राष्ट्रियसभा निर्वाचनको मत परिणाम एस्तो छ, नेपाली कांग्रेसले एक सिटमा पनि जित हात पार्न सकेन

राष्ट्रियसभा निर्वाचनको मत परिणाम एस्तो छ, नेपाली कांग्रेसले एक सिटमा पनि जित हात पार्न सकेन

काठमाडौं : राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कुल १८ पदका लागि भएको निर्वाचनमा १६ स्थानमा सत्तारूढ नेपालक कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएका छ। दुईजना राजपा र नेकपा गठबन्धनबाट विजयी भएका छन् । नेपाली कांग्रेसले भने एक सिटमा पनि जित हात पार्न सकेन । यसले गर्दा नेपाली कांग्रेसले निर्वाचन भागलेको केही औचित्य रहेन ।

एस्तो छ अन्तिम मत परिणाम

प्रदेश १

प्रदेश १ बाट पनि तीनजना नेकपाका उम्मेदवार विजयी भएका छन्। नेकपाका उम्मेदवार गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन्। अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फका सदस्यमा निर्वाचित भएका हुन्।

प्रदेश-२

प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा दाजु विजयी हुँदा भाइ पराजित भएका छन्। एकै परिवारबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका मृगेन्द्रसिंह यादव विजयी हुँदा भाइ अनिरुद्र सिंह पराजित भएका हुन्। सहोदर दाजुभाइ दुई फरक पार्टीबाट प्रतिस्पर्धामा थिए। अल्पसंख्यकतर्फ राष्ट्रिय जनता पार्टी (राजपा) का शेखरकुमार सिंह विजयी भएका छन्। महिलार्फ नेकपाकी तुलसा दाहाल, दलिततर्फ राजपाका राधेश्याम पासवान विजयी भए।

बागमती प्रदेश

बाग्मती प्रदेशबाट नेकपाका दुईजना उम्मेदवार विजयी भएका छन्। महिलातर्फ गंगाकुमारी बेल्बासे, अन्यतर्फ बेदुराम भुषाल विजयी भएका छन्।

गण्डकी प्रदेश

गण्डकी प्रदेशका दुवै पदमा नेकपाका उम्मेदवार विजयी भएका छन्। नेकपाका नारायणकाजी श्रेष्ठ ३ हजार ४६२ मतभारसहित विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २४० मतभार ल्याए। श्रेष्ठ गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइसँग पराजित भएका थिए। गण्डकी प्रदेशबाट महिला सदस्यमा नेकपाकी भगवती न्यौपानेले कांग्रेसकी विमला गौचनलाई पराजित भएकी छन्। यस प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित कांग्रेसका सुरेन्द्रराज पाण्डे र वृन्दादेवी आलेको दुईवर्षे कार्यकाल सकिएपछि ती पदमा निर्वाचन भएको थियो।

प्रदेश ५

प्रदेश ५ बाट पनि तीनजना नेकपाकै उम्मेदवार विजयी भएका छन्। प्रदेश ५ बाट नेकपाबाट अपांग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भए। दाङका शर्मा गत प्रदेशसभा सदस्यमा पराजित भएका थिए।

कर्णाली प्रदेश

कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दुवै जना नेकपाका उम्मेदवार विजयी भएका छन्। अन्यबाट मायाप्रसाद शर्मा र महिलातर्फ सुमित्रा विसी विजयी भए।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट र तारमान स्वार विजयी भएका छन्। महिलातर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मतभार प्राप्त गरेर विजयी भइन् भने स्वारले तीन हजार ७ सय २० मतभार प्राप्त गरेका हुन्। बिहीबार भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९ दशमलब १९ प्रतिशत र प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको निर्बाचन आयोगले जनाएको छ। मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भएको जनाउँदै आयोगले सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी, सञ्चारकर्मीलगायत आम नागरिकप्रति आभार प्रकट गरेको छ।