका छन् ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय संसद सचिवालय, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधसभा सदस्यमा निर्वा्चित अग्नि सापकोटा, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।