काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दामा किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ । सापकोटाविरुद्ध १० वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जिल्लाका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको थियो। किटानी जाहेरीसँगै सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दासम्बन्धी रिट निवेदन आठ वर्षदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।
२०७२ चैत २२ मा तत्कालीन न्यायाधीशहरू सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सशस्त्र द्वन्द्वसँग सम्बन्धित रिट निवेदन संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो। मुद्धाको किनारा नलाग्दै सत्तारुढ दलले गरेको निर्णयले संसदप्रतिको विश्वास गुम्ने खतरा बढेको कांग्रेसले भनेको छ ।
कांग्रेस प्रवत्ता विश्व प्रकाश शर्माले टुविट गर्दै कुनै पनि पदमा उपयुक्त व्यक्ति छनोट भएन भने पदको गरीमाने धरापमा पर्ने बताएका छन् ।यस्तै सामाजिक सञ्जालमा ‘हत्या आरोपित लाई सभामुखको उम्मेदवार बनाएको भन्दै आलोचना सुरु भएको छ । गत असोजदेखि सभामुखविहीन अवस्थामा गुज्रिएको प्रतिनिधिसभा बैठक आज बस्दै छ ।
नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेपछि यसअघि पटक–पटक प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।सत्तारूढ दल नेकपाले लामो गलफतीका बाबजुत अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो ।
संघीय संसद् सचिवालयले दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक तय भएको जनाएको छ । सचिवालयका अनुसार, सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने सम्भावित कार्यसूची आजका लागि तय भएको छ ।प्रतिनिधिसभामा सत्तारूढ नेकपाको बहुमत रहेकाले नेकपाकै उम्मेदवार सापकोटा सभामुखमा विजयी हुने पक्का छ ।