अग्नि सापकाेटालाई सभामुख बनाउन ओली र प्रचण्डबीच सहमति,सचिवालय बैठकले निर्णय लिने

अग्नि सापकाेटालाई सभामुख बनाउन ओली र प्रचण्डबीच सहमति,सचिवालय बैठकले निर्णय लिने

काठमाण्डौ : तीन महिनादेखि रिक्त प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विवाद टुंगो लागेको छ । आइतबार बिहान सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति भएको स्रोतले जनाएको छ । 

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सुवास नेम्वाङलाई सभामुखका लागि अघि सारेको भए पनि अर्का अध्यक्ष प्रचण्डले सभामुख पूर्वमाओवादीबाटै हुनुपर्ने अडान लिएपछि नेता सापकोटाको नाममा सहमति जुटेको हो ।  दुई नेताबीच भएको सहमति आइतबार ४ बजे बस्ने सचिवालय बैठकले अनुमोदन गरेपछि सार्वजनिक गर्ने तयारी नेकपाले गरेको छ ।  

नेकपाका महासचिव विष्णु पौडेलले ४ बजे बस्ने सचिवालय बैठकमा सभामुखबारे छलफल हुने बताउनुभयो । नेकपाबाटै उपसभामुख बन्नुभएकी शिवमाया तुम्बाहाङ्फेले पार्टीले सभामुखको उम्मेदवार टुंगो नलगाएसम्म राजीनामा नदिने अडान लिएपछि नेकपाले आज सभामुखको टुंगो लगाउन लागेको हो । सभामुखमा तुम्बाहाङ्फेले पनि दाबी गर्दै आउनुभएको छ । तर दुई अध्यक्ष सापकोटालाई सभामुख बनाउन सहमत भएपछि तुम्बाहाङ्फेको दावी व्यर्थ हुने भएको छ । 

सभामुख चयन हुन  नसक्दा पुस ४ गते बसेयता प्रतिनिधि सभाको बैठक तीन पटक स्थगित भइसकेको छ। तत्कालीन माओवादीको भागमा परेको सभामुख पद आफूहरुले पाउनुपर्ने अडान प्रचण्डले राखेका थिए। अध्यक्ष दाहालले सभामुख छाड्न परेमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अर्को अडान लिएका थिए।