पशुप्रतिको निर्दयीताविरुद्ध जुर्मुराउँदै अधिकारकर्मी

काठमाडौँ : मुलुकका विभिन्न सडक क्षेत्रमा पशु यत्रतत्र छाडिएको देखिन्छ । बुढो, अपाङ्ग, अङ्गभङ्ग भएका गाई, बाच्छा, गोरु, बिरालो, कुकुर दयनीय अवस्थामा भेटिने गरेको छ । गाडीले ठक्कर दिएका पशु विक्षिप्त अवस्थामा भेटिन्छन् । उपत्यका काठमाडौँमा पशु व्यवस्थापनमा ठूलो चुनौती छ । सरकारी तवरबाट खासै चासो पुग्न सकेको छैन । निजी प्रयासमा समुदाय सङ्गठित भएर पशुको उद्धार, व्यवस्थापन र संरक्षणका काम भइरहे पनि पर्याप्त छैन ।

पशुप्रति समाजमा सकारत्मक दृष्टिकोण कमजोर बन्दै गएको कतिपय घटनाबाट प्रष्ट हुन्छ । नेपालगञ्जका गाईगोरु दैलेख लैजाने क्रममा सुर्खेतमा मरेका घटना होस् या कुकुरले टोकेको रिसको झोकमा काठमाडौँमै कुकुर मारिएको घटना होस् । यस्ता घटनामा कुनै न कुनै रुपमा जनप्रतिनिधि नै संलग्न देखिन्छन् । पशुप्रतिको निर्दयीता बढ्दै गएको र जान्दाजान्दै पनि पशुप्रति गर्ने व्यवहार सकारात्मक नदेखिएपछि पशु अधिकरकर्मी पशुमाथि हुने क्रुर व्यवहारविरुद्ध लागेका छन् । समाजमा कानूनी सचेतना जगाउनु जरुरी रहेको निष्कर्षसहित पशु अधिकारकर्मी जुरमुराउन थालेका छन् ।

उनीहरुले केहीदिनअघि मात्रै काठमाडौँमा एउटा भेला राखेर त्यसविरुद्ध लाग्ने निर्णयसमेत गरेका छन् । कानूनको अनविज्ञताले घटना बढेको उनीहरुको भनाइ छ । पहिलो चरणमा आफू पनि ऐन–नियमका बारेमा प्रष्ट हुने र त्यसपछि अरुलाई सचेतना जगाउन लागिपरेको पशु अधिकारकर्मी तथा पशुपक्षीप्रति निर्दयता रोकावट समाजका महासचिव विना पन्त बताउनुहुन्छ । कानूनमा पशुलाई यातना दिन नपाइने स्पष्टरुपमा उल्लेख छ । यातना दिएमा कैदको व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । प्रहरीले उजुरी नै दर्ता गर्न नमान्ने अवस्था रहेको पशुअधिकारकर्मीको अनुभव छ । त्यसैले पशु यातनाविरुद्ध सङ्गठित भएर लागेको पन्तले बताउनुभयो ।

“समाजमा पशुलाई माया गर्नुपर्छ भन्ने भावना जागृत हुनै सकेको छैन्, आफैँले वर्षांै पालेको कुकुरलाई सानो विषयमा सडकमा लगेर फ्याँक्ने समाज छ, पहिले कानूनका बारेमा सचेतना जगाउन जरुरी छ, त्यसैले हामीले सचेतना अभियान थालेका छौँ,” पशुअधिकारकर्मी पन्तले भन्नुभयो । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा पशुपक्षीसम्बन्धी कसुरको व्यवस्था छ । संहिताको दफा २९० मा कसैले कुनै पशुपक्षीलाई कुटी, हिर्काइ वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाइ वा सामथ्र्यभन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकालाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपक्षी रोगी वा वृद्ध भएका कारणले सार्वजनिकरुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न नहुने उल्लेख छ ।

उक्त कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । संहिताको दफा २८९ मा त्यस्ता पशु मर्न गएमा तीन वर्षसम्म कैदको व्यवस्था छ । अङ्गभङ्ग गराएमा छ महिनासम्म कैद हुन्छ । रोगी तथा वृद्ध पशुहरुलाई सार्वजनिक स्थानमा छाड्न नहुने र यस्तो कार्य गरेमा तीन महिना कैद र पाँच हजार जरिवानाको व्यवस्था छ । पशु ढुवानी मापदण्ड २०६४ ले ढुवानी गर्दा हलचल गर्ने सक्ने गरी राख्नुपर्ने, शरिरको बनोटअनुसारको गाडीमा राख्नुपर्ने, नाके डोरी, पुच्छर, खुट्टा बाँध्न नहुने उल्लेख रहेको अन्तर्राष्ट्रिय वातावरण कानूनका जानकार अधिवक्ता पदमबहादुर श्रेष्ठ बताउनुहुन्छ ।

कानूनमा भएको व्यवस्था कार्यान्यवन हुन सकरिहेको छैन । अहिले पनि यातना दिएर ट्रकका ट्रक पशु ढुवानी भइरहेको छ । पशु अधिकारकै विषयमा सर्वाेच्च अदालतले नजिरसमेत स्थापित गरेको छ । कार्यान्वयन हुन नसक्नु चिन्ताको कुरा भएको अधिवक्ता श्रेष्ठ बताउनुहुन्छ । अर्का अधिवक्ता निर्मल शर्मा कानूनमा व्यवस्था भएका कुरालाई समाजमा चेतना जगाउनु जरुरी रहेको बताउनुहुन्छ । उहाँले बन्दै गरेको पशु कल्याण ऐनले भने धेरै कुरा समेटेको बताउनुभयो । मानिस सर्वोत्कृष्ट प्राणी हो । के गर्न हुन्छ र के गर्न हुँदैन, उसलाई राम्रो ज्ञान हुन्छ । मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी मानिसले अन्य प्राणीको रक्षा गर्नुपर्नेमा जोड दिनुपर्छ भन्नुहुन्छ ।

पृथ्वीमा पशुको पनि मानवको जत्तिकै स्थान रहेको उल्लेख गर्दै संस्कृतिविद् डा गोविन्द टण्डन भन्नुहुन्छ, “मनोरञ्जनका नाममा पशुलाई जुधाउने तथा मारकाट गर्ने काम बन्द गर्नुपर्छ ।” गाई, गोरु, साना बाच्छा, घरमा भुक्न छाड्ने कुकुर सडकम छाड्ने क्रम बढेको छ । सडकमा भएका जनावरलाई कुटेर र तातोपानी खन्याएर अङ्गभङ्ग बनाइएको छ । यसप्रति सचेतनाको खाँचो रहेको अधिवक्ता श्रेष्ठले बताउनुहुन्छ ।