उखु किसानको भुक्तानी नदिने तीनवटा उखु मिलको बैंक खाता रोक्का

उखु किसानको भुक्तानी नदिने तीनवटा उखु मिलको बैंक खाता रोक्का

काठमाडौं : सरकारले किसानको भुक्तानी नदिने तीनवटा उखु मिलको बैंक खाता रोक्का गर्ने राष्ट्र बैंकलाई पत्राचार गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्सको आर्थिक कारोबार रोक्का गर्न पत्राचार गरेको मन्त्रालयका सहसचिव दिनेश भट्टराईले जानकारी दिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ति मिलहरुको आर्थिक कारोबार रोक्का गर्न तथा उनीहरुमाथि अनुसन्धान गर्न आन्तरिक राजस्व विभागमा पत्राचार गर्ने निर्णय गरेको छ । पत्रकार सम्मेलन गर्दै मन्त्रालयले ती उद्योगहरु मन्त्रालयको सम्पर्कमा नआएकाले आर्थिक कारोबार रोक्का गर्ने निर्णय गरेको सहसचिव भटराईले बताए ।

अन्नपूर्ण र इन्दिर सुगर मिल राकेश अग्रवालको हो भने लुम्बिनी सुगर मिल्स मनिष अग्रवालले भाडामा लिएर सञ्चालन गरिरहेका छन् । मनिष अग्रवालको मृत्यु भएकाले उक्त उद्योग हाल कसले सञ्चालन गर्छ भन्ने विषयबारे नै मन्त्रालय बेखबर छ । यस्तै उद्योग तथा आपूर्ति मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेर सम्पर्कमा नआएका उद्योगीहरुलाई सम्पर्कमा ल्याउन अनुरोध गरेको छ ।

बाबा बैजुनाथ चिनी उद्योग र बागमती खाँडसरी चिनी मिल्स प्रालि सम्पर्कमा आएका छैनन् ।मन्त्रालयका अनुसार अहिले सम्म १५ करोड ७५ लाखमात्र बक्यौता रकम किसानले पाएका छन् । किसानले विभिन्न आठ वटा उद्योगबाट अझै ८४ करोड २५ लाख रुपैयाँ पाउन बाँकी रहेको मन्त्रालयको तथ्यांक छ ।