राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

जनकपुरधाम, ८ माघ  : राष्ट्रियसभा सदस्य–२०७६ को प्रदेश नं २ मा बिहीबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । महेन्द्रनारायण संस्कृति केन्द्र जनकपुरको परिसरस्थित मतदान केन्द्रमा मतपत्र, मतपेटिकासहित कर्मचारी खटिसकिएको निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी गराउनुभयो ।

निर्वाचनका लागि निर्धारण गरिएको दुई वटा मतदान केन्द्रका लागि २० कर्मचारीलाई खटाउनका साथै सुरक्षाका सम्पूर्ण प्रबन्ध मिलाइसकिएको उहाँले बताउनुभयो । माघ ८ गते बिहान १० बजेदेखि मतदान शुरु भई अपराह्न ४ बजे सम्पन्न हुनेछ । मतदान सकिएलगतै मतगणना शुरु गर्ने निर्वाचन अधिकृत खतिवडाले बताउनुभयो । यस प्रदेशमा प्रदेशसभा सदस्य १०७ जना हुनुहुन्छ भने स्थानीय तहका नगर प्रमुख उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २७२ गरी कूल मतदाता ३७९ जना हुनुहुन्छ ।