उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिँदै,नेकपालाई बाटो खुल्यो

काठमाडौं : उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले आज राजीनामा दिनुु हुने भएको छ ।तुम्बाहाङ्फेले सभामुखलाई सम्बोधन गरेर संसद सचिवालयमा राजीनामा बुझाउने तयारी गर्नुभएको संसद सचिवालय स्रोतले जनाएको छ । यसअघि सभामुख उम्मेदवार तय भएपछि निकास दिने बताउँदै आएकी उपसभामुख तुम्बाहाङ्फेलाई आइतवार नेकपा सचिवालय बैठकअघि ओलीले बोलाएर छलफल गरेका थिए ।

उनले ओलीसँगको भेटमा आफ्नो गल्ती के हो भनेर प्रश्नसमेत गरेकी थिइन् । ओलीले भने पार्टीको अवस्था बुझाउँदै आफूलाई सघाउन आग्रह गरेको स्रोतले जनाएको छ । अपराह्न १ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि उपसभामुखले राजीनामा दिने निकट स्रोतले जनाएको छ ।

त्यसपछि आजको बैठकको अध्यक्षता जेष्ठ सदस्यका हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्नेछन् ।संसद् बैठकपछि उपसभामुख तुम्बाहाङ्फेले संसद् भवनमै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्ने संसद् सचिवालयका सन्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए । सभामुख निर्वाचन प्रक्रिया आजकै बैठकबाट अघि बढ्नेछ ।

आजको बैठकमा ज्येष्ठ सदस्यले सभामुख चयनको प्रक्रिया थाल्न संसदका महासचिव मनोहर भट्टराईलाई निर्देशन दिएपछि सभामुखको चुनावी प्रक्रिया थाल्ने सचिवालयको तयारी छ । सचिवालय स्रोतकाअनुसार माघ ८ गतेका लागि सभामुखको चुनाव हुने सम्भावना छ ।

सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।मुख्य विपक्षी दल काङ्ग्रेसले भने सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्ने बारे निर्णय गरिसकेको छैन । सभामुख र उपसभामुख भिन्न भिन्न दलका हुनुपर्ने संवैधानिक व्यवस्था छ ।