युवा नेता तथा समाजसेवी रवीन्द्र श्रेष्ठ निषेधाज्ञा अवधिभर समस्यामा परेका नेपालीहरुलाई राहत तथा स्वास्थ्य सामग्री वितरणमा व्यस्त रहे । हाल नेपाली कांग्रेसको १४ महाधिवेशनमा पनि व्यस्त रहेका नेपाली काँग्रेस टोखा ४ का सभापति समेत रहेका रवीन्द्र श्रेष्ठसँग नेपाल डेलीका संवाददाताले गरेको कुराकानीको सम्पादित अंशहरुः
रवीन्द्र जी तपाईं राजनीतिका साथै सहकारी लगायत विभिन्न संघसंस्थाहरुमा प्रमुख भूमिकामा रहने मात्रै नभएर निकै सक्रिय पनि देखिनुहुन्छ । यसको लागि समय कसरी मिलाईरहनु भएको छ ?
समय व्यवस्थापन हो। व्यवस्थापन गर्न नसक्दा कहिलेकाही अस्तव्यस्तै जस्तो पनि हुन्छ। तथापि केही व्यस्त भएपनि आफ्नो जिम्मेवारी के हो भन्ने थाहा भएपछि बैठक,कार्यक्रममा सहभागी हुनु त सामान्य नै भैहाल्यो। यस बाहेक समयमा गर्नुपर्ने कामहरु र छिमेकी टोलवासी समुदायले खोजेको पलमा उपस्थित हुन सकेको छु। विभिन्न निकाय र उपभोक्ता समितिहरुबाट भैरहेका कामहरु पनि निरिक्षण गर्न भ्याएको छु । साथै टोल समुदायको आवश्यकता र मागहरुबारे जानकारी राखी वडा र सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै आएको छु,यसैमा खुशी छु।
अघिल्लो लकडाउनमा धेरै अत्यावश्यकीय क्षेत्रमा सहयोग गर्नु भएको थाहा पाईयो। यसपटकको लकडाउनमा के कति राहत बाँड्नु भयो ?
निश्चितरूपमा अघिल्लो लकडाउनमा जनचेतना र सुचना प्रवाह गर्ने सवालमा आदरणीय जनसमुदायलाई लकडाउनको पालना गर्न सुचना र जनचेतनाको विविध माध्यमबाट अनुरोध गरेतापनि जिम्मेवार दलको प्रतिनिधि भएपछि घरबाहिर निस्कनै पर्ने हुन्छ। आफ्ना शुभचिन्तक र नागरिकले खोजिराख्ने भएकोले 'ल हामी आएका छौं है' भनेर त्यसै मुख देखाएर डुल्ने नभै राहत वितरणको लागि लगत संकलनमा वडालाई सहयोग गर्न, कोरोना रोकथाम सम्बन्धिका बैठकहरुमा रचनात्मक सहभागीता, स्थानीय क्लब–संघसंस्थाको सहकार्यमा टोल टोलमा डिस्ईन्फेक्टेन्ट छर्ने, फोन, मेसेन्जर र मास्क सहितको पत्राचार र भेटघाट मार्फत हालखबर बुझ्ने मात्रै नभएर आफ्नै पहलमा मानव विकास समाज नेपालबाट टोखा ४,६ र ८ मा उल्लेख्य राहत हस्तान्तरण,अन्य संघ र व्यक्तिगत तवरबाट पनि यसबिचमा टोखा २ मा भएको रक्तदानमा सहयोग, टोखा ३ र ८ मा संचालित खाना खुवाउने कार्यक्रमका लागि पकाउंने ग्यांस सहयोग गर्ने,टोखा ४ मै स्वास्थ्य स्वयंसेविकाहरुलाई मास्क,सेनिटाईजर,थर्मलगन र ग्लोब्स वितरण गर्नुको साथै टोलका सक्रिय सामुदायिक क्लब र संस्थालाई पनि सक्दो ग्लोब्स र विशेष सर्जिकल मास्कहरु वितरण गरियो।
यसपटकको लकडाउनमा अघिल्लो पटक जस्तो समाजिक संघ संस्था र समाजसेवीहरु सक्रिय भएको देखिएन नि ?
यसपटकको लकडाउन पनि लामै समय लगभग २ महिना भएतापनि राहतको लागि खासै खोजिनीति वा माग गरेको पाईएन। तैपनि पछिल्लो समय केहिले तत्कालै गाह्रै भाको त होईन,पाए हुन्थ्यो भन्ने आशय व्यक्त भएकोले केहिलाई राहत दिईएको छ। पहिलेको जस्तो अवस्था र समस्या अहिले होईन।जनसमुदाय सचेत हुंदाहुंदै पनि कोभिडको परिवर्तित स्वरुप र त्यसको प्रहारले पारेको सकस अलि गम्भीर भएको र अक्सिजनको कमीले मच्चिएको हाहाकारले अलि चिन्तित तुल्यायो। टोखा ४ का धेरैजसो टोलमा घरघरै यसबाट संक्रमित हुनपुग्यो।तर अधिकाँशले घरमै बसी सकारात्मक सोच र धैर्यता राखि कोरोनामाथी बिजयी हुनु भएको छ। एकाध जनाले आत्तिएर फोन गरेपनि खासै हस्पिटलाईज हुनु परेन। एक जनाले भने बेड मिलाईदिन भन्नु भयो संगठनका साथीहरूसित समन्वय गरि महेन्द्र नारायण निधि अस्पतालमा मिलाईयो। कतिपयको छिमेकी र नातापाताको सहयोगबाट निप्ट्याईएको पाईयो।बरु अब लकडाउन खुकुलो भएसंगै आम नागरिकबाट आफ्नो जनजीविकाको लागि चलमलाउने क्रममा स्वास्थ्य सुरक्षा सजगता चाहि खुकुलो नगरुन् भन्ने चाहन्छु।