बाँदर नियन्त्रणका लागि बजेट विनियोजन

बाँदर नियन्त्रणका लागि बजेट विनियोजन

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिकाले नगरभित्रका बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छ । नगरपालिकाको सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसलाई नियन्त्रण गर्न नगरसभामार्फत नै बजेट विनियोजन गरिएको हो  । बाँदरसँगै दुम्सी तथा अन्य वन्यजन्तु र पक्षीले पनि किसानको बाली खाइदिने गरेका छन् ।

नगरपालिकाको नगरसभाले बाँदर नियन्त्रण कार्यको अध्ययन शीर्षकमा दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बाँदरले आतङ्क मच्चाएपछि बजेट छुट्याएर नियन्त्रणका लागि अध्ययन गरिने नगरपालिकाले जनाएको छ ।

बाँदरले सोही नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ८, ९ र ११ मा बढी आतङ्क मच्चाएको छ । बाँदरले अन्नबालीमा कलिलो अवस्थामै क्षति पुर्‍याउने गरेको खाँदबारी–८ का वडाध्यक्ष डम्बर कटुवालले बताए । वस्ती वरिपरि जङ्गल बढेकाले पनि बाँदर आतङ्क बढेको होे ।

बर्खाको समयमा वर्ष भरी पुग्ने मकै बाँदरले छिनभरमै तहसनहस पारिदिने साथै हिउँदको समयमा धान, सुन्तला, फलफूल, तरकारी, अलैँची र अम्लिसोका टुसा च्यातेर तहसनहस गरीदिने हुदाँ स्थानीयवासीले पटक–पटक बाँदर नियन्त्रणका लागि आग्रह गरेपछि दिगो समाधान खोज्न चालू आवमा बजेट विनियोजन गरिएको खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोमलप्रसाद धमलाले बताए  ।