उखु किसानलाई फिर्ता जान सरकारको आग्रह

काठमाडौं : सरकारले उखुको भुक्तानी नपाएको भन्दै काठमाडौं आएका किसानलाई फर्कन आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय सभामा बोल्दै उखु किसानका समस्या समाधान हुने प्रतिबद्धता जनाउँदै फिर्ता जान आग्रह गरेका हुन् । उनले समस्या समाधान नभएकोमा किसानले बोलाएको समय र ठाउँमा उपस्थित हुने प्रतिबद्धता जनाउँदै भने, “प्रदर्शनरत किसानहरूलाई फिर्ता जान आग्रह गरिएको छ ।

पुस २५ गतेभित्र ८० प्रतिशत र माघको पहिलो साताभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्न मिलहरूलाई मन्त्रालयले निर्देशन दिइसकेको पनि उनले जानकारी दिएका छन् । माघ पहिलो साताभित्र भुक्तान नदिने चिनी मिलहरूको कारोबार रोक्का गरिने पनि बताए ।

त्यस्तै, उनले राष्ट्रियसभामा सम्पर्कमै नआएका भनिएका चिनी मिल सञ्चालकहरू सम्पर्कमा आएको जानकारी दिए । पुस १३ गते अन्नपूर्ण सुगर एन्ड जनरल इन्जिनियरिङ प्रालि र इन्दिरा सुगर एन्ड एग्रो प्रालिका सञ्चालकलाई सम्पर्कमा ल्याउन गृहमन्त्रालयलाई अनुरोध गरिएको उनले बताए । सम्पर्कमा नआएका ती मिलका सञ्चालकले ऊर्जा तथा जलस्रोत मन्त्रालयसँग विभिन्न आयोजनामा काम गरिरहेकाले मन्त्रालयबाट उनीहरूको नाममा कुनै बिल भुक्तानी गर्नुअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गर्न मंसिर १५ गते पत्र पठाइएको पनि मन्त्री भट्टले जानकारी दिए ।

अनुदान रकम सहज रूपमा किसानकोेमा पुर्‍याउन अर्थ र कृषि तथा पशुपन्छी मन्त्रालयलाई सहजीकरणका लागि आफूले अनुरोध गरेको पनि उनले बताए । मन्त्रालयका पहलका कारण महालक्ष्मी सुगरका सञ्चालकले पुस २५ गतेभित्रमा किसानको सबै बक्यौता भुक्तान गरिसक्ने लिखित प्रतिबद्धता जनाएको, अन्नपूर्ण सुगर एन्ड जनरल प्रालि र हितराज सुगर प्रालिका सञ्चालक राकेश अग्रवाल मन्त्रालयको टेलिफोन सम्पर्कमा आएको, श्रीराम सुगर मिल्सका सञ्चालकले अचल सम्पत्ति, जग्गा बेचेर भए पनि किसानको भुक्तानी दिने उनले जानकारी गराए ।