गुल्मी : गुल्मीका स्थानीय तहले सुरक्षाका लागि आफ्नै मातहतमा रहने गरी नगरप्रहरी भर्ना गर्न थालेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये दुई स्थानीय तहले प्रहरी भर्ना गरिसकेका छन् भने केही स्थानीय तह भर्ना गर्ने प्रक्रियामा छन् । जिल्लाको धुर्कोट गाउँपालिकाले गत चैत १ गतेबाट दुई महिला र तीन पुरुष गरी पाँच नगरप्रहरी नियुक्त गरेको थियो ।
तीमध्ये एक जनालाई प्रहरी सहायक निरीक्षकको दर्जा दिइएको छ । प्रहरी सहायक निरीक्षकका लागि रु १५ हजार र जवानका लागि रु १२ हजार पारिश्रमिक निर्धारण गरिएको छ । साथै मासिक तीन हजार रासनभत्ता पनि उपलब्ध गराइने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो । “स्थानीय तहमा कामको गुणस्तर र सेवा प्रवाहलाई निकै चासोका साथ हेर्ने गरिन्छ ।” उहाँले भन्नुभयो, “सहजरूपमा सेवा प्रदान गर्न नगरप्रहरी नियुक्त गरेका छौँ ।”
प्रहरी भएपछि गाउँपालिकाको प्रशासनिक कामदेखि अन्य काममा सहयोग पुगेको र केहीले रोजगारीसमेत पाएको प्रतिक्रिया पोखरेलले दिनुभयो । रेसुङ्गा नगरपालिकाले सात नगरप्रहरी नियुक्त गरेको छ । तीमध्ये एक हवल्दार र बाँकी छ जवान छन् । नियुक्त गरिएकामध्ये दुई महिला र पाँच पुरुष छन् । सदरमुकाममा ट्राफिक व्यवस्थापन, वातावरण सरसफाइ, कार्यालय सुरक्षा, बजार अनुगमनलगायत नगरप्रहरीका मुख्य काम हुन् ।
यीबाहेक हाटबजार, कार्यालयमा सहयोगीको भूमिका खेल्ने तथा आवश्यक परेको खण्डमा जुनसुकै बेला नगरप्रहरी परिचालित हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जनाकारी दिनुभयो । नगरपालिकाले प्रहरी हवल्दारका लागि मासिक रु १५ हजार र जवानका लागि मासिक रु १३ हजार पारिश्रमिक निर्धारण गरेको छ । त्यसबाहेक वार्षिक दुई जोर कपडा र रासनभत्तास्वरुप मासिक रु तीन हजार उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।
अहिले मुसिकोट नगरपालिका र इस्मा गाउँपालिका पनि नगरप्रहरी भर्नाको प्रक्रियामा गएका छन् । इस्मा गाउँपालिकाले यही फागुन २९ गतेसम्म दरखास्त दिन सकिने गरी सूचना प्रकाशित गरेको छ । पाँच जनाको लागि खुलाइएको विज्ञापनमा एक हवल्दार र चार जवान रहनेछन् । हवल्दार महिला वा पुरुष जुनसुकै हुनसक्ने र जवानमध्ये महिला÷पुरुष दुई–दुई जना नियुक्त गरिने गाउँपालिका उपाध्यक्ष विमला खत्रीले जानकारी दिनुभयो । कार्यालयमा काम बढी हुने जनशक्ति कम हुने भएकाले नगरप्रहरी नियुक्त गर्न लागिएको खत्रीले बताउनुभयो ।