बलात्कार आरोपी सिद्धबाबा आईसीयूमा

बलात्कार आरोपी सिद्धबाबा आईसीयूमा

विराटनगर : आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबालाई अस्पतालबाटै पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्मा विराट नर्सिङहोममा आइपुगे पछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी आईसीयूमा भर्ना भएका छन् ।

बिहीबारदेखि विराट नर्सिङहोममा बसिरहेका सिद्धबाबा आइतबार करिब ११ बजे आईसीयूमा भर्ना भएका हुन् । डिएसपी आएलगतै चिकित्सकले सिद्धबाबालाई आईसीयूमा सार्न भनेका थिए ।

एक्कासी उनको मुटुको चाल बढेपछि डाक्टर ज्ञानेन्द्र गिरीको सिफारिसमा आईसीयूमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ । सिद्धबाबालाई बरिष्ठ मुटु रोग विशेषज्ञ डा। ज्ञानेन्द्र गिरी नेतृत्वको चिकित्सक टोलीले आईसीयूको १० नम्बर बेडमा राखेर उपचार गरीरहेका छन् ।

गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् । सिद्धबाबा भने गत बिहीबारबाट विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए ।