राष्ट्रिय सभा चुनाव : आज राति १२ बजेदेखि मौन अवधि शुरु,प्रचारप्रसार गर्न नपाइने

काठमाडौं : आउँदो बिहीबार हुने राष्ट्रिय सभाको चुनावका लागिआज रातिदेखि मौन अवधि सुरु हुँदैछ ।आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले आज दिनभर मात्रै चुनावको प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताअनुसार चुनाव हुनुभन्दा ४८ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ ।

निर्वाचन आचारसंहिताबमोजिम ४८ घण्टाअगाडि अर्थात आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । योसँगै निर्वाचनको प्रचारप्रसार बन्द हुनेछ । मौन अवधिमा आफ्ना वेबसाइट, ट्वीटर, फेसबुक, भाइबर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने–‘मौन अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी वा त्यस्तो उद्देश्य लिई छलफल, गोष्ठी, सेमिनार, अन्तरक्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै पनि कार्य गर्न गराउन पाइने छैन ।’मौन अवधिमा आचारसंहिता पूर्ण पालना गर्न गराउन सरोकारवालासँग आयोगले अपिल पनि गरेको छ । राष्ट्रिय सभामा १८ जना सदस्यका लागि सातै वटा प्रदेशमा आउँदो बिहीबार चुनाव हुँदैछ ।

चुनावमा प्रदेशसभाका सांसद तथा पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । मतदानका लागि सात वटा प्रदेशका उच्च अदालत रहेका जिल्लाहरू क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् ।