प्रतिकूल नीति नियम बनाउन सरकार तल्लीन रहेको : सांसद खाँण

प्रतिकूल नीति नियम बनाउन सरकार तल्लीन रहेको : सांसद खाँण

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विकास तथा प्रविधि समितिले हालै पास गरेको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सच्याउन सरकारसँग माग गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार विज्ञप्ती जारी गर्दै समितिबाट अगाडि बढाइएको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, संविधानको प्रतिकूल हुने र मौलिक अधिकार हनन हुने हुँदा उक्त विधेयक सच्चाएर मात्र अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराएका हुन् । कुनै पनि बाहानामा नागरिकको स्वतन्त्रता र अधिकार कुण्ठित गर्ने र संविधानको प्रतिकूल ऐन नियम बनाउने सरकारको कदमप्रति कांग्रेसले विरोध गरेको हो ।

संविधानको प्रावधानको प्रतिकूल हुने, नागरिकका विचार एवं अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकारको कदम रोक्न पनि कांग्रेसले सबै पक्षसँग आग्रह समेत गरेको छ । संविधानले नागरिकको स्वतन्त्रता तथा मौलिक अधिकारको सुचिश्चितता गरेको भएपनि वर्तमान सरकारले नागरिकको मौलिक हक तथा संविधानका प्रावधानका प्रतिकूल नीति नियम बनाउन तल्लीन रहेको कांग्रेसले आरोप लगाएको छ ।