अर्को सूचना जारी नभएसम्म प्रदेश २ को प्रदेशसभा बैठक स्थगित

अर्को सूचना जारी नभएसम्म प्रदेश २ को प्रदेशसभा बैठक स्थगित

जनकपुर : प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको छ । अब अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश २ को बैठक लामो समयदेखि बस्न सकेको छैन । पुसको १४ र १५ गते आह्वान गरिएको प्रदेशसभाको बैठक प्रतिपक्षी तथा केही सत्तारुढ सांसद समेतले अवरुद्ध गरेका थिए । गत आर्थिक वर्षमा सन्चालित योजनाहरुको भुक्तानी दिनुपर्ने माग गर्दै दुई दिन संसद अवरुद्ध गरिएपछि १७ गतेका लागि आह्वान गरिएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

त्यसपछि २४ गते बस्ने भनिएकोमा उक्त दिन पनि स्थगित गर्दै २८ गते सोमबारका लागि निर्धारण गरिएको थियो । तर सोमबार पनि बैठक बस्न सकेन । र, अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको सूचना प्रदेशसभा सचिवालयले जारी गरेको छ ।

प्रदेशसभाको बैठक अन्यौल भएसँगै प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पनि अन्यौलमा परेको छ भने दर्ता गरिएका विधेयक उपरको छलफल समेत सुरु हुन सकेको छैन । गत भदौ ५ गते सत्तासिन समाजवादी राजपाले प्रदेशको नाम ‘मधेश’ प्रमुख प्रतिपक्षी नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला(भोजपुरा’ राख्नुपर्ने प्रस्ताव पेश गरेका छन् । लगातार प्रदेशसभा बैठक अवरुद्ध हुँदा यो विषय अन्योलमा पर्दै गएको छ ।