कर्णालीमा स्वास्थ्यकर्मी नै बिरामीका रक्तदाता

कर्णालीमा स्वास्थ्यकर्मी नै बिरामीका रक्तदाता

जुम्ला : जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले नै त्यहाँका बिरामीलाई समय–समयमा रगत दिन बाध्य भएका छन् ।एकपटक दिएको रगत ३५ दिनसम्म मात्रै मिति हुने भएकाले पनि समस्या हुने गरेको प्रयोगशाला प्रमुखले बताए।

कर्णाली प्रतिष्ठानमा रगत अभाव भएका बेलामा कर्मचारीसमेत काम लाग्ने गरेका छन् । “प्रतिष्ठानमा निकै सिकिस्त बिरामी आउने गर्दछन् । रगत नपुग्दा मान्छेको ज्यान जोगाउनुपर्छ, रगत नपाइएको समयमा त्यसै टिक्न नसकिने भएकाले पटक–पटक रगत दिने गरेका छौँ”, प्रतिष्ठानको शल्यक्रिया थिएटरमा कार्यरत स्वास्थ्यकर्मी राजबहादुर खत्रीले भने । उहाँले अहिलेसम्म छ वर्षमा २५ पटक रक्तदान गरिसकेको बताएका छन् ।

पातारासी गाउँपालिकाका–२ का रिउली बुढाको पाठेघर बाहिर बच्चा भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शल्यक्रिया भयो । शल्यक्रियापछि रगत अभाव भएकाले रगत नभेटिएपछि आफूले रगत दिएको खत्रीले बताउनुभयो । खत्रीजस्तै अस्पतालका धेरै स्वास्थ्यकर्मी र कर्मचारी रगत अभावको पीडामा छटपटाइरहेका बिरामीका लागि रक्तदाता भएका छन् ।

त्यहाँका चिकित्सकदेखि कार्यालय सहयोगीसम्मले मिल्ने रक्त समूह भएमा बिरामीको पीडालाई मध्यनजर गर्दै पटक–पटक रगत दिइरहेका छन् । प्रतिष्ठानले ब्लड बैंकसमेत सञ्चालन गरेको छ । आफ्नै ब्लड बैंक सञ्चालन गरेकाले केही सजिलो भएको प्रमुख विवेक पुन मगरले बताउनुभयो ।

आजभोलि रगत खासै अभाव नभएको तर रगत दिएपछि राम्रो हँुदैन भन्ने मानसिकताले अस्पतालका कर्मचारीले बढी नै रगत दिने गरेको प्रयोगशाला इन्चार्ज पुनले जानकारी दिए । आफूले समेत १६ पटक रगत दिइसकेको पुनले बताए। यसैगरी अस्पतालका प्राविधिक, प्रशासनिकदेखि सबै कर्मचारीले पटक–पटक रगत दिएर बिरामीको ज्यान जोगाउने काम भएको छ ।

यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले समेत प्रतिष्ठानका बिरामीका लागि ब्लड बंैक भएका छन् । कतिपय बिरामीलाई त स्थानीय प्रशासनका कर्मचारीले समेत रगत अभाव भएको समयमा रगत दिएको उदाहरण छन् । केही महिनाअघि प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले पनि रक्तदान गरेका थिए ।सामाजिक अभियान तथा जनचेतना अभिवृद्धि गरेमा ब्लड बैंकमा रगत मौज्दात हुनसक्ने उनको भनाइ छ ।