प्रदेश ३ को नाम वाग्मती, राजधानी हेटौँडा

प्रदेश ३ को नाम वाग्मती, राजधानी हेटौँडा

काठमाण्डौ : प्रदेश नम्बर ३ को स्थायी राजधानी मकवानपुरको हेटौँडा र प्रदेशको नाम वाग्मती तय भएको छ ।

प्रदेश सभाको आइतबारको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो । प्रदेश सभामा भएको मतदानमा राजधानी हेटौँडा राख्ने प्रस्तावका पक्षमा १ सय ५ मत र काभ्रेको धुलिखेल बनाउनुपर्ने पक्षमा तीन मत मात्र खसेपछि राजधानी हेटौँडा पक्का भएको हो ।

यसअघि धुलिखेलको लागि भएको मतदानमा १०१ विपक्षमा र काभ्रेको पक्षमा ३ मत आएको थियो । प्रदेश सभामा १३ जिल्लाः मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखाका गरी १ सय १० जना प्रदेश सभा सदस्य रहेका छन् ।

पहिलो हुने निर्वाचनबाट निर्वाचितबाट ६६ जना, समानुपातिकबाट ४४ जना, दलगततर्फ तत्कालीन नेकपा एमालेबाट ५७ जना, तत्कालीन नेकपा माओवादी केन्द्रबाट २३ जना, काङ्ग्रेसबाट २२ जना, विवेकशीलबाट ३ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, राप्रपा संयुक्तबाट १ जना, राप्रपाबाट १ जना, स्वतन्त्र १ जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व रहेको छ ।

यस्तै प्रदेशको नाम वाग्मती राख्ने पक्षमा सबै मत खसेको छ । १ सय १० सदस्यीय प्रदेश सभामा एक जना अनुपस्थित रहेको र सभामुखले मतदान नगरेकाले १ सय ८ मत खसेको थियो । प्रदेशको नामको विषयमा कुनै पनि सांसदले विमति नजनाइकन समर्थन गरेका थिए ।

विसं २०७४ माघ १८ गते पहिलो बैठक बसेको प्रदेशले प्रदेशसभा गठन भएको झण्डै दुई वर्षपछि प्रदेशले नाम र स्थायी राजधानी प्राप्त गरेको हो । यससँगै नाम र स्थायी राजधानी राख्ने प्रदेशको सङ्ख्या चार पुगेको छ । अझै प्रदेश नम्बर १, २, र ५ ले आफ्नो नाम र स्थायी राजधानी तोक्न सकेका छैनन् ।