सभामुख चयनको प्रक्रिया सुरु नभए कांग्रेसले संसद चल्न दिँदैन : सभापति देउवा

मोरङ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् ।बुधबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले असन्तुष्ट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहसँग वार्ता भइसकेको भन्दै कुरा मिलिसकेको बताए ।

यस्तै हिउँदे अधिवेशन सुरु भएको एक महिनासम्म सत्तारुढ दल नेकपाले सभामुख चयनको प्रक्रिया सुरु गर्न अलमल गरेको भन्दै अब प्रक्रिया सुरु नगरे संसद चल्न नदिने बताएका छन् ।
देउवाले भने, ‘सत्तारुढ दलले नै सभामुखको उम्मेदवार दिन सक्दैन भने अब हामी धेरै कुर्न सक्दैनौँ। सभामुख चयनको प्रक्रिया सुरु नभए कांग्रेसले संसद चल्न दिँदैन।’

नेकपामा दुइ अध्यक्षहरु केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डले आआफ्ना उम्मेदवार चयन गरेपछि उम्मेदवारको टुंगो लाग्न सकेको छैन। पुस ४ गते चलेको संसद त्यस यता बैठक नबसी तीन पटकसम्म सूचना टाँस गरी स्थगित भइसकेको छ। संसद सचिवालयले अबको बैठक माघ ६ गते दिउँसो १ बजेको लागि बोलाइएको छ।