आतंकवादको लगानीबारे दुईपक्षबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं : नेपालमा आतंककारी गतिविधिबाट हुने आम्दानी र लगानीको अनुसन्धानको अधिकार नेपाल प्रहरीले पनि पाउने भएको छ ।

गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र शम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईबीच यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीको बुँदा नं ६ मा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा १५ को उपदफा ३ बमोजिम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल प्रहरीलाई अनुसन्धानका लागि समन्वय गरी लेखी पठाउन सक्नेछ ।’

मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले समझदारी पत्रमा हस्ताक्षर भएको बताए । समझदारी हस्तक्षर कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि उपस्थित भएका थिए । उनले समझदारीलाई नयाँ वर्षका दिन भएको राम्रो काम भन्दै भनेका छन्, ‘यसको ढृदतापूर्वक कार्यान्वयन हुने अपेक्षा लिएको हो ।’