सोमबार कोहलपुर क्षेत्रका सबै निजी विद्यालय बन्द

सोमबार कोहलपुर क्षेत्रका सबै निजी विद्यालय बन्द

बाँके : बाँकेको कोहलपुर क्षेत्रमा रहेका सम्पूर्ण संस्थागत विद्यालय सोमवार बन्द भएको छ । विद्यालय जाँदै गरेकी १२ वर्षीया बालिका प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि आक्रोशित भिडले निजी विद्यालयको बसमा समेत तोडफोड गरेको विरोधमा विद्यालय बन्द गरिएको छ ।

आइतबारको घटनालाई मध्यनजर गरी सोमबार कोहलपुर क्षेत्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको क्रिशा बाँकेका अध्यक्ष शिवप्रसाद डाँगीले जानकारी दिए। क्रिशाका अध्यक्ष डाँगी, प्याब्सन कोहलपुर अध्यक्ष यम रावत र नेपाल प्याब्सन, कोहलपुर अध्यक्ष बेगप्रकाश चन्दले संयुक्त विज्ञप्ती जारी गरी सोमबार सम्पूर्ण निजी विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन्।

कोहलपुरस्थित त्रिभुवन मावि कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृतिलाई ट्रकले कुल्चेको थियो। उनको दाहिने खुट्टा छियाछिया भएको छ। घटनालगत्तै आक्रोशित भएका विद्यार्थीले कोहलपुरमा आन्दोलन गरेका थिए।