डोटीमा आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनको चहल पहल सुरु

डोटी : राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि बुधबार बिधिवत् रुपमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि चुनावी चहलपहल सुरु भएको छ ।

माघ ९ गते हुने निर्वाचन प्रयोजनका लागि सुदूरपश्चिम प्रदेशको निर्वाचन अधिकृतको कार्यालय डोटीको सिलगढीमा राखिएको छ ।

निर्वाचन आयोगले उच्च अदालत रहेको जिल्लाको जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोक्ने र सोही जिल्ला सदरमुकाममा मतदानस्थल तोक्ने व्यवस्था गरे अनुरुप डोटी जिल्ला न्यायाधीश बिदुर काफ्लेलाई निर्वाचन अधिकृत तोकिएको छ ।

महिला एक र अन्य एक गरी दुई सदस्यका लागि हुने निर्वाचनमा सिलगढीको पद्म पब्लिक मुक्तिनारायण माबिलाई मतदान स्थल तोकिएको छ । उक्त स्थलमा दुई मतदान केन्द्र हुने निर्वाचन अधिकृत काफ्लेले जानकारी दिए ।

संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्षको हुने गरी पदावधि कायम हुने संबैधानिक व्यवस्था अनुरुप गोला तान्दा नेपाली कांग्रेसको तर्फबाट अन्यको कोटामा निर्वाचित बद्रीप्रसाद पाण्डे र नेकपाको तर्फबाट महिलाको कोटामा निर्वाचित कमलाकुमारी ओलीको दुई वर्षे कार्यकाल भाग परेको थियो । दुवै सदस्यहरुको पदावधी फागुन २० गते समाप्त हुँदैछ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार भोलि बिहीवार मतदाता नामावली प्रकासन हुनेछ । बिहीवारनै मतदाता नामावली उपर दावी बिरोधको काम हुनेछ ।

शुक्रवार अन्तिम नामावली प्रकासन हुनेछ । पुस २० गते उम्मेदवारी दर्ता, उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

२१ गते उम्मेदरबिरुद्ध उजुरी, २२ मा उजरीमाथि छानबिन, २३ मा उम्मेदवारको नामावली प्रकाशन, २४ मा उम्मेदवारी फिर्ता, २५ मा अन्तिम नामावली प्रकासन र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान र माघ ९ गते बिहान १० वजेदेखि ४ बजेसम्म मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ ।

निर्वाचन प्रयोजनका लागि सुरक्षा प्रबन्ध मिलाउने तयारी भइरहेको जिल्ला सुरक्षा समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

सो निर्वाचनमा आम नागरिक मतदाता नभए पनि प्रदेश मुख्यमन्त्रीलगायत भीआईपीहरु मतदाता हुने भएकाले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइने बताए ।