प्रदेश ३ को राजधानी हेटौँडा कायम

प्रदेश ३ को राजधानी हेटौँडा कायम

हेटौँडा : प्रदेश ३ को राजधानी हेटौँडा कायम भएको छ । आइतबार बिहान भएको मतदानमा मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो । प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा जम्मा ३ मत खसेको हो ।

प्रदेश ३ को राजधानी काभ्रेको धुलिखेल बनाउनु पर्ने पक्षमा ३ मतमात्र खसेपछि हेटौँडा स्थायी राजधानी हुने पक्का भएको हो । १ सय १० सदस्यीय प्रदेशसभामा एकजना अनुपस्थित रहेको र सभामुखले मतदान नगरेकाले १ सय ८ मत खसेको थियो । अहिले प्रदेशको नामाकरणको विषयमा मतदान भइरहेको छ ।

शनिबारको प्रदेश सभा बैठकमा सत्तारुढ नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँडा बनाउने सम्बन्धि प्रस्ताप र प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको नाम वाग्मती राख्ने प्रस्ताव पेस गरेका थिए । यसअघि प्रदेश सभाले नाम र राजधानी तोक्न नसकेको भन्दै जनगुनासो आइरहेको थियो । प्रदेश सभामा पनि यसकै विषयमा धेरै कुरा उठ्ने गरेको थियो ।