तनहुँ : तनहुँको दमौलीमा आयोजित प्रथम लोक सांस्कृतिक महोत्सवमा १५ जातिका संस्कृति प्रदर्शन गरिएको छ । नगर क्षेत्रभित्र रहेका विभिन्न जातजातिका कलासंस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको आयोजनामा बुधबार र बिहीबार सञ्चालित महोत्सवमा १५ जातिका मौलिक संस्कृति प्रदर्शन गरिएको हो ।
सांस्कृतिक महोत्सवमा नेवार जातिका लाखे र टाकटुके, मगर जातिका झ्याउरे र कौरा, क्षेत्री जातिको रोइला, परियारका पञ्चेबाजा र नौमती, गुरुङ जातिको छ्याटु, ब्राम्हण जातिका भजन र बालन, गन्धर्व जातिको तरवार, भुजेल जातिका झ्याउरे र चुड्का, दरै जातिका घाँटु र फूलपाती, चेपाङ जातिको झाँक्री, बोटे जातिको फूलपाती, क्षेत्री जातिको रत्यौली, तामाङ जातिको सेलो र रानाभाट जातिको रत्यौली नाच प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।
सांस्कृतिक महोत्सवको पहिलो दिन बुधबार नेवा तजिलजि पुच, गलम्बास आमा समूह, क्षेत्री समाज, परियार समाज, तमु बौद्ध सेवा समाज, ब्राम्हण समाज, गन्धर्व समाज, भुजेल समाज व्यास नगर र दरै समाजले आफ्नो संस्कृति प्रदर्शन गरेका थिए भने दोस्रो दिन आज छङ्गेली नेवा गुठी, चेपाङ समाज, गन्धर्व समाज, बोटे समाज, तामाङ समाजलगायतले प्रस्तुति दिएका थिए ।
विभिन्न जातजातिको लोकसंस्कृतिको पहिचान र जातीय एकता कायम गराउने उद्देश्यले आयोजित सांस्कृतिक महोत्सव सफल भएको प्रतिष्ठानका अध्यक्ष सीतामाया गुरुङले बताउनुभयो । “सांस्कृतिक महोत्सवले परम्परागत लोकसंस्कृतिको उजागर हुनुका साथै नयाँ पुस्तालाई संस्कृतिको अनुसरण गर्न टेवा मिलेको अनुभूति भएको छ,” उहाँले भन्नुभयो । नगरक्षेत्रभित्र विभिन्न २५ जातजातिको बसोबास छ । महोत्सवमा १५ समुदायका २६ नृत्य सहभागी थिए ।
“अहिलेका कतिपय पुस्तालाई आफ्नै जातजातिको कला, संस्कृतिबारे जानकारी छैन”, महोत्सवका प्रवक्ता एवं प्रतिष्ठानका संरक्षक मेघनाथ रिमालले भन्नुभयो, “यस कार्यक्रमले नयाँ पुस्ताले संस्कृति बुझ्ने अवसर प्राप्त गरेका छन् ।” लोक सांस्कृतिक महोत्सवमा सहभागी हुन आउनुभएका व्यास नगरपालिका–११ का रामबहादुर चेपाङले आफ्नो जातिको संस्कृति प्रस्तुत गर्दै अन्य जातिको मौलिक संस्कृतिबारे बुझ्ने अवसर प्राप्त भएको बताउनुभयो ।
“विभिन्न जातजातिको कला संस्कृतिबारे एउटै थलोबाट जानकारी लिने र हाम्रो जातिको संस्कृति प्रदर्शन गर्ने अवसर मिल्यो,” उहाँले भन्नुभयो । महोत्सवको समापन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सबै जातजातिबीच एकता आवश्यक रहेकोमा जोड दिँदै यस कार्यक्रमले मौलिक कला र संस्कृतिको जगेर्ना गर्न सहयोग पुगेको बताउनुभयो । विसं २०६८ को जनगणनाअनुसार व्यास नगरपालिकाको जनसङ्ख्या ७० हजार ३३५ रहेको छ । जसमध्ये सबैभन्दा बढी मगर जातिका समुदायका व्यास नगरपालिकामा बसोबास गर्दछन् ।
नगरपालिकाभित्र मगर जातिको समुदाय पहिलो रहेको छ । १३ हजार ७१५ जनसङ्ख्या मगर रहेको नगरपालिकामा यो कुल जनसङ्ख्याको १९।४९ प्रतिशत हो । मगरपछि दोस्रो जातिको रुपमा ब्राम्हण जाति रहेको छ । नगरपालिकाभित्र ब्राम्हण जातिको जनसङ्ख्या १५।१५ प्रतिशत अर्थात् १० हजार ६५६ रहेको छ । त्यस्तै क्षेत्रीको जनसङ्ख्या १३ प्रतिशत अर्थात् नौ हजार ६२२, गुरुङ जातिको जनसङ्ख्या ८।७९ प्रतिशत अर्थात् छ हजार १८९ रहेको छ । त्यस्तै नेवार ६ हजार १०५, कामी पाँच हजार ३६०, सार्की तीन हजार १२३, दरै तीन हजार १०९, दमै दुई हजार ५३९, मुस्लिम एक हजार ६५९, घर्ती भुजेल एक हजार ६६१, ठकुरी एक हजार २६६, कुमाल एक हजार २५२, बोटे ७३९, सन्यासी ६७५, दुरा ६५४ र अन्य दुई हजार ११ रहेको व्यास नगरपालिकाले जनाएको छ ।