गुटको झगडामा कांग्रेसः पौडेल पक्षीय भेलाको निष्कर्ष, देउवाले विधान आफू अनुकूल प्रयोग गरे

गुटको झगडामा कांग्रेसः पौडेल पक्षीय भेलाको निष्कर्ष, देउवाले विधान आफू अनुकूल प्रयोग गरे

काठमाडौंः नेपाली कांग्रेसको आन्तरिक कलह चुलिएको छ । सभापति शेरबहादुर देउवाले आफू पक्षीय केन्द्रीय सदस्यहरुमात्र उपस्थित भएको बैठकबाट विधान संशोधन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता कृष्ण सिटौला पक्ष असन्तुष्ट छ । देउवाले उक्त विषयमा खासै प्रतिक्रिया जनाएका छैनन्।

तर, पौडेल–सिटौला समूहले सोमबारदेखि पार्टी कार्यालयमा आफू निकट जिल्ला सभापतिहरुको भेला गरिरहेका छन्। महामन्त्री शशांक कोइराला समेत ४५ भन्दा सभापतिहरुलाई उक्त समूले भेला गरी राय बुझिरहेको छ ।

भेलामा उपस्थित महामन्त्री कोइरालादेखि धारणा राख्ने जिल्ला सभापतिहरुले देउवाले विधान आफू अनुकूल बनाएको, प्रचलित व्यवस्था मिचेको टिप्पणी गरेका छन्।

देउवा पक्षीयमात्र केन्द्रीय सदस्य उपस्थित केन्द्रीय कमिटी बैठकले पुस ११ गते पार्टी महाधिवेशन २०७७ फागुन ७ गतेदेखि गर्ने निर्णय गरेको थियो। आफ्नो कार्यकाल आफैंले थपेको भन्दै देउवाको आलोचना भएको थियो। तत्काल महाधिवेशनको मिति माग गरिहेको पौडेल समूहका केन्द्रीय सदस्यले उक्त बैठक बहिस्कार गरेका थिए।

विभाग संख्या हेरफेर गर्ने, सदस्यतासम्बन्धी विधानको व्यवस्था निलम्वन गर्ने व्यवस्थामा पनि पौडेल समूह असन्तुष्ट छ।