बुकिट होटेललाई सरकारले गर्यो तीन तहमा वर्गीकरण

बुकिट होटेललाई सरकारले गर्यो तीन तहमा वर्गीकरण

काठमाडौं : सरकारले अब हेरिटेज तथा बुटिक होटेलहरूलाई समेत वर्गीकरण गरी प्रमाणपत्र दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटेल तथा रिसोर्टहरूसम्बन्धी ल्याएको नयाँ मापदण्डले हेरिटेज र बुटिक होटेललाई समेत वर्गीकरण गरेको हो ।

बुटिक होटेलका नाममा खुलेका होटेलहरू अब सेवा र सुविधाको हिसाबले समेत ‘लक्जरी’ हुनुपर्ने ब्यबस्था गरीएको छ । बुटिक होटेलहरू अब तीन प्रकारका हुनेछन्, साधारण, डिलक्स र लक्जरी । सेवा तथा सुविधाका दृष्टिकोणबाट साधारण बुटिकको स्तर तीनतारे, डिलक्स बुटिकको स्तर चार तारे र लक्जरी बुटिकको स्तर पाँचतारे रहने गरी वर्गीकरण गरिएको छ । तर, कोठाहरूमा भने पाँचतारेकै हाराहारी संख्या चाहिँदैन ।

कम्तीमा ३५ कोठा भएको बुटिक होटेलले समेत लक्जरी स्तरको मान्यता पाउने छ । कम्तीमा २५ कोठा भएको बुटिक होटेलले डिलक्स र कम्तीमा १५ कोठा भएको बुटिक होटेलले साधारण बुटिक होटेलको मान्यता पाउने भएको छ । समग्र होटेलको वातावरण नेपाली परम्परा र मौलिकता झल्कने गरी तयार पारेको संरचनालाई हेरिटेज हेरिटज र बुटिक होटेलका रूपमा राखिने भएको छ ।

यस्ता होटेलको बाहिरी तथा आन्तरिक स्वरूप नेपालको ऐतिहासिक, पुरातात्विक वा सांस्कृतिक मौलिकता झल्कने खालको हुनुपर्छ । वनावट पनि पृथक हुनुपर्ने प्रावधान राखिएको छ । होटेलको प्रवेशद्वार, परिसर, झ्याल तथा ढोकाहरू नेपाली मौलिकता झल्कने गरी निर्माण गरिएको हुनुपर्ने छ । होटेलमा नेपाली मौलिक संस्कृति झल्कने कला एवम् संगीतको नियमित प्रदर्शन गर्ने स्थान तथा कलाकारको समेत व्यवस्था गर्नुपर्ने प्रावधान मापदण्डमा तोकिएको छ ।