आज हरिबोधनी एकादशी, तुलसी विवाह गरी मनाइँदै

आज हरिबोधनी एकादशी, तुलसी विवाह गरी मनाइँदै

काठमाडौं । आज हरिबोधनी एकादशी, हिन्दू धर्मावलम्वीहरु भगवान विष्णुको आराधना र तुलसी विवाह गरी यो पर्व मनाउँदै छन । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीको दिन रोपिएको तुलसीको आज विवाह गरिदिने चलन रहेको छ ।

तुलसीको मठलाई सिंगारेर पवित्र तीर्थस्थलको जलबाट तुलसीलाई स्नान गराएर उखु, साल, पिपल वा बाँसको लिंगोसंग तुलसीको विवाह गराउने चलन रहेको छ ।

तुलसीको विवाहको भोलिपल्ट द्वादशीको दिन तुलसी पूजनसँगै यसको विसर्जन गरिन्छ । हरिबोधनी एकादशीको दिन विशेषगरी सखरखण्ड, पिँडालुजस्ता कन्दमूल र फलफूल खाने चलन छ । तुलसी पुजनको विसर्जनपछि चतुर्मास ब्रत पनि सम्पन्न हुन्छ । भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने विश्वास गरिने यस चार महिनाको अवधिमा विवाह, व्रतबन्ध जस्ता कुनैपनि मांगलिक र शुभकार्य गरिँदैन ।

हरिबोधनी एकादशीपछि भने सवैखाले मंगल तथा शुभकार्यहरु शुरु हुने गर्दछन् । हरिबोधिनी एकादशीलाई वर्षभरिका २४ वटा एकादशी मध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रूपमा लिने गरिन्छ । बोलीचालीको भाषामा यसलाई ठूली एकादशी पनि भनिन्छ ।

महाभारतमा कहिल्यै भोको नबस्ने भीमसेन पनि यस दिन व्रत बसेका थिए भन्ने उल्लेख छ । त्यसैलै अरू दिनमा व्रत बस्न नसक्नेहरूले समेत ठूली एकादशीमा व्रत बस्नुपर्छ भन्ने मान्यता छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ ।

भविष्य पुराणमा यो एकादशीको महिमा उल्लेख छ । हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलमा मेला लाग्ने गर्छ । काठमाडौंको बुढानीलकण्ठ, सुनसरीको बराह क्षेत्र, तनहुँको देवघाट, गुल्मीको रिडी, पर्वतको सेतीवेणीमा विशेष मेला लाग्ने गर्दछ ।

उपयकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशंखुनारायण, इचंगुनारायण र शेषनारायणमा पनि आज विशेष मेला लाग्दछ । एकादशी ब्रत बस्दा मासिन कहिल्यै पनि संकटमा पर्दैन भन्ने विश्वास रहेको छ । पछिल्लो समय चिकित्कीय खोजीहरु पनि उपवासले स्वास्थ्यलाई सन्तुलित राख्ने पुष्टि गरेपछि उपवास बस्ने क्रम बढ्दो रहेको छ ।