दुर्घटनाको जोखिमले विद्यार्थी त्रसित भएका छन्

दुर्घटनाको जोखिमले विद्यार्थी त्रसित भएका छन्

भीमदत्तनगर : एका बिहानैदेखि महाकाली नदीमा ढुङ्गा, गिट्टी र बालुवा लिन जाने सवारीसाधनका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै भीमदत्तनगरका विद्यालयका विद्यार्थी भने त्रसित छन् ।

विद्यालय जाने बेला अत्यधिक गतिका कारण बजार क्षेत्रमा ट्र्याक्टर, ट्रक र टिपर हुइकिँदा विद्यार्थी दुर्घटनाको जोखिम बढेको भन्दै त्रसित छन् । भीमदत्तनगरपालिका–४ स्थित राष्ट्रिय बाल विद्यालयका शिक्षिक मञ्जु शाहीले स्कुलको समयमा गाउँबस्तीबाट आउने ट्र्याक्टर कबर्डहल क्षेत्रको रुटमा अत्यधिक गतिमा चल्ने गरेकाले दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।

“यो रुटमा स्कुल, क्याम्पस आउने जाने र खेलाडी पनि हिँडडुल बढी हुने गर्छ,” उहाँले भन्नुभयो, “यो रुट नै ट्र्याक्टरका लागि चल्न दिनुहँुदैन ।” उहाँले महाकालीमा आवतजावत गर्ने सवारीसाधनकै कारण सडक पनि मर्मत गर्नुपर्ने अवस्थामा आइपुगेको बताउनुभयो । “बिहान कुहिरो लागेका बेला ट्याक्टर निकै दु्रत गतिमा चल्नछन्”, शाहीले भन्नुभयो, “कैयौँपटक यहाँ स्कुलले नानी दुर्घटनाबाट बाँचिसकेका छन् ।”

त्यसैगरी जिल्ला प्रहरी कार्यालयको सडक छेउमा चिया पसल सञ्चालन गर्दै आउनुभएकी कौशिला कडायतले ट्र्याक्टरका कारण दुर्घटना बढेको बताउनुभयो । “पहिलो जिल्ला प्रहरी कार्यालयबाट यो मोडमा प्रहरी राखेर निगरानी बढाएको थियो”, उहाँले भन्नुभयो, “अहिले सरोकारवाला निकायले पनि बेवास्ता गर्दा तीब्र गतीमा गाडी चल्छन् ।” कृषि प्रयोजनका लागि भनिएका ट्र्याक्टर ढुवानीमा प्रयोग हुँदा सम्बन्धित निकाय मौन रहेको स्थानीय बासिन्दाको गुनासो छ ।

विमानस्थल रोडमा चल्ने ट्र्याक्टर, टिपरबाट गोबरिया क्षेत्रका स्थानीय बासिन्दा पनि समस्यामा छन् । बिहानदेखि राति अबेरसम्म ढुङ्गा, गिट्टी र बालुवा लिन आवातजावत गर्ने सवारी साधनले सर्वसाधारणलाई सडकमा हिँड्न निकै जोखिम रहेको स्थानीय नरेन्द्र भट्टको भनाइ छ ।

“हिउँदमा दिउँसै अँध्यारो हुन्छ, त्यहीँमाथि ट्र्याक्टरवालाको मनोवली गाडी हाँक्नाले सडकमा हिँड्नै सकिन्न्”, उहाँले भन्नुभयो, “ट्राफिक प्रहरीको काम भनेको दुर्घटनापछि निगरानी राख्नु मात्रै हो र ?” यहाँको युनाइटेड एकेडेमी स्कुल पनि कवर्डहल छेउमै रहेको सडकमा पर्छ । त्यहाँ अध्ययनरत विद्यार्थी सवारी साधनबाट हुने दुर्घटनाको निकै जोखिममा छन् । “सकेसम्म स्कुल समयमा ट्र्याक्टर र टिपर चल्न रोक्नुपर्छ”, युनाइटेड स्कुलकी शिक्षिका धौला सिंहले भन्नुभयो, “बिहान साँझ यहाँ दुर्घटनाको उच्च जोखिम छ ।” हरेक वर्ष असोजदेखि जेठ मसान्तसम्म महाकालीमा बालुवा÷गिट्टी र ढुङ्गा सङ्कलनका लागि खुला गरिन्छ ।

यहाँको पूर्व–पश्चिम राजमार्ग, भुजेला, ऐरी क्षेत्रमा सवारी साधनको चाप बढी भए पनि सरोकारवाला निकाय चनाखो नरहेको स्थानीय बासिन्दाको भनाइ छ । त्यसैगरी यहाँको कवर्डहलमा कुस्ती खेलाडी सुरेश भट्टले बिहानको समय खेल मैदानमा पुग्न पनि सडक दुर्घटनाको जोखिम रहेको बताउँछन् ।

“बिहानको समयमा प्रभातकालीन भ्रमण गर्ने सडकमै हुन्छन्”, उहाँले भन्नुभयो, “दुर्घटना हुनुअगावै सचेतना अपनाउन जरुरी छ ।” उहाँले महाकाली नदीमा नदीजन्य वस्तु निर्यातका लागि जाने सवारी साधनको आवागमनको समयसीमा तोकिनुपर्नेमा जोड दिनुभयो । रासस