प्रदेश ३ को नाम र राजधानीको प्रस्ताव प्रदेशसभामा शनिबार पेश गरीदै

प्रदेश ३ को नाम र राजधानीको प्रस्ताव प्रदेशसभामा शनिबार पेश गरीदै

मकवानपुर : प्रदेश ३ को राजधानी र नामका विषयमा प्रदेशसभामा शनिबार प्रस्ताव पेश हुने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सुचना निकालेर शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म प्रदेशसभा सचिवालयमा प्रदेशको राजधानी र नामाकरणबारे प्रस्ताव दर्ता गर्न समय दिइएको जानकारी दिए ।

शनिबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा राजधानी र नामबारेको प्रस्ताव पेश गरेर र आइतबार प्रस्तावमाथि मतदान गर्ने तयारी रहेको सभामुख श्रेष्ठले जानकारी दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको, प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम वागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि यो प्रस्ताव पारित हुने लगभग निश्चित जस्तै भएको छ । संसदमा प्रस्ताव दर्ता गराउँदा वागमती र हेटौंडाको एकमात्र प्रस्ताव दर्ता गराउने निर्णय भएको नेकपा प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फुयालले बताए । अरु दलले अरु प्रस्ताव गरेको खण्डमा मतदान हुनेछ । प्रस्ताव पारित हुन प्रदेशसभाको दुईतिहाइ बहुमत आवश्यक पर्छ ।

यसैबीच समाजवादी पार्टीले प्रदेश ३ को नाम वागमती र राजधानी हेटौंडा हुन नहुने भन्दै काठमाण्डौको शान्तिवाटिकामा शनिबार विरोध प्रदर्शन गर्ने भएको छ ।