सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक , निर्वाचन १२ माघमा

काठमाडौं : प्रतिनिधिसभाका सभामुख चयनका लागि १२ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य महन्थ ठाकुरले १२ गते सभामुखको निर्वाचन तोकेका हुन् । सचिवालयले नेपालको संविधानको धारा ९१ तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७ बमोजिम सभामुख पदका लागि निर्वाचत कार्यतालिका सार्वजनिक गरेको छ ।

सचिवालयद्वारा जारी कार्यतालिका अनुसार माघ ७ गते (मंगलबार) बिहान ११ देखि दिउँसो २ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता हुने छ । यस्तै, ७ गते नै सभामुख पदका लागि उम्मेदवारहरुको अन्तिम सूची प्रकाशन गरिने छ । यस्तै, माघ १२ गते दिउँसो ३ बजे बस्ने बैठकमा सभामुख पदमा प्रस्ताव र समर्थन पेश गरी निर्णयार्थ पेश गरिने छ ।माघ १२ गते नै बहुमत प्राप्त गर्ने उम्मेदवार प्रतिनिधिसभाको सभामुख पदमा निर्वा्चित हुनेछन् । संसद सचिवालयकै महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले १५ असोजमा राजीनामा दिएका थिए ।

त्यससता सभामुख पद रिक्त छ ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सोमबार नै राजीनामा दिएकी छन् । संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने व्यवस्था रहेकाले नेकपाले नै शिवमायालाई राजीनामा दिन आग्रह गरेको थियो ।