संस्थापनइतर समूहको जिल्ला सभापतिकाे बैठक सुरु

संस्थापनइतर समूहको जिल्ला सभापतिकाे बैठक सुरु

काठमाडौं : संस्थापनइतर समूहले बोलाएको जिल्ला सभापतिहरुको भेला पार्टी कार्यालय सानेपामा सुरु भएको छ । कांग्रेस केन्द्रीय समितिले पुस ११ गते बहुमतको आधारमा १४ औं महाधिवेशनको मिति तोक्ने, विभागहरुको संख्या ४७ पुर्‍याउने लगायतको निर्णय गरेपछि रुष्ट बनेको संस्थापनइतर समूहले जिल्ला सभापतिहरुलाई काठमाडौंमा भेला गरेको हो ।

भेलामा हालसम्म ३० जिल्लाका सभापतिहरु भेला भएका छन् । भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताहरु सहभागी भएका छन् ।

गत पुस ११ को केन्द्रीय समिति बैठकका निर्णय सच्याउन वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले दबाब दिँदै आएका छन् । नेतृत्वसँग कुरा नमिलेपछि संस्थापनइतर पक्षले केन्द्रीय समितिको बैठक नै बहिस्कार गरेको थियो ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जिल्ला सभापतिहरुसँग ‘परामर्श भेला’ गर्न लागिएको र भेलाको सुझावका आधारमा अगाडि बढ्ने बताएका छन् । ‘पार्टी महाधिवेशनको सुनिश्चितता, विश्वसनीयता, सबैको सहभागीता र सहमतिबाट पार्टीलाई कसरी चलाउने भन्ने कुरा को बारेमा जिल्ला सभापतिहरूसँगको परामर्शअनुसार अगाडि बढ्ने जोशीले जानकारी दिएका छन्।