प्रतिनिधिसभा बैठक आईतबार बस्दै

प्रतिनिधिसभा बैठक आईतबार बस्दै

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार टुंगो नलगाउँदा आजको प्रतिनिधिसभा बैठक अन्योलमा परेको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकले सभामुख निर्वाचनको कार्यतालिका गराउने तयारी भए पनि बैठक बस्नेबारे नै अन्योल भएको हो। अन्योलका कारण बैठकको सम्भावित कार्यसूची नै बन्न सकेको छैन्।

नेकपा सचिवालयको हिजो बसेको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाउने निर्णय गरे पनि सभामुखमा कसलाई उठाउने भन्नेबारे निर्णय गर्न सकेन। अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवास नेम्बाङलाई सभामुख बनाउने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थायी समिति सदस्य अग्नी सापकोटालाई सभामुख बनाउने अडानमा छन्।

सभामुख उम्मेदवारको टुंगो नलागेको र उपसभामुखको राजीनामा पनि आइनसकेका कारण सभामुख निर्वाचनको कार्यतालिका बनाउने गरी बस्ने भनिएको प्रतिनिधिसभा बैठक अन्योलमा परेको हो। यही अन्योलताका कारण गत पुस १५ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। राष्ट्रियसभा बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन २०७६ पेश गर्ने कार्यसूची छ।

त्यस्तै आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले रेल्वे विधेयक २०७६, छलफलका लागि पेश गर्ने सम्भावित कार्यसूची छ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।