कांग्रेसले छान्यो १४ राष्ट्रियसभा सदस्य उम्मेदवार

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीबाट उम्मेदवार छानेको छ।

पार्टी केन्द्रीय समितिले दिएको जिम्मेवारीअनुसार शनिबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। बाँकी २ उम्मेदवारको नाम शनिबार साँझसम्म टुंगो लगाइ सक्ने कांग्रेसले जनाएको छ। रिक्त १८ पदमध्ये कांग्रेसले प्रदेश नम्बर २ मा समाजवादी पार्टीसँग तालमेल गर्दै दुई पद छाडेको छ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पदाधिकारी बैठकले उम्मेदवार छानेको हो। ‘बाँकी २ जना उम्मेदवारको नाम पनि टुंगो लागेपछि औपचारिक रूपमा निर्णय सार्वजनिक हुनेछ। आगामी माघ ९ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुदैछ आइतबार मनोनयन दर्ता गर्ने आयोगको कार्यतालिका रहेको छ।